 
                             
                                            काठमाडौँ– नेपाली सांगीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ। ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा मंगलबार उनको निधन भएको उनकी दिदी भगवती तामाङले जानकारी दिइन्।
प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार मंगलबार साँझ गायक तामाङले मोबाइल फोन नउठाएको भन्दै प्रहरीलाई फोन आएको थियो। तामाङको घरमा प्रहरी टोली पुग्दा उनी खाटको छेउमा मृत भेटिएका चन्दले बताए।
शव परीक्षणपश्चात मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ। रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट रहेका गायक तामाङ चलचित्र अभिनयमा पनि सक्रिय थिए।
पछिल्लो समय चलचित्र ‘छड्के-२’ मा अभिनय गरेका गायक तामाङले नेपाली रक शैली गीतको विकासमा उल्लेख्य योगदान गरेका छन्। उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।
गायक तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो-चिसो हावामा’, ‘माइला भाइ’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुल मा भुल्यो’लगायत गीत चर्चित छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 