फाइल तस्बिर।
कैलाली– बर्खा लागेपछि कैलालीको भजनीका नागरिकलाई बाढीको त्रासले सताउने गरेको छ। भजनीमा हरेक वर्ष बर्खामा आउने बाढीले हजारौं नागरिक विस्थापित हुनुका साथै धनजनको क्षति हुन्छ।
बाढीले भजनीका प्रायः सबै वडा प्रभावित हुन्छन्। बाढीले बढी जोखिममा वडा ३ र ८ रहेका छन्। पछिल्ला दुई वर्ष यी दुई वडामा धेरै क्षति भएको छ।
भजनीकी सुनितादेवी राजी बर्खा लागेपछि राम्ररी सुत्न सकेकी छैनन्। सामान्य वर्षा हुँदा पनि बाढी आउँछ कि भन्ने पिरले उनलाई सताउँछ। पानी पर्न थालेपछि सुनिताले अत्यावश्यक सामानको पोको पार्न थाल्छिन्।
उनीहरू गत वर्ष बाढी आउँदा १ वर्षको बच्चासहित विस्थापित भएका थिए।
केही दिन स्नेह आश्रयस्थलमा बच्चासहित बसेकी सुनिताको घरखेत सबै बगेपछि साह्रै कठिन भएको थियो। यस वर्ष पनि सुनिता बाढीको त्रासमा छिन्।
‘पोहोर आएको बाढीले घरखेत बगाउँदा सानो बच्चा बोकेर भागेको बिर्सेकी छैन,’ उनले भनिन्, ‘घर छोडेर १ साता आश्रयस्थलमा बसेका थियौं। अहिले बच्चा दुई वर्षको भयो। यस वर्ष पनि ठूलो वर्षा भएमा घर जोगिन सक्ने अवस्था छैन।’
सुनिताको घरमा बाढी आउने त्रासले अत्यावश्यक सामान पोको पारेर राखिएका छन्। धेरै वर्षा भएमा सुरक्षित स्थानमा जानुपर्छ भनी उनीहरू पूर्वतयारीमा बस्ने गरेका छन्।
‘गत वर्ष घरका केही सरसामान पनि रहेनन्, हरेक वर्ष जोडेको सामान त्यही पानीमा मिसिन्छ,’ उनले गुनासो गरिन्, ‘अन्त जाने ठाउँ पनि छैन, बाढीले हरेक वर्ष सबै बगाएर सक्छ।’
वडा ८ का खेमराज जैसीले पनि बाढीले अघिल्ला वर्ष आँखैअगाडि मानिस बगाएको बिर्सिएका छैनन्।
बादल गड्गडाउन थालेपछि खेमराजको मन पनि बिचलित हुन्छ।
खेमराज र उनका छिमेकी ठूलो वर्षा भएपछि भाग्नुपर्छ भनी पूर्वतयारीमा बस्ने गरेका छन्।
‘जब बादल लाग्छ, आकास गड्गडाउन थाल्छ, मन निकै बिचलित हुन्छ,’ उनले भने, ‘वर्षा नभए खेतीपाति राम्रो हुन्न तर हामीलाई थाहा छ तर बाढीको त्रासले पानी नै नपरोस् भन्ने लाग्छ।’
भजनीकी पुष्पा राजी पनि गत वर्ष बाढी आउँदा गर्भवती थिइन्।
बाढीले पुष्पाको पनि घरखेत बाढीले बगाएको थियो। बाढीपछि ५ दिन स्नेह आश्रयस्थलमा गएर बसेका थिए। उनलाई अहिले पनि लाई बाढी आउँछकी भन्ने त्रासले सताइरहन्छ।
‘गर्भवती थिएँ, हिँडडुल गर्नै गाह्रो भइरहेका बेला बाढीले घर बगायो, घर छोडेर आश्रयस्थलमा बस्नुपर्यो,’ पुष्पाले भनिन्, ‘आश्रयस्थलमा त खान, बस्न समस्या भएन, घर फर्केपछि बगेको घर पुनःनिर्माण, खाद्यान्न अभावजस्ता कुराले सतायो।’
पुष्पाको बच्चा अहिले ८ महिनाको छ। पुष्पालाई बाढीको डर रातिको समयमा बढी लाग्छ।
‘सुतेको बेला बाढी आएर थाहै नपाइ बगिन्छ कि भन्ने डर लाग्छ,’ उनले भनिन्, ‘दिउँसो भए त भाग्न सकिन्छ, राति बच्चासहित भाग्न पनि कठिन हुन्छ।’
भजनीमा वडा ८ को कृष्णनगर, काढाढिक, सोनाफाटा, जनकपुर, खैरागोड्चौरा, छच्छरहवा, बहादुरपुर, दैलेखीटोल, भर्खान टोल, कालिका टोल बाढीको जोखिममा रहेका टोल हुन्।
यस्तै वडा ३ को बर्दवाफाटा, नयाँबस्ती, ढुसी, पकरिया डाडा, जवलपुर, कन्हैयापुर, कसुमघाट, वडा ५ को कौवाखेडा, दुदुवाफाटा, पगियापसार, कर्मदेव, लालबोझी, ७ को चर्रा, हिम्मतपुर, २ को पल्टुपुर, मोहनपुर र कटानपुर, वडा ४ र ९ को कुडीमा समेत बाढीले क्षति पुगाउने गरेको छ।
भजनीमा पथरैया, मोहना, काढा र कन्द्रा नदीले क्षति पुगाउने गरेको छ। मेयर केवल चौधरी पूर्वतयारीका कार्य भइरहेका, विपद् व्यवस्थापन समितिसँग छलफल भइरहेको बताउँछन्।
‘संघ संस्थाको सहयोगमा पालिकाले पलियापुरमा १६ परिवारका उच्च घर निर्माण गरिदिएको छ,’ मेयर चौधरी भन्नुहुन्छ, ‘हरेक वर्ष बाढी आउँछ। सोह्र परिवारलाई ढुक्क भयो। अन्य ठाउँमा बाढी आएपछि भाग्नैपर्छ।’
भजनीमा बाढीले विस्थापित हुने सयौं परिवारले हुलाकी सडकको आश्रय लिनुपर्ने बाध्यता छ। बाढी आउँदा केही परिवार उच्च घर, केही विद्यालयमा आश्रय लिन्छन् भने अधिकांशले हुलाकी राजमार्गलाई आश्रयस्थल बनाउँछन्।्
पालिकाले बाढीबाट बच्न पूर्वतयारी, पूर्वकार्यका कार्य समुदायमा सिकाएको छ। पालिकाले नदी नियन्त्रणको काम गर्न नसक्ने भएकाले पूर्वतयारी, खोज तथा उद्धार, बाढीपछि राहत वितरणजस्ता कार्य गर्दै आएको छ।
भजनीमा गत वर्ष आएको बाढीले ७ हजार ९६ परिवार विस्थापित भएका थिए। उनीहरू करिब १ महिनापछि घर फर्किएका थिए।


