अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रश्न गर्दा अमेरिकी पत्रकारमाथि भएको अनलाइन आक्रमणलाई ह्वाइट हाउसले ‘अस्वीकार’ गरेको छ। अमेरिकी पत्रिका ‘द वाल स्ट्रिट जर्नल’की संवाददाता सबरिना सिद्दिकीले मोदीसँग भारतमा रहेका अल्पसंख्यकका अधिकार, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताबारे प्रश्न गरेकी थिइन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले एउटा प्रश्नको जवाफ दिने भएपछि उनलाई सिद्दिकीले प्रश्न गरेकी हुन्।
त्यो प्रश्नका आधारमा भारतीय जनता पार्टी र हिन्दुत्वका समर्थकले सिद्धिकीलाई सामाजिक सञ्जालमा ट्रोल गरेका थिए। सिद्दिकीलाई ‘पाकिस्तानकी छोरी’ भनिएको थियो।
ह्वाइट हाउसको पत्रकार सम्मेलनमा ‘नेसनल ब्रोडकास्टिङ कम्पनी (एनबीसी)’ का संवाददाताद्वारा सिद्दिकीमाथि भएको अनलाइन उत्पीडनबारे सोधिएको थियो। उनी मुस्लिम समुदायकी भएकाले तारो बनाइएको र उत्पीडनको नेतृत्व भारतको सरकारसँग जोडिएका राजनेताहरूले गरिरहेकोमा पत्रकारले ह्वाइट हाउसलाई ध्यानाकर्षण गराएका थिए।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले पत्रकारको प्रश्नको जवाफ दिए। ‘हामी उत्पीडनका खबरबारे अवगत छौँ, यो अस्वीकार्य छ,’ उनले भने, ‘हामी कुनै पनि परिस्थितिमा पत्रकारहरूमाथि भएको उत्पीडनको निन्दा गर्छौँ। यो लोकतन्त्रको सिद्धान्तविरुद्ध छ।’
अमेरिकी राष्ट्रपतिले मोदीसँग मानवअधिकारका सम्बन्धमा के कुराकानी गरे? भनेर अमेरिकी पत्रकारले ह्वाइट हाउसकी प्रेस सचिव क्यारिन जिन पियरेसँग थप जानकारी मागेका थिए।
‘उनीहरूबीच भएको निजी बातचितबारे म केही भन्न सक्दिनँ,’ उनले भनिन्, ‘तर हामीले हाम्रो दृष्टिकोण स्पष्ट राखिसकेका छौँ।’
‘भारतमा कुनै भेदभाव छैन’ भनेर प्रधानमन्त्री मोदीको जवाफलाई अमेरिकी राष्ट्रपतिले स्वीकार गरेका छन्? पत्रकारहरूले सोधेका थिए। उनीहरूको जिज्ञासा मेटाउँदै ह्वाइट हाउसकी प्रेस सचिवले भनेकी छन्, ‘मलाई लाग्छ– यो प्रश्नको उत्तर दिने काम प्रधानमन्त्रीको हो र तपाईंहरूको काम यसबारे आलोचना गर्ने वा लेख्ने हो। हामी निश्चित रूपमा प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छौँ।’
‘द वाल स्ट्रिट जर्नल’ले पनि यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। त्यसमा लेखिएको छ, ‘सिद्दिकी सम्मानित पत्रकार हुन्। जो आफ्नो इमानदारी र निष्पक्ष रिपोर्टिङका लागि परिचित छिन्। उनीमाथि भएको उत्पीडन अस्वीकार्य छ। हामी यसको कडा निन्दा गर्छौँ।’
दक्षिण एसियाली पत्रकार संघ (एसएजेए)ले पनि सिद्दिकीको समर्थन गरेको छ। एसएजेएका अध्यक्ष मैथिली सम्पतकुमारले ट्विटरमा लेखेका छन्, ‘सिद्दिकीको प्रश्नको आशा प्रधानमन्त्री मोदीको टोली र यस विषयमा चासो राख्ने जोकोहीलाई हुन सक्छ। मोदीको उत्तर र किन भारतीय पत्रकारले नौ वर्षसम्म उनलाई प्रश्न गर्ने अवसर पाएनन् त्यसबारे अझै कुराकानी हुनुपर्छ।’
सन् २०१४ मा भारतका प्रधानमन्त्री बनेयता भारतीय पत्रकारहरूको प्रश्नलाई पन्छ्याउँदै आएका मोदीले अमेरिका भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग संयुक्त पत्रकार सम्मेलन गरेका थिए।
सिद्दिकीले उनीसँग प्रश्न गरेकी थिइन्, ‘तपाईं र तपाईंको सरकारले आफ्नो देशमा मुस्लिमलगायत अन्य अल्पसंख्यक समुदायको अधिकार र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न केकस्ता प्रयास गरिरहेको छ?’
मोदीले जबाफमा भनेका थिए, ‘अचम्म लाग्छ, तपाईं भन्दै हुनुहुन्छ मान्छे भन्छन्। मान्छेले भन्ने होइन, भारत एक लोकतान्त्रिक देश हो। भारत र अमेरिकाको डीएनएमै लोकतन्त्र छ। लोकतन्त्र हाम्रो रगतमा छ। हामी लोकतन्त्रमा बाँच्छौँ। हाम्रो सरकार लोकतन्त्रका मूलभूत मूल्यमान्यतामा आधारित संविधानअनुसार चल्छ। जाति, धर्म वा लैंगिक स्तरमा कुनै किसिमका भेदभाव गरिँदैन। भारत सबैको साथ, सबैको विकास र सबैको विश्वास, सबैको प्रयासको मूलभूत सिद्धान्तलाई मान्छ। भारतमा सरकारबाट प्राप्त हुने सेवासुविधा सबैलाई उपलब्ध छन्। कुनै भेदभाव छैन।’
यसपछि सामाजिक सञ्जालमा सिद्दिकीलाइ ट्रोल गरिएको थियो। अमेरिकी पत्रकारमाथि अनलाइन आक्रमणको नेतृत्व बीजेपीका आईटी सेलका प्रमुख अमित मालवीयले गरेका थिए।
आमाबुबा पाकिस्तानी भएकाले उनको पाकिस्तानसँग सम्बन्ध रहेको बताएका थिए। ट्विट गरेर मालवीयले सिद्दिकीको प्रश्न दुराशययुक्त रहेको बताएका थिए। उनका अनुसार मोदीले त्यसको ‘उचित उत्तर’ दिएका थिए।
मालवीयको ट्विटपछि बीजेपी र हिन्दुत्व समर्थकले सिद्दिकीको खेदो खनेका थिए। उनलाई ‘पाकिस्तानी इस्लामवादी’ भनिएको थियो। बीजेपी समर्थक विभिन्न वेबसाइटमा उनीबारे समाचार प्रकाशित भए। जसमा उनलाई ‘पाकिस्तानी आमाबुबाकी छोरी’ भनेर लेखिएको छ।
बीजेपी र हिन्दुत्व समर्थक सामाजिक सञ्जालमा आफूविरुद्ध लागेपछि सिद्दिकीले प्रतिक्रिया जनाउँदै ट्विटर ह्यान्डलमा भारतमा जन्मिएका आफ्ना बुबा र आफ्नो तस्बिर पोस्ट गरेकी थिइन्। जसमा बुबासँगै उनले भारतीय क्रिकेट टोलीको समर्थनमा भारतको जर्सी लगाएकी छन्। उनले लेखेकी छन्, ‘केही मान्छे मेरो व्यक्तिगत पृष्ठभूमिलाई मुद्दा बनाउँदै छन्। केही कुरा स्पष्ट पार्न चाहन्छु। कहिलेकाहीँ पहिचानजस्तो देखिन्छ, त्योभन्दा धेरै जटिल हुन्छ।’