कोलकतामा नेपालीले मनाए भानु जयन्ती

हिमाल प्रेस ७ साउन २०८० ८:३५ | Sunday, July 23, 2023
कोलकतामा नेपालीले मनाए भानु जयन्ती

काठमाडौँ– भारतको कोलकातामा आदिकवि भानुभक्त आचार्यको दुई सय १०औँ जन्मजयन्तीका अवसरमा यहाँका नेपालीभाषीले शनिबार विशेष कार्यक्रम आयोजना गरेका छन्।

नेपाली जनकल्याण समितिको आयोजनामा पश्चिम बंगालको हावडास्थित सरत सदनमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि र पश्चिम बंगाल सरकारका सहकारीमन्त्री अरूप राय विशेष अतिथिका रूपमा उपस्थित थिए।

कुलपति राईले आफूले सानो हुँदा कथाका रूपमा सुनेको कोलकातामा भानुभक्तको यस प्रकारको महत्त्व र गतिविधि देखेर खुसी लागेको बताए।

प्रज्ञा प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रममा सहकार्य विस्तार गरी नेपाली रहेका स्थानमा नेपालको साहित्यप्रतिको रुचिबारे समाजशास्त्रीय अध्ययनमा ध्यान दिने उनले उल्लेख गरे।

प्रदेशमन्त्री रायले भानुभक्तका नाममा हावडामा सडकमार्ग नामकरणको निर्णय भइसकेको र भानुभक्तको प्रतिमा निर्माणका लागि पनि सघाउन तयार रहेको जानकारी दिए।

भानुभक्तको तस्बिरमा श्रद्धाञ्जलि दिएर सुरु भएको कार्यक्रममा प्राज्ञ परिषद् सदस्य डा. मधुसुदन गिरी नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कर्ण तिमल्सिना, जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बराल, प्राध्यापक डा. सत्यप्रकाश तिवारी, प्रवासी नेपाली संघ भारतका अध्यक्ष नारायण होमागाईंलगायतले आदिकविको व्यक्तित्व र कृतित्व देश-विदेशमा रहेका नेपालीमाझ फैलिएको र आदिकविका कारण नेपालीबीच साहित्यिक एकताको मार्ग बनेको उल्लेख गरे।

सो अवसरमा साहित्यका योगदानका लागि कुलपति राईलाई समितिले अभिनन्दन गरेको थियो भने समितिको प्रकाशन ‘बिहानी’को २४औँ अंकको विमोचन गरिएको थियो।

कविहरू धर्मराज बराल, मोहनकुमार सिंह, सञ्जीव गुरुङ, राम कार्कीलगायतले भानुभक्तको रामायणसहित आफ्ना रचना वाचन गरे।

पछिल्लो समयमा बरालले नेपाली र कोलकाताका साहित्यकारबीच सेतुको कार्य गर्दै आएका छन्।

समितिका सभापति बद्रीविक्रम थापाले लामो समयदेखि यहाँ विभिन्न सेवा र व्यवसाय गर्दै आएका नेपालीभाषीहरूको सहयोग र समन्वय भानुभक्त जयन्ती र अन्य मानवीय सहयोगका कार्यक्रम हुँदै आएको जानकारी दिए।

राष्ट्रिय विभूति भानुभक्तको जन्मदिन हरेक असार २९ गते परे पनि साताव्यापी जयन्ती मनाइन्छ।

शनिबार रातिसम्म चलेको कार्यक्रममा युवा र विद्यार्थीहरूले नेपाली र हिन्दी गीतमा मनमोहक सांस्कृतिक नृत्य र प्रस्तुति गरेका थिए।

प्रकाशित: ७ साउन २०८० ८:३५ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast