अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ

हिमाल प्रेस ११ साउन २०८० २१:४२ | Thursday, July 27, 2023
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ

कञ्चनपुर- अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गरेको आरोपमा भीमदत्त नगरपालिका-१८, क्याम्पस रोडबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ।

ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले आज (बिहीबार) प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ पर्नेमा भारतको नयाँ दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, दोधारा चाँदनी नगरपालिका–७ का ४० वर्षीय प्रवीण खड्का र भीमदत्त नगरपालिका–१० जिमुवाका ४७ वर्षीय दीपक बोहरा रहेको जानकारी गराएका हुन्।

गैरकानुनीरूपमा अवैध गतिविधि भइरहेको गोप्य सूचनाका आधारमा ब्युरोको टोली, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले छापा मारेर तीन जनालाई पक्राउ गरेको जनाएको छ।

चार महिनादेखि भारतीय र नेपाली नागरिक मिलेर भाडाको घरमा नेपाल टेलिकमको एसआईपी पीवीएक्स कनेक्सन गरी कल वाइपास गर्दै आएका थिए। कल वाइपास गर्ने उपकरणसहित पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ।

पक्राउ परेकाबाट कल वाइपास गर्ने कार्यमा प्रयोग भएका ल्यापटप दुई थान, कम्प्युटर मोनिटर, लाइन केबुल दुई थान, मोबाइल सेट तीन थान, युपिएस र ब्याट्री नेपाल टेलिकमको ल्यान्डलाइन नम्बर ०९९५९७००० को ६० लाइन क्षमता भएको एसआईपी पीवीएक्स कनेक्सन लाइन एक, गेटवे सर्भर सीपीयू एक थान, एनटीसी एफटीटीएच वाइफाइ राउटर एक थान, वर्डलि‌ंक वाइफाइ राउटर एक थानलगायत बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाएको छ। –रासस

प्रकाशित: ११ साउन २०८० २१:४२ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast