भ्रष्टाचारविरुद्धको लडाइँमा दृढतापूर्वक अघि बढ्ने प्रधानमन्त्री प्रचण्डको संकल्प

हिमाल प्रेस १३ असार २०८० १२:५०
4
SHARES
भ्रष्टाचारविरुद्धको लडाइँमा दृढतापूर्वक अघि बढ्ने प्रधानमन्त्री प्रचण्डको संकल्प

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र विकृतिविरुद्धको लडाइँमा दृढतापूर्वक अघि बढ्ने संकल्प गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘म संकल्प गर्छु कि कुनै पनि मूल्यमा विकृतिविरुद्ध यो लडाइँ अगाडि बढाइनेछ। लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ्य रहन्छ। सरकार त्यो दिशामा दृढतापूर्वक अगाडि बढेको छ र बढिरहनेछ।’

प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणबारे थप अनुसन्धान गरेर सरकारले जनताप्रति आशा बढाएको दाबी गरे। उनले भने, ‘मैले सरकारको नेतृत्व गर्दै गर्दा जनतामा निराशा र आवेग थियो। अहिले त्यसमा सुधार भएको छ। जनतामा राज्यप्रतिको भरोसा बढेको छ।’

हाई प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आममनोविज्ञानले जनतामा जन्माइरहेको आक्रोश पनि मत्थर हुँदै गएको प्रचण्डले बताए। प्रधानमन्त्रीले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको इतिहसकै ठूलो अनुसन्धान र कारबाहीपछि जनतामा विश्वास जाग्न सुरु भएको छ। यसको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चता मात्रै प्रमाणित गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ।’

प्रधानमन्त्रीले लोकतन्त्रभित्र देखापर्ने समस्याको समाधान पनि लोकतन्त्रबाट नै प्राप्त हुने ऐतिहासिक मापदण्ड राम्ररी स्थापित भएको दाबी गरे। उनले भने, ‘उच्च पदस्थाहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ। नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानसँगै लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण पनि सुरु भएको छ।’

उनले यो शुद्धीकरण यतिमा सीमित नहुने आश्वासन दिए। प्रधानमन्त्रीले भने, यो अभियान यतिमै रोकिने छैन। निरन्तर अगाडि बढ्नेछ।’ उनले ललिता निवास प्रकरणमा सुरु गरिएको छानबिन पनि शुद्धीकरण अभियानको निरन्तरता भएको दाबी गरे।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेका छन्।’ यस्तै उनले मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही भइसकेको दाबी गरे। प्रधानमन्त्रीले यस्तो अभियानमा आफूलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताए। उनले भने, ‘वर्षौँदेखि विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई सदन र जनताको अझ ठूलो सहयोग र समर्थन आवश्यक छ।’

प्रकाशित: १३ असार २०८० १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 13 =