एमालेले संसद्‌मा सोध्यो : सुन प्रकरणमा जोडिँदा पनि महरामाथि किन छानबिन भएन?

हिमाल प्रेस १० साउन २०८० १५:१७ | Wednesday, July 26, 2023
एमालेले संसद्‌मा सोध्यो : सुन प्रकरणमा जोडिँदा पनि महरामाथि किन छानबिन भएन?

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अवैध सुनको निर्णय अपत्यारिलो भइरहेको बताएका छन्। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै गिरीले पहिले पनि सुन काण्ड हुने गरेको तर एमाले सरकारले नाइके पक्राउ गरेको दाबी गरेका छन्।

उनले अहिले भने सरकारले नै अनुसन्धान नगरेको आरोप लगाएका छन्। सत्तासीन माओवादीकै नेता कृष्णबहादुर महरा र उनका छोरालाई छानबिन गर्न सरकारले नचाहेको उनले बताए। उनले भने, ‘यसका लागि सरकार उदासिनता देखाएको छ। प्रहरी स्वीकार गर्छ तर महराले फोन गरेकै हो भन्ने।’

सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको सेटिङमा भएको आरोप उनको छ। गिरीले भने, ‘यस विषयमा छानबिन गर्न संसद्‌बाट उच्चस्तरीय छानबिन गर्न सभामुखले रुलिङ गर्नुपर्‍यो।’ गृहमन्त्री कुनै पनि कोणबाट कुर्सीमा बस्न लायक हुनुहुन्न भन्ने पार्टीको निष्कर्ष रहेको उनले सुनाए। उनले भने, ‘अब तपाईँ कुन नैतिकताका आधारमा पदमा बसिरहनुहुन्छ?’

छानबिन समिति केही समयअघि विमानस्थबाटै बरामद गरिएको नौ किलो सुन प्रकरणमा पनि महरा बाबुछोराको नाम जोडिएको उनको आरोप छ। उनले महरा बाबुछोराले त्यो सुन लैजान धेरै दबाब दिइएको बताए। उनले भने, ‘बाबुछोराले १९५ पटक चिनियाँ व्यापारीलाई फोन गरेको प्रहरी रेकर्डमा छ। यस विषयमा प्रहरीले छानबिन गरेको छैन।’ सत्ताको आडमा यस्ता ठूला स्क्यान्डलमा संलग्नलाई कारबाही नगरिएको उनको भनाइ छ।

२०७४ माघ ९ गते भित्रिएको ३३ किलो सुन बेपत्ता बनाइएको विषयमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले छानबिन गरिएको उनले बताए। त्यति बेलाका सुन तस्करीका नाइकेलाई पक्राउ गरी कारबाही गरिएको उनको भनाइ छ।  उनले भने, ‘उक्त प्रकरणमा संलग्न व्यक्ति अहिले जेलमा छन्।’ उनले त्यसपछि सुन तस्करीको जालो तोडिएको लागे पनि त्यस्तो नरहेको बताए। उनले त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्त फितलो रहेकाले सुन तस्करहरूलाई सजिलो भएको बताए।

प्रकाशित: १० साउन २०८० १५:१७ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast