मान्छे र प्रकृति

श्रवण शर्मा १२ असार २०८० २०:४८
608
SHARES
मान्छे र प्रकृति

मानिस उद्विकासका अनेक चरणमा करोडौँ वर्षसम्म अन्य प्राणी-वनस्पति सँगसँगै सहसम्बन्ध, सहअस्तित्त्व र सहकार्य गर्दै आजको अवस्थामा आइपुगेको हो वा कार्ल मार्क्सको साम्यवादी वा पुँजीवादीहरूको पुँजीवादी पाठशालामा आयोजना गरिने पट्यारलाग्दा छलफलबाट डिजाइन र उत्पादन गरिएको एक वस्तु हो? मान्छे पनि प्रकृतिका अन्य प्राणीजस्तै एक प्राकृतिक तत्त्त्व मात्र हो, फरक के छ भने उद्विकासका क्रममा उचित वातावरण र पोषक खाद्य तत्त्त्व प्राप्त हुनाले यसको दिमागी विकासक्रम अन्य प्राणीको भन्दा छिटो हुन पुगेको हो। सायद अबको करोड वर्षपछि धर्तीमा प्राणीहरू बाँचिरहेका अवस्थामा आज हामीले भनेका जनावरहरू हाम्रो आजको स्थान र हाम्रा सन्ततिहरू जनावरका स्थानमा पुग्न पनि त सक्छन् नि?

बस्न छाप्रो र नदी तर्न डुंगा बनाउन सिकेपछि मान्छेले आफ्नो सुख र आनन्द लिन र भविष्यका लागि सञ्चय वा संग्रह गर्न थाल्यो। हजारौँ वर्ष जीवन बाँच्नका लागि प्रयोग गरिएको प्रकृति वा धर्ती मानव सभ्यताको विकासक्रमका बीसौँ र एक्काइसौँ गरी दुई शताब्दीमा सबैभन्दा ज्यादा दुरूपयोग गरियो। यसको सतहमा देखिने परिणाम जंगल मासियो, हरिया भूखण्ड उजाड भए, उजाड स्थानमा बस्न नसकेर मान्छेहरू बसाइँ सरे। हाम्रा बाबुआमा-बाजेबजुहरूले दखेका जनावर, प्रयोग गरेका वनस्पति, चराचरुंगी, माछा वा अन्य जलचरका कतिपय प्रजाति कम हुँदैहुँदै अचेल त देखिनै छाडे। सोच्ने क्षमतालाइ तिलाञ्जली दिएका हामी मान्छेहरूले यी सबै प्राणी र वनस्पतिहरू हाम्रा लागि जमिन, पानी र आकाश खाली गरिदिँदैछन्, हाम्रा लागि यो धर्ती फराक हुँदैछ भन्ने ठान्यौँ।

सतहमा देखिएका यी परिघटनाले मानव जीवनका आन्तरिक र बाह्य अवयवमा गम्भीर प्रभाव पारेका छन्। मानिसका लागि खाद्य पदार्थ सकिँदै गएका छन्, पानी पाउन छाडिएको छ। चराचर जगत‌्मा प्राणी वनस्पतिबीचको अन्तरसम्बन्ध कायम राखेका तत्त्वहरूको विलुप्तताले जैविक अन्तरसम्बन्धमा खलल पुगेको छ। जैविक अन्तरसम्बन्धमा खलल पुग्नाले मानिसले पर्यावरणबाट प्राप्त गरिरहेका आफ्नो शरीर र मनोविज्ञान चुस्त राख्ने तत्त्त्व पाउन छाड्दै गएको छ।

आफ्नै शरीर, परिवारका सदस्यहरूको स्वास्थ्य अवस्था, वृद्धावस्थामा लाग्ने रोगबाट आफ्नै बालक सन्तान पीडित हुन थालेपछि बल्ल मान्छेमा पर्यावरण चुनौतीको बोध त हुन थालेको छ। तर प्रकृतिसँगको अन्तरसम्बन्ध पुनर्जीवित गर्ने ज्ञानचक्षु खुलिसकेको छैन। प्रकृतिमा आएको विनाशक परिवर्तनको भोग मानिस स्वयंले गर्नैपर्नेछ।

आज त हामी मान्छेहरू मिनेटमिनेटमा मरिरहेको वा मर्न सक्ने मनोवैज्ञानिक त्रासबाट आत्तिइरहेका छौँ। मिनेटमिनेटमा हामी आफ्नो सास आफैँ जाँचिरहेका छौँ। करङको बाहिरी पत्र दुखे पनि मुटुभन्दा बाहिरको करङ र मसल छाम्छौँ हार्ट अट्याकको डरले। पिसाब कम भयो वा एकछिन भएन भने किड्नी बिग्रियो भनेर आत्तिन्छौँ। खोकी लाग्यो वा घरको भर्‍याङ चढ्दा स्वाँ-स्वाँ भयो भने दम बढ्यो वा फोक्सोमा क्यान्सर भएको हो कि भन्ने आशंका गर्छौँ। वाकवाकी लाग्नु, पहेँलो पिसाब आउनुलाई कलेजो बिग्रियो कि के हो, हँ? भन्छौँ हामी।

यी सारा आन्तरिक अंग मानव निर्मित होइनन्, प्राकृतिक तत्त्व हुन्। प्रकृतिले उद्विकासका क्रममा मानिसका शरीरमा यी सबै आन्तरिक अंगहरूको बीजारोपणका साथै तिनीहरूको सञ्चालन प्रक्रिया र पद्धति स्थापित गरिदिएको हो। जुन चिजहरू मान्छे बाँच्नका लागि सक्रिय हुनैपर्दछ। तर मुटु चाहिँ आवश्यकभन्दा बढी सक्रिय भयो भने नै हार्ट अट्याक हुने हो। कृषि र दुग्ध पदार्थमा विभिन्न रासायनिक पदार्थको प्रयोग जस्ता बाह्य प्रकृतिमा पारिएको अप्राकृतिक तत्त्वहरूको प्रभाव यी आन्तरिक अंगहरूमा पनि पर्छ नै। बुझ्नुपर्ने कुरा यसो पो हो।

तर प्रकृतिसँगको मान्छेको सम्यक् सम्बन्ध कायम राख्दै आफ्नो मनोवैज्ञानिक अवस्था ठिक राख्नुभन्दा निद्राको औषधि सेवन गर्नु डिप्रेसन र एङजाइटीका लागि डोपिन प्रयोग गर्नु श्रेयस्कर ठान्न थालेका छन् मान्छेहरू। १५ हजार मानिसमा गरिएको एक अध्ययनले जंगलवाक् र प्राकृतिक चिन्तन पद्धतिले मानिसको एङजाइटी र डिप्रेसन कम गरेको देखाएका छन्। तर नेपालमा जुन चिजलाई प्रकृति भनिन्छ, रुख, खाली ठाउँ, वन वा चउर ती सबै स्मपूर्णमा मासिएको छ। जति बाँकी छन् तिनलाई मास्न लोकतान्त्रिक भनिएको सरकार क्रियाशील देखिन्छ।

त्रासैत्रासमा बाँचेर पनि मान्छेले आफ्ना ढोँग छोड्न सकेन। नक्कली जीवनशैली अपर्याप्त अक्सिजन, अप्राकृतिक खाना, नाटकीय सामाजिक सम्बन्ध, खण्डित परिवार, तनावपूर्ण काम, अहोरात्र सम्पन्नताको खोजी, आफ्नो मनोविज्ञानमा अपराध तत्त्वको निसंकोच प्रवेशले शरीर स्वस्थ देखिए पनि मान्छेलाई भित्रभित्रै खाइरहेको छ, चपाइरहेको छ। प्राण गइनसकेकाले मान्छे हाटबजार, कार्यालय, मन्दिर, मस्जिद, गिर्जाघर वा गुरु नानकतिर धाइरहेको भेटिन्छ। यस कोटिमा हामी सबै छौँ। म, तपाईँ, ऊ, उनी, उहाँ, कमरेड र अन्य सबैसबै।

सामाजिक संगठन, समुदाय वा व्यक्ति सभ्यताको विकास चरणमा को र किन महत्त्वपूर्ण थियो भन्ने प्रश्न मानिसका दिमागमा फनफनी घुमिरहेको छ। टी वाल्टर वालब्यांकले विकासक्रममा व्यक्ति वा समाज को प्रमुख हो भन्ने सवाल नै प्रमुख प्रश्न हो भनेका छन्।

प्रकृति, पर्यावरण वा धर्तीका नैसर्गिक स्वास्थ्यमा आएको समस्याको दोषीहरू खोज्ने हो भने पनि समाज, संगठन वा व्यक्ति कसलाई दोष दिने? आज मानिस समाजका लागि त्यसमा पनि खास सांस्कृतिक समूह वा एउटा सानो सामूहिक एकाइको राजनीतिक अधिकारको कुरा गर्दैछन्। समाजको वस्तुगत अवस्थाको विकास र राजनीतिको वकालत पनि सँगसँगै गरिरहेका छन्। म यी अवधारणाहरूको आलोचना गर्न त चाहन्नँ तर त्यसमा प्रस्ट हुन पाउने आफ्नो सूचनाको हकको भने सम्मानपूर्वक सम्बोधन चाहन्छु।

समाज त भौतिक तत्त्व होइन। समाज उपभोक्ता होइन। समाजले खाँदैन। समाजले लुगा लगाउँदैन। तपाईँले कतै देख्नुभएको छ, एउटै सिरक ओडेर समाज सुतेको? अदृश्य तत्त्व वा सामूहिक मनोभावनाको शाब्दिक अभिव्यक्ति न हो समाज भनेको। त्यसले रूख काट्दैन। पानी धमिल्याउँदैन। नदीमा प्लास्टिक हाल्दैन। घरको फोहर बग्ने ढल बागमती-विष्णुमतीमा मिसाउँदैन। बाटामा फोहोर फ्याँक्दैन। हानिकारक रसायन प्रयोग गर्दैन। समाजले डिजेल, पेट्रोल त बाल्दैन, मान्छेले बाल्ने हुन्। यस कोणबाट हेर्दा व्यक्ति वा मान्छे नै यस प्रकृतिको प्रतिकूल काम गरिरहेका छन्।

ती प्रकृति प्रतिकूल काम हुन्, जंगल फाँड्नु, भौतिक विकासलाई जंगलतिर सार्नु, रूख काट्नु, घाँसे मैदान मास्नु, बुट्यानहरू फाँडेर त्यहाँ विकास नामको विनाश गर्नु। सिमसार क्षेत्र, पानीका परम्परागत प्राकृतिक स्रोत साना खोलाखोल्सा मास्नु वा बहाव परिवर्तन गरिदिनु, जंगलसहितको पहाड भत्काएर सम्याउनु र त्यहाँ घडेरी प्लटिङ गर्नु, नदीहरूको प्राकृतिक स्वरूप र धार परिवर्तन गर्नु यी केही नमुना विनाश हुन्, जसलाई नेपालको राजनीतिक प्रशासनले विकास भनिदिएको छ। यी विनाशहरू मान्छेका लागि गरिएका हुन्। यसमा समाज दोषी छैन। संलग्न मानिसहरू र राज्य प्रशासन दोषी छ। गलत कार्यको दोष समाज र दललाई दिनु भनेको त्यो दोषबाट उम्कने वातावरण पनि तयार पारिदिनु हो। त्यसकारण जुनसुकै गलत कार्यमा पनि गलत गर्ने व्यक्ति वा व्यक्तिहरूको समूह जिम्मेवार हुनुपर्छ।

संरक्षण क्षेत्रभित्र सडक पिच गर्नु, संरक्षण क्षेत्रमा होटल-लजहरू स्थापना गर्ने होड चल्नु र त्यसका लागि सरकारी अनुमति प्रदान गर्नु पनि मान्छेले गरेका दुष्कर्म हुन्। यी दुष्कर्महरूले प्रकृतिको नैसर्गिक नियममाथि वाधा पुर्‍याइरहेका छन्। जब प्रकृतिको नियमित प्रक्रियामा बाधा उत्पन्न हुन जान्छ, तब प्रकृति अनियमित प्रतिक्रिया जनाउन थाल्छ। सांसारिक तापमानमा आएको वृद्धि, मौसममा आएको परिवर्तन, अन्न उत्पादन घट्नु जस्ता कुराहरू मान्छेले प्रकृतिमाथि गरेको दुरूपयोगको परिणाम हो। यस माटोमा उद्विकास भएका रैथाने प्रजातिका वनस्पति र जनावरहरू लोप हुँदै गएपछि यही माटोमा हजारौँ वर्ष जीवन भोगेको मानव समुदाय पनि समस्यामा पर्छ किनकि उसले ती लोप भएको प्रजातिहरूसँग आफ्नो अन्तरसम्बन्ध विकसित गरेको हुन्छ।

रूख मासिनाले अक्सिजन उत्पादन कम भयो। रूख नभएपछि कार्बन सञ्चिति गर्ने जंगल भएन र वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढ्यो। वायुमण्डलमा ताप उत्सर्जन गर्ने अन्य ग्यासहरूको मात्रा बाक्लो हुन पुग्यो जसले संसारमा तापक्रम वृद्धि गरायो। पृथ्वी नामको यस ग्रहमा प्राणी र वनस्पतिहरू तापक्रम बढोत्तरीको समस्यासँग जुधिरहेका छौँ।

प्रकृति र यसका मौलिक नियमहरूमाथि मान्छेहरूले गर्ने घातक आक्रमणलाई निस्तेज गर्नुपर्छ भन्ने मूल्यबोधका कारण इकोसाइड कानुन निर्माणमा छलफल थालिएको छ। प्रथम चरणमा अन्तर्राष्ट्रिय कानुनको आवश्यकता बोध गरी संयुक्त राष्ट्रसंघले यो कानुन तयार पार्नुपर्छ भन्ने मत बढिरहेको छ। मानवअधिकार उल्लंघनमा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले जसरी काम गर्छ, त्यही अनुपातमा काम गर्ने गरी प्रकृति नाश गर्नेहरूमाथि नियन्त्रणका लागि इकोसाइड कानुनको अवधारणा ल्याइएको हो। अझ यसलाई अन्तर्राष्ट्रिय फौजदारी न्यायालयको क्षेत्राधिकारमा राख्नुपर्ने कुरा उठिरहेको छ।

हामी नेपाली एनिमिस्ट अर्थात् जीवात्मवादी हौँ। हरेक वस्तु वा पदार्थमा आत्मा हुन्छ भन्ने हाम्रो मान्यता हो। हजारौँ वर्षको कठोर प्रयत्नद्वारा स्थापित हाम्रा मौलिक सांस्कृतिक मान्यताहरू राजनीति र अर्थनीतिको चेपुवामा परेर समाजवाद, पुँजीवाद, उपभोक्तावाद र अनभिज्ञताका कारण तिरस्कृत हुँदैछन्। आफ्नै इहलीलाको जिजीविषाका लागि प्रकृतिको दुरूपयोग र संहारक गतिविधिहरू नै विकास हुन् भन्ने भ्रम व्याप्त छ।

प्रस्तावित डाइभर्सनका कारण कालीगण्डकी बेसिनमा पर्न सक्ने वातावरणीय क्षयसम्बन्धी मेरो लेखमाथि आपत्ति गर्ने केही युवा व्यक्तित्वहरूको भनाइ थियो, ‘पानी प्रयोग गरेर विकास गर्न नदिनेहरू विकास विरोधी हुन्, भारतीय दलाल हुन्, माछा मर्छन् भनेर विकास रोक्न सकिँदैन।’ जीवनलाई आफ्नै पुस्ता त्यसको पनि लाऊँलाऊँखाऊँखाऊँको वय मात्र हो भन्ने अल्पज्ञ ज्ञानको उपज थियो उहाँहरूको यो भनाइ। वास्तवमा तथाकथित राजनीतिको विग्रहकारी भाष्यले स्थापित गरेको मनोविज्ञानको क्षणिक प्रतिक्रिया थियो। सत्यसम्म वा सत्य परख गर्ने ज्ञानचक्षुलाई उघारेर हेर्नु कठिन पनि हुन जान्छ भातवादद्वारा प्रभावित मानिसका लागि।

विकास भनेको के हो? विकासको सम्यक् सम्बन्ध कोसँग छ? मान्छे प्राकृतिक तत्त्व हो वा राजनीतिशास्त्रको शास्त्रार्थका क्रममा कोठाभित्र गरिएको एक मनोवैज्ञानिक उत्पादन? नेपालको राजनीति प्रभावित जनसंख्याको ठूलो हिस्साले आफूलाई उद्विकास चरणमा करोडौँ वर्षको अथक प्रयत्न र संघर्षमय जीवन भोगाइका प्राकृतिक प्रक्रियाहरूको जटिल समागमबाट मान्छे उत्पन्न र विकसित हुँदै आएको हो भन्ने बुझ्न खोजिएको पाइँदैन। बरु राजनीतिको वैचारिक शास्त्रार्थका क्रममा उत्पादित वस्तु हौँ भन्ने भान परेको जस्तो लाग्छ।

प्रकृतिमा उपलब्ध समान रसायन वा भौतिक तत्त्वहरूको समष्टि हो कुनै पनि प्राणी वा वनस्पति जीवन। घाम, पानी, धर्ती, हावा, वनस्पति, किराफट्यांग्रा, कमिला यी सबै साझा प्राकृतिक अयवय हुन्। एकले अर्को प्राणी जीवनका लागि योगदान गर्दछन्। धर्तीको खास क्षेत्र, त्यस वरपरिको पर्यावरण, वनस्पति र भौगोलिक बनोट कुनै पनि मानव संस्कृतिको जग निर्माता तत्त्व हुन्। विशेष समाज बन्न विशेष संस्कृति बनेको हुनुपर्दछ। विशेष र अरूभन्दा पृथक भूगोल त्यस वरपरको पर्यावरण र वातावरणीय तत्त्वहरूले भाषा, संस्कृति र जीवन चरित्र निर्धारण गरेको हुन्छ।

जसले जे भनून्, सत्य के हो भने प्रकृतिको अधिक दुरूपयोग गरेर मान्छेका लागि समृद्धि ल्याउने सोच आफ्नै शरीरबाट आफ्नै प्राण शनैशनै खिच्नु बराबर हो। सरकार र पुँजीपतिहरू पर्यावरणीय चक्र परिवर्तनमा तात्त्विक प्रभाव पार्ने काम गरिरहेका छन्। प्राकृतिक स्रोतहरूको अत्यधिक र अल्पकालीन प्रयोगको प्रतिफल भविष्यमा लाखौँ करोडौँ मान्छेको प्राण हरिनु हुन सक्नेछ। संसारका विज्ञहरूले नेपाल नै जलवायु परिवर्तनले ल्याउने विपदबाट बढी प्रभावित हुने आँकलन गरेका छन्। तर गरिँदै आएको राजनीतिले पर्यावरणीय सवाललाई महत्त्व दिन सकेको छैन।

मान्छेले आफूमा अन्तरनिहित बुद्धि प्रयोग गरेर आफ्नो हितमा प्रकृतिको भरपूर प्रयोग गर्‍यो। प्रकृति भन्नाले वन, नदी, ढुंगा, माटो, नदीजन्य पदार्थ आदिको यति प्रयोग गर्‍यो कि स्वयं प्रकृति-धर्ती मानिसबाहेकका अन्य प्राणी र वनस्पतिमाथि ठूलो अन्याय भयो। अब मानिस आफैँमा अन्तरनिहित तर स्वार्थका कारण सुषुप्त रहेको विवेक उजागर गर्नैपर्ने विन्दुमा आइपुगेको छ। आफ्नो विवेक उजागर गरेर आफ्ना कर्महरूमा पुनर्विचार गरेन भने प्रकृतिमा विद्यमान अरू सभ्यता, प्राणी वा वनस्पति लुप्त भएझैँ मानिस पनि त्यसै मार्गमा उन्मुख हुने हो। यो दार्शनिक वा धार्मिक कुरा होइन। विज्ञानले प्रमाणित गर्दै गएको छ।

त्यसैले संसारमा प्रकृतिको अधिकार (द राइट्स अफ नेचर) को नयाँ राजनीतिक वैचारिकीमा बहस पैरवी भइरहेको छ। प्रकृतिको अधिकारले प्रकृतिमा भएका सबै जीव, निर्जीव तत्त्वको प्राकृतिक बासस्थानलाई सुरक्षित गर्नुपर्छ भन्छ। नेपालमै पनि गैँडा, बाघ अदिका लागि वैयक्तिक अधिकार अर्थात् बाँच्न पाउने अधिकार प्रदान गरिएको छ।

बाँच्न पाउने उनीहरूको अधिकार नेपाल कानुनले निर्धारण गरेको छ। तर बासस्थानको सुरक्षा बिना ती प्राणी वा वनस्पतिहरू बाँच्छन् कसरी भन्ने प्रश्न उठाउनुहुन्छ वातावरण कानुनविद् अधिवक्ता रामकुमार आचार्य। आचार्यको जोड छ- यी तत्त्वलाई दिइएको व्यक्तिसरहको अधिकार कार्यान्वयन हुनका लागि उनीहरूको बासस्थानमाथि मानवीय हस्तक्षेप हुनु हुँदैन, गैँडा, बाघ, हात्ती वा हाब्रेलाई दिएसरह अधिकार धर्ती मातालाई दिनुपर्छ, पर्दैन? यदि यो पृथ्वी सुरक्षित छैन भने हामी मान्छे कसरी सुरक्षित हुन सक्छौँ?

प्रकाशित: १२ असार २०८० २०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast