काठमाडौँ- इगोर स्टिमच भारतीय राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक भएको चार वर्ष भयो। भारत उनको नेतृत्वमा दोस्रो साफ च्याम्पियनसिप खेल्दैछ। उनी भन्दाअगाडि भारतीय टिमको जिम्मा स्टिफन कोन्स्टान्टाइनको काँधमा थियो। कुनै समय नेपालको पनि मुख्य प्रशिक्षक रहेका कोन्स्टान्टाइनले सन् २०१५ र २०१८ को साफ च्याम्पियनसिपमा भारतको नेतृत्व गरे।
सन् २००१ मा नेपाल छाडेपछि कोन्स्टान्टाइन त्यहाँ पुगेका थिए। त्यहाँ तीन वर्ष रहे। त्यसबेला उनले भारतलाई साफ च्याम्पियनसिप जिताउन सकेनन्। सन् २०१४ मा उही भूमिकामा फर्किँदा भने कोन्स्टान्टाइन सफल दरिए। यसको मुख्य कारण थियो, एएफसी एसियन कपमा छनोट। सन् २०१९ मा एसियन कपमा छनोट भएको भारतले एक वर्षअघि साफ च्याम्पियनसिप पनि जितेको थियो।
कोन्स्टान्टाइनपछि भारत पुगेका प्रशिक्षक हुन्, स्टिमच। जसलाई कोन्स्टान्टाइनले राजीनामा दिएको केही महिनापछि मुख्य प्रशिक्षक बनाइएको थियो। उनले भारतलाई गत संस्करणको साफ च्याम्पियनसिप जिताए। यही वर्ष कतारमा हुने एसियन कपमा पनि छनोट गराएका छन्। भारतले पहिलोपटक लगातार एसियन कप खेल्न लागेको हो।
भारत लगातार दक्षिण एसियाली च्याम्पियन हुनु र एसियन कपमा छानिनुको संकेत हो, अब यो देशको फुटबल स्थिर बनेको छ। स्थिरता कायम हुनुको कैयौँ कारण छन्। तर तीमध्येको बलियो कारण हो, प्रशिक्षकलाई पर्याप्त समय दिनु।
भारतले चार साफ च्याम्पियनसिप दुई प्रशिक्षकको प्रशिक्षणमा खेल्दा नेपालले चार प्रशिक्षक नै नियुक्त गरेको छ। पछिल्ला चार संस्करणमा मात्र होइन, नेपालले अहिलेसम्म लगातार दुई संस्करण एकै प्रशिक्षकको प्रशिक्षणमा खेलेको छैन। नेपाली फुटबलमा चलन नै छ, विदेशी प्रशिक्षकले साफ च्याम्पियनसिपपछि जिम्मेवारी त्याग्ने। कतिपय प्रशिक्षक त साफ च्याम्पियनसिप सकिएपछि नेपाल नफर्किएका उदाहरण छन्।
गत संस्करणमा नेपाललाई फाइनलमा पुर्याएका अब्दुल्लाह अलमुताइरीले त उपाधि भिडन्त नसकिँदै राजीनामा दिने घोषणा गरेका थिए। भलै उनी त्यसपछि थप १० महिना प्रशिक्षकको भूमिकामा रहे। अलमुताइरीलाई प्रतिस्थापन गरेका भिन्सेन्जो अल्बर्टो एनिसको पनि राजीनाको चर्चा छ यतिबेला।
एनिस अहिले भारतमा छन्। जहाँ १४ औँ साफ च्याम्पियनसिप जारी छ। बेंगलोरमा मंगलबार नेपाल अन्तिम खेल खेल्दैछ। पाकिस्तानविरुद्धको यो खेलबाट नेपालले यसपल्टको साफ च्याम्पियनसिप बिट मार्नेछ। नेपाल सातौँ पटक साफ च्याम्पियनसिपको समूह चरणबाट बाहिरिएको हो।
इटालीका एनिस गत फागुनमा नेपालको प्रशिक्षक बनेका थिए। उनलाई अखिल नेपाल फुटबल संघ एन्फाले एक वर्षको सम्झौता दिएको हो। साफ च्याम्पियनसिपपछि एनिस नेपाल फर्कन्छन् कि फर्कँदैनन्, वा फर्किए भने उनी यहाँ कति समय रहन्छन्, यसको टुंगो छैन। उनी भारतीय लिगमै रहने चर्चा पनि छ। यो चर्चामा मलजल उनकै अमूर्त अभिव्यक्तिले गरिरहेको छ। भारतसँगको खेलपछि उनले आफू नेपालका लागि समस्या भइरहे प्रशिक्षकमा नबस्ने बताएका थिए। उनले इंगित गरेको समस्या को हो? प्रस्ट छैन।
अब उनले राजीनामा दिए, अचम्म मानिने छैन। किनभने नेपाली फुटबलले यसअघि पनि देखेकै छ, साफ च्याम्पियनसिप सकिनासाथ राजीनामा दिएर हिँडेको। एनिस यस्तोबेला नेपाली फुटबलमा आइपुगे जब यहाँ समस्याका चाङ थिए। उसो त उनीअघिका प्रशिक्षकले पनि नेपाली फुटबलका स्थायी समस्या भोगेकै हुन्।
एनिसले भोगेका समस्या फरक थिए। जस्तै – खेलाडी अभाव। उनी नेपाल छिर्दा राष्ट्रिय टिममा स्थापित धेरै खेलाडी देशबाहिर पुगिसकेका थिए। यसकारण लगभग आधा नयाँ खेलाडी लिएर उनी बेंगलोर पुगेका हुन्। त्यसमाथि तयारीको अभाव। सहिद स्मारक ए डिभिजन सकिँदा साफ च्याम्पियनसिप सुरु हुन १० दिन बाँकी थियो। यस्तोमा उनले आफूले छानेका खेलाडीलाई दुई दिन मात्र अभ्यास गराउन पाए। त्यसपछि फिलिपिन्स र भारतमा केही दिन अभ्यास गरेको भरमा नेपालले साफ च्याम्पियनसिप खेलेको हो।
नयाँ प्रशिक्षक, नयाँ खेलाडीको बाहुल्य अनि अभ्यासका लागि समयको अभाव, यी तीन पक्ष केलाउँदा बेंगलोरमा प्राप्त नतिजा स्वाभाविक हुन्। प्रत्येक खेल सकिएपछि एनिसले आफू प्रदर्शनबाट सन्तुष्ट रहको जवाफ दिएका छन्। तर हारमा सन्तुष्ट कहिलेसम्म? यसको जवाफ नखोजी नहुने बेला आएको छ।
हरेक टिम संक्रमणकालबाट गुज्रिन्छ। यो स्वाभाविक हो। नेपाली टिम पनि हाल संक्रमणकालमा छ। आधा नयाँ अनुहार, अन्य धेरै खेलाडी कम अनुभवी र भएका अनुभवी खेलाडी पनि संन्यासको संघारमा। यो यस्तो बेला हो, जब नेपाली टिमलाई प्रतिबद्ध प्रशिक्षकको खाँचो छ। अनि ती प्रशिक्षकलाई समय। अब प्रश्न, के एनिस प्रतिबद्ध छन्? अझ थप प्रश्न, उनी प्रतिबद्ध छन् भने के उनलाई पर्याप्त समय दिइन्छ?
उमेरकै हिसाब गर्ने हो भने एनिस युवा प्रशिक्षक हुन्। नेपाली टिम त युवा भइहाल्यो। यसकारण प्रशिक्षक स्वयंम र टिम सँगसँगै हुर्कन सक्छन्। तर यसका सुरुमा त एनिस नै तयार हुनुपर्यो। अनि अभिभावक संस्था एन्फा।
फुटबल राजनीतिमा स्थिरता शब्द खुबै प्रयोग गरिन्छ। पछिल्लो समय नेपाली फुटबलमा धेरै चर्चा मैदानबाहिरको फुटबलको छ। हुन त मैदानबाहिरको फुटबलले प्राविधिक पक्षलाई पनि समेट्छ। जस्तै – लिग संरचना, स्काउटिङ, टिम निर्माण आदि। तर नेपाली फुटबलको हकमा मैदानबाहिरको फुटबलले फगत भोटको राजनीतिलाई मात्र इंगित गर्छ।
एनिसले नेपाल आएदेखि यहाँको फुटबल राजनीति विचार गरेको हुनुपर्छ। एन्फा नेतृत्व फुटबलमा कत्तिको गम्भीर छ, जानेकै हुनुपर्छ। तीनमहिने लिगले यहाँको फुटबल विकास हुन सक्दैन भनेर एनिसले त्यत्तिकै भनेका होइनन्। तत्काल साफ च्याम्पियनसिप जित्दैमा पनि विकास भएको मान्न नसकिने उनको भनाइ छ। उनका यी अभिव्यक्तिको सन्देश हो, नेपाली फुटबलमा दीर्घकालीन योजनाको आवश्यकता छ। फेरि यस्तो सन्देश दिने वा यो तथ्य जान्ने व्यक्ति उनी एक्ला होइनन्। नेपाली फुटबलमा लागेका हरेकले दोहोर्याइरहने वाक्य हो यो।
भनाइ दोहोरिए पनि एक्सनमा रूपान्तरण भएको छैन। नत्र किन हरेक साफ च्याम्पियनसिपपछि प्रशिक्षकहरुू टिम छाडेर हिँड्थे र? यहाँ फेरि एकपटक एनिसको भनाइ सुन्न जरुरी छ। ‘नेपाली फुटबलमा धेरैभन्दा धेरै एकेडेमीको आवश्यकता छ। धेरैभन्दा धेरै उत्कृष्ट प्रशिक्षकहरूको खाँचो छ। विदेशी प्रशिक्षकको खाँचो छ,’ उनले भनेका छन्। उनले बोलेका यी प्रत्येक वाक्य सामान्य सुनिन सक्छन्। तर घोत्लिने हो भने गम्भीर लाग्छन्।
एनिसको बहिर्गमन ठूलो दुर्घटना हुने छैन। उनको ठाउँमा उनी जस्तै अर्का प्रशिक्षक ल्याउन सकिन्छ। तर यसरी मुख्य प्रतियोगितापछि प्रशिक्षक बाहिरिरहनुलाई भने कदापी राम्रो मान्न सकिँदैन। किनभने यसले नेपाली फुटबल अस्थिर छ, गम्भीर छैन भन्ने सन्देश दिन्छ। नतिजा राम्रा नआएर प्रशिक्षक बर्खास्त गरेको भए अर्को कुरा। यहाँ बहिर्गमनको एउटा कारण हो, योजनाको अभाव। जब दीर्घकालीन योजना हुँदैन, साफ च्याम्पियनसिप जित्छौँ भन्ने ओठे योजनाको अर्थ रहँदैन। दीर्घकालीन योजनाको सुरुवात भनेकै विद्यमान प्रशिक्षकलाई पर्याप्त समय दिने हो। जसरी भारतले दिएको छ।