 
                             
                                            काठमाडौँ- बलिउड अभिनेता शाहरुख खान दुर्घटनामा परेका छन्। अमेरिका, लस एन्जलसमा फिल्म छायांकनका क्रममा उनी दुर्घटनामा परेका हुन्।
भारतीय पत्रिका ‘टाइम्स अफ इन्डिया’का अनुसार उनी सामान्य घाइते भएका छन्। उनको नाकमा चोट लागेको छ। प्रकाशित समाचारमा लेखिएको छ, ‘लस एन्जलसमा एउटा प्रोजेक्टको लागि सुटिङ गरिरहेका शाहरुख दुर्घटनामा परे। उनको नाकमा चोट लाग्यो। रगत बग्न थाल्यो। उनलाई तुरुन्तै अस्पताल लगियो। रक्तस्राव रोक्न सानो शल्यक्रिया गरियो। त्यसपछि उनलाई नाकमा पट्टी लगाएको देखियो।’ चोट सामान्य भएकाले अवस्था चिन्ताजनक नभएको समाचारमा उल्लेख छ।
यद्यपि, अभिनेता र उनको टोलीले दुर्घटनाबारे कुनै बयान जारी गरेको छैन। शाहरुख स्वदेश फर्किएका छन्। मुम्बईस्थित आफ्नो घर ‘मन्नत’मा आराम गरिरहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
शाहरुखको बहुप्रतिक्षित फिल्म ‘जवान’ यसै महिना रिलिज हुने थियो। तर, फिल्मको प्रदर्शन मिति सरेको छ। फिल्म अब सेप्टेम्बर ७ मा प्रदर्शनमा आउनेछ। फिल्ममा विजय सेतुपति, नयनतारालगायत कलाकारको पनि अभिनय छ।
यसबाहेक शाहरुख राजकुमार हिरानीको ‘डंकी’मा पनि देखिने छन्। जसमा तापसी पन्नु, विक्की कौशललगायत कलाकार छन्। यसअघि उनी ब्लकबस्टर फिल्म ‘पठान’मा देखिएका थिए। फिल्ममा उनीसँगै दीपिका पादुकोण र जोन अब्राहम मुख्य भूमिकामा थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 