अनुदान पाउन थालेपछि तनहुँका किसान अदुवा र बेसारखेतीतर्फ आकर्षित

हिमाल प्रेस ७ साउन २०८० ९:०९ | Sunday, July 23, 2023
अनुदान पाउन थालेपछि तनहुँका किसान अदुवा र बेसारखेतीतर्फ आकर्षित

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन्। गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन्।

निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको छ।

घिरिङ-१ अत्रौलीका रोमनाथ पोख्रेलले केही समयदेखि निर्वाहमुखी रूपमा अदुवाखेती गरेकोमा अहिले त्यसलाई व्यावसायिक बनाएका छन्। हाल उनले २ रोपनी क्षेत्रफलमा खेती गरिरहेका छन्।

‘रोपनीभन्दा माथिको जग्गामा खेती गर्नेलाई अनुदान दिने व्यवस्था ल्याएपछि खेतीलाई विस्तार गरें। अनुदानले हामीजस्ता कृषकलाई राहत मिल्छ,’ उनले भने।

घिरिङ -२ चिन्नेखोलाका शेर थापाले पनि सुरुमा निर्वाहमुखी रूपमा मात्रै अदुवाखेती गरेकोमा गत वर्षदेखि अदुवाखेतीलाई व्यावसायिक बनाएका छन्।

घिरिङ गाउँपालिकाले अदुवाखेती गर्ने कृषकलाई अनुदानको व्यवस्था गरेपछि थापाले अदुवाखेतीलाई व्यावसायिक बनाएको बताए।

‘अदुवाखेती गरेको त थुप्रै वर्ष भयो तर बेच्ने हिसाबले भन्दा पनि आफैंले प्रयोग गर्ने गरी खेती गरिरहेको थिएँ। तर स्थानीय सरकारले व्यावसायिक रूपमा खेती गर्नेलाई अनुदान दिने व्यवस्था मिलाएपछि यसलाई व्यावसायिक बनाउनेतर्फ लागेँ,’ उनले भने।

हाल उनले ४ रोपनी क्षेत्रफलमा अदुवाखेती गरिरहेका छन्।

घिरिङ गाउँपालिकाले अदुवा र बेसारखेती गर्ने कृषकलाई अनुदानको व्यवस्था मिलाएपछि कृषक यसतर्फ आकर्षित भएका छन्।

गाउँपालिकाले एक सय ४४ जना अदुवा कृषकलाई प्रतिव्यक्ति ५ हजारका दरले सात लाख २० हजार वितरण गरेको छ।

गाउँपालिकाका अध्यक्ष होम थापाले घिरिङमा उत्पादित अदुवा विभिन्न जिल्लामा निर्यात गर्न सकिने बताउँदै कृषक व्यावसायिक बन्नुपर्ने उल्लेख गरे।

प्याज ५ सय किलो, लसुन २ सय ५० किलो र बेसार ५ सय किलोभन्दा बढी उत्पादन गर्नेलाई समेत ५ हजार अनुदान दिने व्यवस्था गरिएको अध्यक्ष थापाले बताए।

‘कृषकलाई कृषिमा प्रोत्साहन गर्न यो कार्यक्रम सुरु गरिएको हो,’ उनले भने।

वडा ५ का कृषकले सबैभन्दा बढी अनुदान प्राप्त गरेका छन्। वडा ५ मा ८९ जना, वडा ४ मा २, वडा ३ मा ४७ र वडा २ का ६ जना कृषकले उक्त रकम प्राप्त गरेको कृषि शाखा प्राविधिक सहायक समीक्षा ढकालले जानकारी दिइन्।

यस्तै व्यास नगरपालिका-८ रिस्तीका कृषक बेसारखेतीमा आकर्षित भएका छन्।

अन्य खेती बाँदरले खाएर हैरान भएपछि त्यसको विकल्पमा कृषकले बेसारखेती सुरु गरेका छन्।

२० जना कृषकले २ सय रोपनी जग्गामा बेसारखेती गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल तिवारीले जानकारी दिए।

जग्गा बाँझो नराख्न र आयआर्जनमा जोड्ने उद्देश्यले कृषकलाई बेसारखेतीका लागि प्रोत्साहन गरिएको तिवारीको भनाइ छ।

प्रकाशित: ७ साउन २०८० ९:०९ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast