गायक शिवनारायण जोशीलाई कसैले ‘घाँसे गीतका राजा’ भन्छन् त कसैले ‘काँठे किङ’। २०२९ सालमा उनको पहिलो गीत ‘पहिलो चरण’ रेकर्ड भएको थियो। त्यसयता उनी निरन्तर गीतसंगीतमा सक्रिय छन्। गीतसंगीतमा ७३ वर्षीय जोशीको सक्रियता लोभलाग्दो छ। भन्सार एजेन्टका रूपमा काम गरिरहेका उनको व्यस्तता असार लागेपछि झनै बढ्छ। गीत गाउन भ्याइनभ्याई हुन्छ उनलाई। तिनै जोशीसँग असारे गीतबारे सुस्मिता बजगाईंले गरेको कुराकानी :
सन्चै हुनुहुन्छ?
ठीक छु। अहिलेसम्म गीत गाइरहेकै छु। स्वरले साथ दिएकै छ।
अचेल केमा व्यस्त हुनुहुन्छ?
अहिले त घाँसे र असारे गीत गाउनमै व्यस्त छु। त्यसबाहेक भन्सार एजेन्टको जिम्मेवारी त छँदैछ।
यो उमेरमा पनि काम गर्दै हुनुहुन्छ?
हो त गरिरा’छु। अहिलेदेखि हो र त्यहाँ काम गर्न थालेको! २०५८ सालदेखि हो।
कहिलेसम्म गरिन्छ भन्सार एजेन्टमा काम?
ज्यानले साथ दिएसम्म गर्छु होला।
असारे गीत भन्नेबित्तिकै धेरैले तपाईँको नाम लिन्छन्। अहिलेसम्म कतिवटा असारे गीत गाउनुभयो?
काँठे भाकामा गाएका गीत अनगिन्ती छन्। यतिउति गाइयो भनेर लेखाजोखा छैन। मेरा गीतका १४२ क्यासेट छन्। ‘हाक्पारे’ र ‘देउडा’ गीतचाहिँ गाएको छैन। प्रेममा आधारित दोहोरी गीत नै बढी गाएँ। पाँच हजारभन्दा बढी गाइसकेँ। असारे गीतचाहिँ अरूभन्दा कमै छन्। मैले गाएका ‘असारे भाका’, ‘जेठी कान्छी’ गीत युट्युबमा हेर्न सकिन्छ। गीतभन्दा बढी असारे भाकामा दोहोरी गाएको छु।
असारे गीत भन्या के हो?
यो घाँसे गीतजस्तै हो। पूर्वतिर यसलाई ‘हाक्पारे’ भनिन्छ। पश्चिममा देउडा शैलीमा गाइन्छ। उपत्यकामा काँठे गीत र घाँसे गीत पनि भन्छन्। घाँसे गीतलाई पहिले ‘रसिया’ भनिन्थ्यो। गाउँका दिदीबहिनी, आमाबाले गोठालो जाँदा घाँस, दाउरा काट्दा मनका भावना पोखेर गाइने गीतलाई घाँसे गीत भनिएको हो। असारमा रोपाइँ गर्दा मात्र गाइने भएकाले यसलाई असारे गीत भनियो। यो असारमा मात्रै गाइन्छ। यो पनि घाँसे गीतकै भावमा गाइन्छ।
ठूलो फाँटमा ५०/६० हलगोरु जोतेर, दुई तीन सय रोपारसहित बेठी गीतको लयमा बाजा बजाएर रोपाइँ गर्ने भएकाले असारेलाई ‘असारे बेठी गीत’ पनि भनिन्छ।
असारे गीत पूर्वदेखि पश्चिमसम्म र भारतको दार्जलिङतिर पनि गाइन्छ। ठाउँ र भूगोलअनुसार असारे गीत गाउने शैली र भाका केही फरक छ। यो तालमा गाइन्छ। त्यसमा १६ अक्षर देखि १९ अक्षरसम्म प्रयोग गर्न सकिन्छ। दुःखसुख, ठट्यौली, बिलौनालगायत भाव यसमा हुन्छ।
घाँसे गीत र असारे गीत उस्तै सुनिन्छ नि! यी दुईमा फरक के छ?
असारे गीत तालमा गाइन्छ। घाँसे गीत ठाडो भाकामा गाइन्छ। असारे गीत असारमा मात्र गाइन्छ। घाँसे गीत सदाबहार हो। बाह्रै महिना गाइन्छ।
पछिल्लो समय असारे गीत कम सुनिन थालेका छन्, कारण के होला?
अहिले असारे भाका गुञ्जिनै छाडेका छन्। घाँसे गीतलाई असारे भनेर गाउनेचाहिँ छन्। गाउँतिरका बूढापाकामात्र हुन् असारे गीत गाउने। उनीहरू गाउन नसक्ने भइसके। अहिलेका पुस्तालाई यस्ता गीत गाउनै आउँदैन। पुराना गीतका छेउटुप्पा चोरेर आफ्ना बनाउनेमात्र छन्। सिक्नभन्दा चोर्नतिर लागेका छन्।
अहिलेको परिवेश, समय, मान्छेको पीडा, दुःखसुख दर्शाउने असारे गीत बाहिर आउन सकेको छैन। अहिलेको पुस्ता सहर केन्द्रित भयो। गाउँघरमा हुने मेलापाल, जात्राजस्ता कार्यक्रमा सहभागी नभएपछि मौलिकपन लोप हुने भयो नि!
काँठतिर गाइने गीतमा कुनकुन पर्छन्?
घाँसे गीत, चुड्का गीत, झ्याउरे गीत। तामाङ सेलो पनि काँठतिर गाइने गीतमा पर्छ।
‘काँठे किङ’का रूपमा चिनिँदा कस्तो लाग्छ?
खुसी लाग्छ। ‘काँठे’ भन्नेबित्तिकै कतिपयले हेलाँ गरेको शब्द भनी बुझ्छन्। तर त्यस्तो होइन। काँठ क्षेत्रमा गाइने भाका गाउने मान्छेका रूपमा चिनिँदा सन्तोक लाग्छ।
काँठे भाकामा गीत गाउन कठिन छ भन्छन् नि!
काँठे भाका गाउन पूर्वेलीहरूले अलि सहज मान्छन्। तर पश्चिमेलीलाई अलि गाह्रो पर्छ। किनकि पश्चिमेलीले लेग्रो तानेर सुस्तरी गाउँछन्। पूर्वतिर अलि छिटो गाइन्छ। पूर्वी नेपालका विभिन्न जिल्लामा काँठे गीतको प्रभाव छ। पश्चिमतिर पनि काँठे फैलिसकेको छ। तर गीतमा नयाँपन आउन सकेको छैन। पुराना गीतलाई नै तोडमोड गरेर आफ्नो बनाएका छन्। गीतसम्बन्धी राग सिकेर गाउँदैनन्।
काँठे गीत कहिलेदेखि गाउन थाल्नुभएको हो?
सात वर्षदेखि गीत गाउन थालेको हुँ भन्दा नि हुन्छ। काँठमा जन्मिएकाले हाम्रोतिर घाँसे गीत खूब चल्थ्यो। घरमा हजुरबा, बा र दाइले घाँसे गीत गाउनुहुन्थ्यो। उहाँहरूले गाएको देखेर रमाइलो लाग्थ्यो। छेउमा बसेर म पनि उनीहरूका स्वरमा स्वर मिसाउँथे। मैले पनि फर्काउन जान्ने कसरी होला भनेर रहर लाग्थ्यो। उहाँहरूले सिकाउनुभयो।
काँठे गीत नै किन रोज्नुभएको?
गाउन सजिलो भएकाले यसलाई नै रोजेँ। पहिले पनि काँठ क्षेत्रको गीत गाइएका छन् तर लोकगीतमा समावेश भएको छ। काँठ भनेर छुट्याइएको थिएन। यसलाई संरक्षण गर्नुपर्छ भन्ने लाग्यो। त्यसैले यही गीतलाई निरन्तरता दिइरहेको हुँ।
गीतसंगीतमै लाग्ने सोच कसरी पलायो?
गीतसंगीत भनेको के हो भन्ने कुरा थाहा नहुँदादेखि गीत गाउन थालेको हुँ। मेलापात, रोपाइँ घाँसपात गर्न जाँदा दाइ, दिदी र आमाले गाउँदा स्वर मिसाउने र बिस्तारै उनीहरू गाउँदा जवाफ दिन सिक्दै गएँ। २०२९ सालमा रेडियो नेपालमा मेरो स्वर परीक्षण गरियो। त्यतिखेर २२ वर्षको थिएँ। त्यसबेला ‘पहिलो चरण के गीत गाउने, सरस्वती मुखैमा नआउने’ गाएको थिएँ। पास भएँ। त्यही दिन गीत रेकर्ड गरियो। पहिलो दिनमै भ्वाइस टेस्ट र गीत रेकर्ड गर्न पाउँदा निकै हौसला बढ्यो। चर्चित संगीतकर्मीसँग पनि काम गर्ने मौका पाएँ।
उहिले र अहिलेको संगीतमा के फरक पाउनुहुन्छ?
धेरै फरक छ नि! पहिलेका गीत मौलिक थिए। अहिले हिन्दी, अंग्रेजीलगायत भाषा मिसाएर रिमिक्स गीत आउन थालेका छन्। ठेट नेपाली भाषाको प्रयोग भएको छैन। अहिलेको गीतमा मौलिकता झल्किँदैन। नयाँ पुस्ताको झुकाव पश्चिमा गीतमा बढी छ। पहिले एउटा गीत गाउन दुई/तीन महिनाअघिदेखि अभ्यास गर्थ्यौँ। अनि एकैछिनमा रेकर्ड गरिन्थ्यो। अहिले शब्दशब्द गरेर एउटा गीत रेकर्ड गर्छन्।
अहिलेको गीतसंगीतबारे के भन्नुहुन्छ?
उहिल्यै गीतसंगीत सिकेर निपुण भएर यसमा लाग्थे। अहिले हार्मोनियममा केही लय आउनासाथ आफूलाई संगीतकार ठान्छन्। गीतसंगीत अहिलेको समयमा व्यापारिक थलो भएको छ। युट्युबमा भ्युज बढाउनमात्र संगीत प्रयोग गरिएको छ। मौलिकता र संस्कार जोगाउने खालका गीत छैनन्। सबैलाई नराम्रो भन्न मिल्दैन। सयमा पाँच प्रतिशतमात्रै राम्रा छन्।
गीतसंगीतमा लागेर के पाएजस्तो लाग्छ?
सबैभन्दा धेरै त दर्शकको माया पाएँ। ‘काँठे किङ’ को उपनाम पाएँ। गीतसंगीतबाट सम्पत्ति जोड्न नसके पनि दर्शकश्रोताको माया मनग्गे पाएको छु। मेरा लागि त्यही नै अमूल्य छ।