उदयपुरमा मुसहर र डोम समुदायको घरमै पुगेर गरियो स्वास्थ्य बिमा

हिमाल प्रेस १० असार २०८० ९:००
4
SHARES
उदयपुरमा मुसहर र डोम समुदायको घरमै पुगेर गरियो स्वास्थ्य बिमा

उदयपुर– उदयपुरको कटारी नगरपालिका-४ का विपन्न मुसहर र डोम समुदायलाई उनीहरूको घरमै पुगेर निःशुल्क स्वास्थ्य बिमा गरिएको छ।

शनिबारसम्ममा वडाका १९ मुसहर र ११ डोम समुदायका विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको कटारी अस्पतालका स्वास्थ्य बिमाको सहजीकरण गर्दै आएका कर्ण राईले बताए।

सरकारको स्वास्थ्य बिमा बोर्डअन्तर्गत विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिएर सहज र सहुलियत रूपमा उपचारका पहुँच पुर्‍याउने उद्देश्य रहेको छ।

मुसहर र डोम समुदायले यसका बारेमा जानकारी नपाउँदा सेवा लिन नसकेकाले घरमै गएर जानकारीसहित बिमा गरिदिएको उनले जानकारी दिए।

‘उपचार गर्ने पैसा मुसहर र डोमसँग हुँदैन, यो सरकारी सेवाको पहुँचमा पुर्‍याए कम्तीमा वर्षमा १ लाखसम्मको उपचार सरकारले गरिदिन्छ,’ सहजकर्ता राईले भने, ‘उपचारका लागि गुहार मागि हिँड्छन् यति गरेपछि सरकारले उपचार सेवा दिन्छ।’

बिमाबारे कुनै पनि जानकारी नभएकाले बिरामी हुँदा घरमै बस्ने गरेको बताउँदै कटारी-४ मुसहर टोलका भरत मुसहरले अब भने बिरामी परे अस्पताल जाने बताए।

‘हामीलाई केही थाहा नै थिएन, अस्पताल जान पैसा हुँदैन थियो, निःशुल्क उपचार पनि पाइने बल्ल थाहा भयो,’ उनले भने।

शनिबार ६ परिवारका सदस्यसहितको स्वास्थ्य बिमा गराए।

७ परिवारका सदस्य बुद्धि मुसहरले पनि बल्ल सेवाबारे थाहा पाएको जनाउँदै आगामी दिनमा उपचारका लागि अस्पताल जाने बताए।

६ परिवारका स्वास्थ्य बिमा गरिदिएपछि भलवा मुसहरले अस्पताल जाने बाटो खुलेको बताए। ‘पैसाबिना पनि उपचार हुने रहेछ बल्ल थाहा भयो,’ उनले भने।

वडाध्यक्ष तथा कटारी अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका भुपेश तामाङले वडामा रहेका लगभग ४०-५० घर विपन्न परिवारका मुसहर, डोम समुदायको स्वास्थ्य बिमा गराइरहेको जनाउँदै आगामी वर्ष बजेट नै छुट्याएर सबैलाई बिमाको पहुँचमा पुर्‍याउने बताए।

वडाका बिमा दर्ता सहयोगी सानुमाया तामाङले स्वास्थ्य बिमा बोर्डका मापदण्डअनुसार उनीहरूको बिमा गराएका हुन्।

स्वास्थ्य बिमा बोर्डकाअनुसार विपन्न, ज्येष्ठ नागरिक, क वर्गको अपांगता भएका, कुष्ठरोग, एचआइभी पोजिटिभ, क्षयरोगलगायतका बिरामीलाई निःशुल्क एकपटक बिमा गरेपछि सधैंका लागि बर्सेनि १ लाख बराबरको उपचार सेवा निःशुल्क गर्ने गरेको छ।

यस्तै अन्यको हकमा भने प्रतिपरिवार ५ सदस्यका लागि वर्षको ३ हजार ५ सय र थप परिवार सदस्य ७ सयले बिमा गरिदिए थप १ लाखमा २० हजार बराबरको उपचार सेवा निःशुल्क पाइने छ।

सरकारले तोकेका सरकारी अस्पतालले स्वास्थ्य बिमा कार्ड देखाएपछि निःशुल्क उपचार गर्ने गरेको छ। बिमाबारे जानकारी नभएकालाई घरमै पुगेर बिमा गरिदिए अप्ठ्यारोमा परेका बेला स्थानीय निकायसम्म सहयोग माग्न आउनेलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले बिमा गरिदिएको वडाध्यक्ष तामाङले बताए।

कटारीमा बिमा गराएकाले कटारी अस्पताल र यहाँबाट सिफारिस गरेका अस्पतालमा निःशुल्क १ लाखसम्मको उपचार सेवा पाउनेछन्।

प्रकाशित: १० असार २०८० ९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast