काठमाडौँ- असार; मानो रोपेर मुरी फलाउने महिना। झरीमा रुझ्नु, हिलो छ्यापाछ्याप गर्नु, गीत गाउनु अनि धान रोपाइँमा व्यस्त रहनु किसान जीवनशैलीको एउटा सुखद क्षण हो। धान रोपाइँमा मात्रै होइन कतैकतै कोदो रोपाइँमा पनि लाठे-रोपाहारबीच दोहोरी चल्छ। यही बेला गाउने गीतलाई असारे गीत भनिन्छ।
यस्ता भाकामा मायाप्रेमका साथै ग्रामीण कृषि जीवनसँग जोडिएका प्रसंगलाई लयबद्ध गरिन्छ। तत्कालै शब्द चयन गरी फाँकी मिलाएर गाउन सक्नु यो गीतको विशेषता हो। रेकर्ड हुन थालेपछि भने असारे गीतले व्यापकता पाउन थाल्यो।
पछिल्लो समय असारे गीत रोपाइँमा त्यति गाइँदैन भने गायकगायिकाले गाउन छाडेका छन्। खेतीपातीमा संलग्नता घट्न थालेपछि असारे गीत पनि पुराना एल्बममै सीमित भएको अग्रज गायकहरूको बुझाइ छ। यद्यपि कृषिमा आश्रित समाज कायम रहेसम्म असारे भाका नमर्नेमा उनीहरू विश्वस्त छन्। नयाँ पुस्ताका असारे गीत गाउने गायकको नाम भने त्यति सुनिँदैन। तर असारको झल्को दिने खालका गीत भने सुन्न पाइन्छ।
धर्मराज थापा, शिवनारायण जोशी, नवराज घोरासैनी, दलबहादुर डंगोल, पानमाया गुरुङ, सानु केसीलगायत असारे भाकाका नाम चलेका गायक हुन्। उमेरले सात दशक नाघिसकेका गायक शिवनारायण जोशी त असारे गीतमा अझै जाेस्सिएर भाका हाल्छन्। जोशीका ‘असारे भाका’, ‘असारे बेठी गीत’ ‘जेठी कान्छी’ लगायत गीत चर्चित छन्। जोशीको शब्द र स्वर रहेको ‘असारे भाका’ बोलको गीत काँठ क्षेत्रमा प्रसिद्ध छ। त्यसमा जोशीलाई गोपाल गुरुङ, माया निराशी र सुशीला लामाले साथ दिएका छन्।
गायक नवराज घोरासैनीले गाएको ‘लाग्यो असार’ बोलको गीतलाई पनि धेरैले मन पराएका छन्।
असारमा मन पराइने गीतमध्ये धर्मराज थापाको ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’ एक हो। यस्तै चुजन दुक्पाको स्वर रहेको गीत ‘असारै महिनामा’ सबैभन्दा बढी सुनिने गीतमा पर्छ। प्रशान्त तामाङले पनि यो गीत गाएका छन्। तुलसी गजमेरको शब्द र संगीत रहेको यो गीत धेरैको मुखमा झुन्डिएको छ।
नवीनकुमार खड्का, हरिबहादुर खत्री, कमलबहादुर खत्री र पुष्तका खड्काको स्वर रहेको ‘रिमी र झिमी पानी है पर्यो’ बोलको असारे गीत धेरैको रोजाइमा पर्नेमध्येको हो। ‘रहोस् सधैँ सम्झना’ असारे गीतमा रेशम थापा, उद्धव कार्की, पानमाया गुरुङ, पार्वती कार्की र उमा श्रेष्ठको स्वर छ। गीतमा पानमाया र रेशमकै शब्द छ। यस्तै नवीनकुमार खड्का, पुष्तका खड्का, बलराम समाल, मञ्जु सम्बाहाम्फेको स्वर रहेको ‘हातको बीउ म कल्लाई दिउँ’ पनि चर्चित छ। गीतमा नवीनकै शब्द छ।
नारायण रायमाझीको लय, शब्द र स्वरमा ‘छुपुमा छुपु’ पनि धेरैले मन पराएको गीत हो। ‘मेरो पनि नमस्कार’ मा दलबहादुर डंगोल, पानमाया गुरुङ, लक्ष्मी गिरीको स्वर छ।
प्रभावन जेको शब्द र नौ जना कलाकारको स्वर रहेको ‘लाग्यो असार’ बोलको गीत। जसमा गायकगायिका नवराज घोरासैनी, उद्धव कार्की, पार्वती कार्की, प्रभावन, शरण हुमागाईं, विवेक चौलागाईं, जीवन बडु, सपना कुँवर र मिङमा लामाले स्वर दिएका छन्।
श्याम ठकुरीको शब्द रहेको गीत ‘राधाकृष्ण’ बोलको गीत असारे भाकामा छ। गीतमा संगम थापा, शारदा रसाइली, सपना गुरुङ र श्याम ठकुरीको स्वर छ। ‘गैरीखेतको रोपाइँ’, बोलको गीतमा सानु केसी, भाइकाजी गुरुङ, प्रतिमा अर्याल र इन्दिरा केसीको स्वर छ। गीतमा सानु केसीकै शब्द र संगीत छ।
‘जिम्मल बाको रोपाइँ’ बोलको गीतमा सानु केसी र सविता ढुंगानाको स्वर छ। गायक सानु र अशोककुमार सापकोटाको शब्द रहेको गीतमा रामहरि भण्डारीले संगीत भरेका छन्। सुशीला लामा र रामेश्वर भण्डारीको स्वरमा सार्वजनिक भएको ‘के छ खबर कालिको’ बोलको गीत पनि असारे भाकामा छ। अशोककुमार सापकोटा, सुशीला रामेश्वरकै शब्द रहेको गीतमा रामेश्वरले संगीत दिएका छन्। यसरी असारे भाकामा रेकर्ड भएका गीत र एल्बमको सूची लामै हुन्छ।
पछिल्लो समय असारे भाकाका नयाँनयाँ गीत आउन छाडेका छन्। कारण हो यस्ता गीत गायनमा रुचि नहुनु। ‘घाँसे गीतलाई असारे भनेर गाउनेचाहिँ छन् तर अहिलेको पुस्ताका गायकले असारे गाउन जान्दैनन्,’ गायक जोशी भन्छन्, ‘रोपाहारले गाउने असारे गीत सुनिन छाडेका छन्।’
असारे गीत छोटो समयमात्रै चल्ने भएकाले कम भएको गायक नवराज घोरासैनीको भनाइ छ। ‘असारे गीत वर्षमा एकचोटिमात्रै चल्छ,’ उनी भन्छन्, ‘फेरि चल्न अर्को वर्ष कुर्नुपर्छ। त्यसैले पनि यस्तो गीत गाउन रुचि नभएको हुन सक्छ।’
गायक राजेन्द्र भण्डारी पनि जोशी र घोरासैनीको कुरामा सहमत छन्। काँठे भाका गाउने गायकमध्ये एक भण्डारी। उनका ‘धानको चामल धानैको कनिका’, ‘कफी खाऊँ कि चिया’, ‘कल्पना’, ‘मापसे’लगायतका गीत चर्चित छन्। ‘असारे विशुद्ध मौलिक गीत हो,’ उनी भन्छन्।
गायक भण्डारी पहिलेको जस्तो असारे गीत बजारमा नआएको बताउँछन्। ‘आएको गीतमा केही असारे भाका झल्किन्छ तर पहिलेको जस्तै रङरस पाइँदैन,’ उनी भन्छन्।
गाउँतिर बूढापाकाले मात्र गाउन जान्ने भएकाले असारे गीत कम गुञ्जिएको गायक जोशी बताउँछन्। ‘पाका उमेरकाले मात्र हुन् असारे गीत गाउने तर उनीहरू गाउन नसक्ने भइसके,’ उनी सुनाउँछन्।
दर्शकश्रोताको रोजाइमा पनि कम पर्ने भएकाले असारे गीत नआएको गायक भण्डारी बताउँछन्। ‘प्रायः मौलिक गीत ओझेलमा पर्ने गरेको छ,’ उनी भन्छन्, ‘दर्शकले कम रुचाउँछन्।’ दर्शक मौलिकभन्दा पनि क्षणिक गीतमा रमाउने भएकाले असारे गीत कम भएको गायक भण्डारीको बुझाइ छ। ‘अहिलेका गीत सामाजिक सञ्जाल केन्द्रित हुन्छन्,’ उनी भन्छन्, ‘मान्छेहरू मौलिकभन्दा पनि क्षणिक गीतमा रमाउँछन्।’
मौलिक गीत लोप हुने अवस्थामा पुगे पनि देशमा कृषियोग्य जमिन रहेसम्म असारे गीत नहराउने गायक घोरासैनी बताउँछन्। ‘नेपालमा ग्रामीण भेग बढी छ,’ उनी भन्छन्, ‘कृषिका लागि जमिन रहेसम्म असारे गीत लोप हुँदैन।’