काठमाडौँ– नेपाल र चीनबीच कृषिसँग सम्बन्धित प्रविधि विकास तथा सीपको आदान-प्रदान गर्ने समझदारी भएको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र चीनको सिचुवान एकेडमी अफ एग्रिकल्चर साइन्स (सास)का बीचमा बिहीबार सहमति भएको हो।
नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराई र सासका उपाध्यक्ष डा. लेओ योङहङबीच प्रविधि विकास र सीप आदान-प्रदान गर्न समझदारी भएको हो।
दुई देशका कृषक एवम् कृषिको विकासका लागि विकास गरिएका प्रविधि प्रदर्शन, हस्तानान्तरण तथा प्रवर्द्धन गरिने छ।
यही सम्बन्धमा खुमलटारस्थित नार्कको केन्द्रीय कार्यायलमा नार्क र सासको उच्चस्तरीय प्रतिनिधिमण्डलका बीचमा भेटघाट एवम् छलफल भएको नार्कका कार्यकारी निर्देशक डा. भट्टराईले बताए।
‘एकअर्काको अनुसन्धानबारे बुझ्दै कृषि क्षेत्रको विकासमा छलफल गरेर गुणस्तरीय उत्पादन बढाउँदै जाने विषयमा समझदारी भएको छ,’ उनले भने।
सोही क्रममा सासका उपाध्यक्ष डा. लेओले नेपाली अनुसन्धानकर्ता र प्राविधिकलाई उच्चस्तरीय कृषि प्रविधि सम्बन्धि तालिम प्रदान गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाली अनुसन्धानकर्तालाई चाँडै नै चीन लगेर मकै र सखरखण्डको उत्पादनका साथै प्रविधिबारे तालिम दिइने उनले बताए। सासका उपाध्यक्ष डा. लेओको नेतृत्वमा टोली ३ दिने नेपाल भ्रमणमा आएको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

