काठमाडौँ- नेपाल राष्ट्र बैंकले सेयर धितो, सवारीसाधन र घरजग्गासम्बन्धी कर्जामा रहेको जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ। आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले उक्त घोषणा गरेको हो।
सेयर धितो कर्जामा उपलब्ध हुने २५ लाख रुपैयाँसम्मको कर्जाको जोखिमभार हाल एक सय प्रतिशत छ। सोभन्दा माथिको कर्जाको जोखिमभार एक सय ५० प्रतिशतसम्म राख्नुपर्ने व्यवस्था छ।
उक्त व्यवस्थामा केही परिमार्जन हुने संकेत राष्ट्र बैंकको मौद्रिक नीतिले गरेको छ। यससम्बन्धी थप व्यवस्था छिट्टै सार्वजनिक गरिने निर्देशनमा समेटिनेछ। यसअघि सेयर धितो कर्जाको अधिकतम सीमा १२ करोड रुपैयाँ रहेको थियो। आइतबार सार्वजनिक मौद्रिक नीतिले त्यसमा पुनरावलोकन गर्ने संकेत गरेको छ।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल अफ चेम्बर अफ कमर्सले संयुक्त रूपमा व्यापारिक प्रयोजनका सवारीसाधन, सेयर कर्जा, घरजग्गा लगायतमा लाग्दै आएको जोखिमभार १५० प्रतिशतलाई पुनरावलोकन गरी एक सय प्रतिशत कायम गर्न सुझाव दिएका थिए।

                                             
                                             
                                             
                                             
                                             
                                             

