तनहुँको भाचोक खोलामा स्थानीयले बनाए काठे पुल

हिमाल प्रेस १३ साउन २०८० १४:१६ | Saturday, July 29, 2023
तनहुँको भाचोक खोलामा स्थानीयले बनाए काठे पुल बेंशीसहर-चामे सडकअन्तर्गत चामे गाउँपालिका- २ स्यार्कु खोलामा निर्माण गरिएको काठेपुल। फाइल तस्बिर- रासस

तनहुँ– स्थानीयले १ महिना लगाएर अस्थायी मोटरेवल काठे पुल निर्माण गरेका छन्। बेँसीसहर नगरपालिका-१० भाचोक खोलामा स्थानीयले श्रमदान गरी काठेपुल निर्माण गरेका हुन्।

५ सयभन्दा बढी युवाको श्रमदानबाट १ महिनामा उक्त पुल निर्माण सम्पन्न गरिएको स्थानीय दुध घलेले बताए। उनका अनुसार बेँसीसहर खासुर सडकखण्डअन्तर्गत भाचोक खोलामा निर्मित उक्त पुलमा आज बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका छन्।

गत असार ३ मा आएको बाढीले यसअघि राखिएको काठेपुल बगाएपछि सवारीसाधन आवतजावत बन्द रहँदै आएको थियो। उक्त पुलबाट बोलेरो जीप, एम्बुलेन्स तथा मिनिबस आवातजावत गर्न सक्ने घलेको भनाइ छ।

बाढीले पुल बगाएपछि जोखिम मोलेर खोलाबाट हिँड्ने गरिएको भन्दै अहिले काठेपुल निर्माण भएर सञ्चालनमा आएसँगै आवागमन सहज भएको उनले बताए।

पुल सञ्चालन भएसँगै खासुर, देउजन थोक, साँधु, पांग्रेक्यु, खाँचे र बेँसी भाचोकका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन्। सिमेन्ट तथा बालुवा नगरपालिकाले उपलब्ध गराएको भन्दै पुलका लागि चाहिने काठ वन कार्यालयसँग समन्वय गरी गाउँकै सामुदायिक वनले उपलब्ध गराएको वडाध्यक्ष गंगा थापाले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा जिल्लाका सुरक्षाकर्मी तथा स्थानीयले श्रमदान गरेका उनले बताए। उनका अनुसार डुम्रे-बेंसीसहर-चामे सडक योजना कार्यालयले एक्साभेटर उपलब्ध गराएको थियो।

वडाध्यक्ष थापाले भाचोक खेला डुम्रे-बेँसीसहर-चामे सडकको वैकल्पिक मार्गसमेत रहेको बताए। उनका अनुसार बेँसीसहर नगरपालिका वडा ६ खरखरे भिरमा पहिरो जाँदा बेँसीसहर, बाँझोखेत, लेतेफाट, भाचोकबेँसी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत्को पावर हाउस हुँदै सुरुङ मार्गमा यो सडक जोडिन्छ।

प्रकाशित: १३ साउन २०८० १४:१६ | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast