 वामदेव गौतम। तस्बिर : हिमाल प्रेस
                             वामदेव गौतम। तस्बिर : हिमाल प्रेस
                                            काठमाडौँ– पूर्वउपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिस्ट घटकहरू एकताबद्ध भएमात्र नेपालमा समाजवाद स्थापना गर्न सकिने बताएका छन्।
नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसका अवसरमा आइतबार कीर्तिपुरस्थित पुष्पलाल स्मृति केन्द्रमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक/दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा गर्न सबै कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आउनुपर्ने उनको भनाइ छ।
नेपालको संविधानले लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको परिकल्पना गरेको हुँदा सबै कम्युनिस्ट घटकहरू मिलेर मात्रै उक्त लक्ष्य हासिल गर्न सकिने उनले जनाए।
समाजवादी मोर्चामा दुई/तीन वटा पार्टी रहेको भन्दै उनले नेकपा एमाले, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवाीलगायतका छरिएर रहेका सबै कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए।
‘सबै कम्युनिस्टहरू शक्तिहरूबीच एकता गरौं। प्रचण्ड, कमरेड माधव नेपाल र अरू अरू मिलेर सुरु गर्नुभएको समाजवादी मोर्चाका साथै सबै कम्युनिस्टहरू एक होऔं,’ उनले भने, ‘कमेरेड पुष्पलालले भन्नुभएको, देख्नुभएको सपना साकार पार्ने हो भने पहिलाकै बाटोमा जानुपर्छ। जसरी पनि त्यो लागू गर्नुपर्छ। त्यसरी मात्रै शक्ति आर्जन गर्नसक्नुपर्छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टी निर्माणमा पुष्पलालको ठूलो योगदान रहेको उल्लेख गरे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 