इक्यान अध्यक्षमा विष्णुहरि पाण्डेको उम्मेदवारी घोषणा

हिमाल प्रेस ११ असार २०८० १४:०५
548
SHARES
इक्यान अध्यक्षमा विष्णुहरि पाण्डेको उम्मेदवारी घोषणा

काठमाडौँ– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन्। शैक्षिक परामर्श व्यवसायीको छाता संगठन इक्यानको आगामी असार ३० गते काठमाडौँमा सम्पन्न हुने अधिवेशनमा पाण्डेले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै पाण्डेले परामर्श व्यवसायमा देखिएका समस्या समाधान गर्न र सरकारलाई यो व्यवसायप्रति जवाफदेही बनाउन पहल गर्न आफू नेतृत्वमा जान चाहेको बताए। ‘अहिले परामर्श व्यवसायलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता छ। नेपालमा परामर्श क्षेत्रमा विदेशी लगानी र शाखा विस्तारका विषयमा विवाद छन्। मैले परामर्श व्यवसायीले आफ्नो शाखा विस्तार गर्न पाउनुपर्ने, परामर्श व्यवसायमा विदेशी लगानी हुन नुहने विषय निरन्तर उठाइरहेको छु,’ उनले भने।

शैक्षिक परामर्श निर्देशिका र नियमावली जारी गर्ने विषयमा सरकारसँग छलफल गर्ने, परामर्श व्यवसायमा धरौटीको व्यवस्था गर्न नहुनेलगायत विषयलाई एउटा निष्कर्षमा पुर्‍याउन पहल गर्ने योजनासहित अध्यक्षमा पाण्डेले उम्मेदवारी घोषणा गरेका छन्।

पाण्डे रोयल एजुकेसन फाउन्डेसनका सञ्चालक हुन्। उनले यसअघि पनि एक कार्यकाल इक्यानको नेतृत्व सम्हालिसकेका छन्। पाण्डेले आफूले सहमतिमै कमिटि बनाउने प्रयास गर्ने र सहमति नभए निर्वाचनबाट नेतृत्व चयन हुने बताए। ‘हामीले सहमतिमा नै नयाँ कार्यसमिति बनाउने पहल गरेका छौँ। मेरो अध्यक्षतामा सहमति जुटाउन कसैलाई पनि समस्या हुन्छजस्तो लाग्दैन। सहमति भएन भने निर्वाचनमा जानुपर्ने हुन्छ,’ उनले भने।

इक्यानमा निर्वाचन नजिकिदै गर्दा आ-आफ्नो प्यानल बनाएर लविङ गरिरहेका उम्मेदवारले सहमतिमा कार्यसमिति चयन हुन सक्ने भन्दै प्यानल घोषणा गरेका छैनन्।

प्रकाशित: ११ असार २०८० १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =