ताप्लेजुङ- ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक सातादेखि मोबाइल सेवा अवरुद्ध भएको छ। मोबाइल सेवा अवरुद्ध हुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ। गत साता गएको बाढीले फक्ताङ्लुङ गाउँपालिका–६ मुरिङला टावर अवरुद्ध भएसँगै गाउँपालिकाको आधा क्षेत्र सम्पर्ककविहीन बनेको छ।
गाउँपालिका केन्द्र तापेथोक, साघु, फेम्बु, लेलेप हेल्लोकलगायत क्षेत्रमा मोबाइल नेटवर्कले काम नगर्दा सम्पर्कविहीन भएको छ। मोबाइल सेवा बन्द हुँदा सूचना आदानप्रदान ठप्प बनेको फक्ताङ्लुङ गाउँपालिका–६ का रोशन लिम्बूले बताए। ‘अहिले बाढीपहिरो गइरहेको छ। आफ्ना आफन्तलाई फोन गरौँ भने पनि नेटवर्क छैन,’ उनले भने।
गाउँपालिकाको कार्यालयमा समेत टावर अवरुद्ध भएपछि सूचना आदनप्रदान गर्न कठिन भएको उनको स्थानीय दिलनकुमार पताङवाले बताए। ‘चार दिन भइसक्यो।गाउँपालिका सञ्चारविहीन भएको छ,’ उनले भने, ‘सूचना आदानप्रदान हुन नसक्दा गाउँपालिकाको सेवा प्रवाहमा पनि सास्ती भएको छ।’ ताप्लेजुङमा एक सातायता निरन्तर वर्षा भइरहेको छ। एक सातादेखि घाम लागेको छैन। बाढीपहिरोले कहाँ, कति क्षति भएको?, कहाँ जोखिम बस्ती छ?, सूचना पाउन पनि समस्या भइरहेको छ।
फक्ताङलुङ गाउँपालिकामा रहेकोबाहेक अरु सबै टावर सञ्चालनमा रहेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए। ताप्लेजुङका टावर सबै सञ्चालनमा छन्। फक्ताङलुङ गाउँपालिकाको मुरिङलामा रहेको टावरमा समस्या भएको छ,’ उनले भने।
टावरमा के समस्या आएको हो त्यसको अध्ययन गर्न नेपाल दूरसञ्चार कार्यालय इलामबाट प्राविधिक टोली आएर निरीक्षण गरेपछि मात्रै थाहा हुने उनको भनाइ छ। सञ्चार सेवा ठप्प हुँदा गाउँपालिकाको कार्यसम्पादनमा कठिनाइ भएको गाउँपालिकाले बताएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट विनियोजनको काम भइरहेको समयमा टेलिफोन टावर नहुँदा समुदायको सल्लाह सुझाव लिन सकिएको छैन। रासस