कांग्रेस बैठक अब्दुल सतारले भने : महामन्त्रीको एजेन्डामा जनतामाझ कांग्रेस के लिएर जाने भन्ने स्पष्ट भएन

हिमाल प्रेस ४ साउन २०८० १५:३२ | Thursday, July 20, 2023
कांग्रेस बैठक अब्दुल सतारले भने : महामन्त्रीको एजेन्डामा जनतामाझ कांग्रेस के लिएर जाने भन्ने स्पष्ट भएन

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री गगनकुमार थापाले पेस गरेको प्रतिवेदनमाथि टिप्पणी गरेका छन्। महामन्त्री थापाले मंगलबार पार्टीको वार्षिक क्यालेन्डरसहितको प्रतिवेदन पेस गरेका थिए।

बिहीबारको बैठकमा बोल्दै अब्दुल सतारले भने, ‘जनतामाझ के एजेन्डा लिएर जाने महामन्त्रीको प्रतिवेदनमा कहिँ कतै उल्लेख छैन। हामी ठूलो दल भन्न त भनेका छौँ तर जनताले महसुस गर्ने खालको कार्यक्रम खै?’

उनले कांग्रेसले निर्वाचन जितेका क्षेत्रमा विकास कसरी लैजाने, हारेका क्षेत्रमा जित्न केके विकास गर्ने भन्ने खाका स्पष्ट हुनुपर्ने बताए। ‘हामीले जितेका पालिकामा हारेका पालिकामा विकास कसरी लैजाने भन्ने एजेन्डा खै? यो एउटा केन्द्रीय समिति बैठकको सार्थकता पनि यही हो’ उनले भने।

उनले कांग्रेसमा अन्तर्घात गर्नेलाई अहिले धमाधम कारबाही फुकुवा गर्दा त्यसले पार्टीको अनुशासन कहाँ पुग्छ भन्ने प्रश्न पनि गरे। ‘हिजो अन्तर्घात गर्नेलाई हामीले अहिले म अब कांग्रेसमै रहन्छु भन्दैमा कारबाही फूकुवा गर्‍यौँ भने त्यो त्यसले राम्रो गर्दैन,’ उनले भने, ‘हाम्रा दिग्गज नेता पराजित हुनुपरेको छ। यसो गर्दै जाने हो भने कांग्रेसको अनुशासन कहाँ जान्छ?’

उनले पार्टीलाई नेतृत्वले अनिर्णयको बन्दी बनाउने परम्परा कायमै रहेकोले यसपटक त्यस्तै प्रक्रिया निरन्तरता हुने हो कि भन्दै चिन्ता व्यक्त गरे। पार्टीभित्र एउटा खेमाले सुरु गरेको रुपान्तरण अभियानप्रति पनि उनले आपत्ति जनाए।

‘…अहिले पनि त्यही खतरा छ। यसले कांग्रेसलाई कहाँ पुर्‍याउँछ। जनतासँग हामी जनतासामू हुनुपर्ने भएका छैनौँ रुपान्तरणको नाममा अन्त मोडियौँ भने खतरा हुनेछ,’ उनले भने, ‘आफू केन्द्रित नभई पार्टी केन्द्रित हुनुपर्छ। अमुक शब्द ल्याएर कार्यकर्तालाई भ्रममा राखेर समय खर्च गरेरमात्र भएन।’

प्रकाशित: ४ साउन २०८० १५:३२ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast