 
                             
                                            पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महसुल घटाएर सहजरुपमा स्तरीय सेवा दिन सेवा प्रदायकलाई सुझाव दिएका छन्।
शुक्रबार पोखरामा आयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासँगको अन्तरक्रियामा सस्तोमा सेवा दिन मुख्यमन्त्रीले सेवा प्रदायकलाई अनुरोध गरेका हुन्। ‘दुरसञ्चारको सेवाले विश्व नै साँघुरिएको छ, मानिसलाई हातहातमा छिटो सेवा चाहिएको छ,’ उनले भने ‘अहिले भएको भन्दा सस्तो र स्तरीय सेवा दिने गरी सेवाप्रदायकले काम गर्नुपर्छ।’
अहिले पनि दुर्गम हिमाली र उच्च पहाडी भेगमा दुरसञ्चार सेवा प्रभावकारी नभएको बताउँदै उनले सेवा विस्तारमा ध्यान दिन अनुरोध गरे। ‘सेवाप्रदायक संस्था नाफामुखी भए भन्ने आरोप पनि छ’ मुख्यमन्त्री पाण्डेले भने ‘नाफा थोरै गरेर सेवामा सहुलियत दिऔं ।’ संचार सेवा व्यक्तिको स्वतन्त्रतासँग पनि जोडिएको बताउँदै उनले अहिले स्वतन्त्रताको नाममा प्रविधि दुरुपयोगको घटना पनि बढेको बताए।
गण्डकी प्रदेशभित्र संचार सेवामा देखिएका समस्या, समाधानका उपाय, अझै स्तरीय सेवा सुविधा दिन प्रदेश सरकारले खेल्नुपर्ने भूमिका, गर्नुपर्ने काम, प्राधिकरणको योजना लगायतका बारेमा छलफलबाट समाधान निकाल्न मुख्यमन्त्री पाण्डेले अनुरोध गरे। नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम प्रसाद खनालले सेवा विस्तार र गुणस्तर कायम गर्नमा सधै तयार रहेको बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 