जनताले चाहे राजतन्त्र फर्किन सक्छ : राजेन्द्र लिङ्देन

हिमाल प्रेस १ साउन २०८० १७:२४ | Monday, July 17, 2023
जनताले चाहे राजतन्त्र फर्किन सक्छ : राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको दाबी गरेका छन्।

नेपाल सनातन धर्म संस्कृति संगठनद्वारा आयोजित सनातन हिन्दू राष्ट्रका लागि पदयात्रा कार्यक्रममा सहभागी भएका लिङदेनले हिन्दू राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरूले उठाएको मुद्दा भएकाले उनीहरूलाई बुझाउनका लागि पदयात्रा गरेको बताए।

‘हिन्दू राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय होइन। राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने कुरा हो, धेरै जनता हाम्रो मुद्दामा सहमत हुनुहुन्छ, पुनः स्थापना हुन सम्भव छ,’ लिङ्देनले भने।

राप्रपाले सनातन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दू राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने लिङ्देनको भनाइ छ।

शान्तिपूर्ण बाटोबाट आफूहरूले नेपालमा हिन्दू राष्ट्र पुनर्स्थापना चाहेको लिङ्देनले बताए। विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दू राष्ट्र हटाइए पनि अब सच्चिन राजनीतिक दलहरूलाई उनको आग्रह थियो।

‘शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दू राष्ट्र पुनर्स्थापना चाहन्छौँ। हामीले अन्य राजनीतिक दलसँग पनि कुरा गरिरहेका छौँ,’ लिङ्देनले भने, ‘विगतमा भावावेशमा आएर अथवा विदेशीको दबाब र प्रभावमा परेर गरेको निर्णय गलत छ, गलत बाटोले देशलाई कुनै निष्कर्षमा लैजान सक्दैनौँ। जुनसुकै बाटोबाट भए पनि हिन्दू राष्ट्र कायम हुनुपर्छ भनिरहेका छौँ।’

राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने भएकाले जनताले राप्रपाको मुद्दामा समर्थन गरिरहेको लिङ्देनको दाबी छ। राप्रपाले मैतीदेवीदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो।

प्रकाशित: १ साउन २०८० १७:२४ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast