दाङमा ५ वर्षमा २ सय २८ जनाको डुबेर मृत्यु

लापरबाहीका कारण घटना : प्रहरी

हिमाल प्रेस १० साउन २०८० १३:१४ | Wednesday, July 26, 2023
दाङमा ५ वर्षमा २ सय २८ जनाको डुबेर मृत्यु प्रतीकात्मक तस्बिर।

दाङ– दाङमा पछिल्लो ५ वर्षमा डुबेर ज्यान गुमाउनेको संख्या बढ्दो रहेको छ। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्यांकानुसार जिल्लामा डुबेर मृत्यु हुनेको संख्या २ सय २८ रहेको छ। यसमा १ सय ७४ पुरुष र ५४ महिला छन्।

डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाअन्तर्गत छन्। तथ्यांकानुसार पछिल्लो ५ वर्षमा घोराहीका ७१, तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२, गढवाका १६ जनाको मृत्यु भएको छ।

यसैगरी बबईका ९, दंगीशरणका आठ, शान्तिनगर र राजपुरका समान ५-५, बंगलाचुलीका ३ तथा जिल्ला बाहिरका १६ व्यक्तिको डुबेर मृत्यु भएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार जिल्लामा आव ०७९/८० मा ४५ जनाको जिल्लाका विभिन्न स्थानमा डुबेर मृत्यु भएको छ। आव ०७८/७९ मा ६३ जना, आव ०७७/७८ मा ५५, आव ०७६/७७ मा ३७ र आव ०७५/७६ मा २९ जनाको डुबेर मृत्यु भएको तथ्यांक छ।

डुबेर ज्यान गुमाउनेमा २० वर्षमुनिका ८५ जना रहेका छन्। प्रमुख जिल्ला अधिकारी वैद्यले १३ महिनाकी शिशुदेखि ८० वर्षमा वृद्धसम्मका रहेका जनाए।

घोराही-९ की १३ महिनाकी शिशुको ०७८ फागुन २२ गते घर अगाडि राखेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको थियो भने बंगलाचुली गाउँपालिका वडा ७ का ८० वर्षीय दयाराम बुढामगरको २०७९ असोज २१ गते खोला तर्ने क्रममा चिप्लेर मृत्यु भएको हो।

डुबेर मृत्यु भएकामध्ये लापरबाहीका कारण अधिकांश घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पानीसँगको खेलवाड गर्दा कतिपय घटना बगाएर, कतिपय घटना पौडिन नजान्दा तथा कतिपय घटना भवितव्यका कारण भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीर वलीले जनाए।

‘केही घटना पानीमा हामफालेर आत्महत्या गरेका पनि छन् तर अधिकांश डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापरवाहीका कारण भएको देखिएको छ,’ उनले भने, ‘पानी र आगोसँग कहिले खेलवाड गर्नु हुँदैन भन्ने जान्दाजान्दै केही हुँदैन भनेर आफैंले ज्यान गुमाएको अवस्था छ।’

जिल्लाको भौगोलिक अवस्था तथा वर्षाका समयमा सावधानी नअपनाउँदा पनि बगाएर वा डुबेर मृत्यु भएका जिल्ला प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए।

साथीभाइसँग लहैलहैमा लागेर खोला नदीमा गएर नुहाउन खोज्दा धेरैजसो युवाले पौडिन नजानेरै ज्यान गुमाएका छन्।

‘डुबेर अकालमा ज्यान गुमाउने युवाको संख्या जिल्लामा धेरै छ। युवा जोश देखाउँदै लापरवाहीले नै अन्तिममा ज्यान फाल्न बाध्य भएका घटना छन्,’ उनले भने। खोलानाला तर्दा होस् या पानीको काम गर्दा निकै सावधानी अपनाउनुपर्ने प्रहरीको भनाइ छ।

प्रकाशित: १० साउन २०८० १३:१४ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast