सुर्खेत- सुर्खेत प्रहरीले लागुऔषध न्यूनीकरण र रोकथामका लागि विद्यालयस्तरमा जनचेतना कार्यक्रम सुरु गरेको छ। पछिल्लो समय कर्णालीमा बढ्दै गएको लागुऔषधको प्रयोग र ओसारपसार निरुत्साहित गर्न विशेष योजनासहित प्रहरीले विद्यार्थीहरूलाई सचेत गराउने अभियान थालनी गरेको हो।
जसअन्तर्गत मंगलबार वीरेन्द्रनगरमा रहेको एसोएस हर्मनमाइनर विद्यालयमा कक्षा ९, १० र ११ मा अध्ययनरत विद्यार्थीलाई लागुऔषधको प्रयोगबाट हुने शारिरीक, मानसिक तथा सामाजिक असरबारे जानकारी गराइएको हाे।
कार्यक्रमको सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक डीएसपी लक्ष्मणबहादुर शाहीले लागुऔषध दुर्व्यसनीको कारण, उत्पन्न जटिलता, समाधान तथा विद्यमान कानुनी व्यवस्थाबारे विद्यार्थीलाई जानकारी गराएका थिए।
भारतीय खुला सिमानाका कारण नेपालगञ्जको बाटो हुँदै सुर्खेतमा लागुऔषध ओसारपसार हुने गरेको शाहीको भनाइ थियो। यातायातको पहुँच भएसँगै सुर्खेतबाट कर्णालीका अन्य जिल्लामा यसको प्रयोग र कारोबारसमेत बढ्न थालेको शाहीले बताए।
प्रहरीले थालनी गरेको सुरक्षित कर्णाली विशेष अभियान-२०८० अन्तर्गत संवेदनशील १४ क्षेत्रका ७८ वटा कार्यक्रममध्ये लागुऔषध दुर्व्यसनी रोकथामका लागि विद्यालयहरूमा सचेतना कार्यक्रम सुरु गरिएको डीएसपी शाहीको भनाइ छ।
लागुऔषध न्यूनीकरणका लागि हालसम्म भएका प्रयासको विश्लेषण गर्दै वर्तमानको अवस्था हेरेर आगामी सुरक्षा योजना अगाडि सारेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल बताउँछन्।
लागुऔषध कारोबारी र प्रयोगकर्ताको खोजी गरी कानुनी दायरामा ल्याउने प्रहरीको नियमित कामलाई विशेष योजनासहित अगाडि बढाइएको उल्लेख गर्दै जनचेतनाको अभियानलाई विद्यालयस्तरबाट थालनी गरिएको ढकालको भनाइ छ।