अर्काे युद्धको संघारमा रुस : कसरी आइपुग्यो नयाँ संकट?

हिमाल प्रेस ९ असार २०८० १७:२२
106
SHARES
अर्काे युद्धको संघारमा रुस : कसरी आइपुग्यो नयाँ संकट? रुस्तोभ सहरमा शनिबार देखिएका वाग्नर समूहका सैनिक।

काठमाडौँ- रूसी राष्ट्रपति भ्लादिमिर पुटिन एकाएक नयाँ संकटमा फसेका छन्। देखा परेको संकट हो, युक्रेन युद्धमा सघाइरहेको वाग्नर समूहसँग नै सम्भावित युद्ध। पुटिनले शनिबार सैन्य समूह वाग्नरलाई नष्ट गर्ने बताएका छन्। वाग्नरका प्रमुख येभ्गेनी प्रिगोझिनले रूसी सैन्य नेतृत्वलाई हटाउने घोषणा गरेसँगै पुटिन आक्रामक देखिएका हुन्।

वाग्नरले रूसको दक्षिणी सहर रूस्तोभ अब आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ। रूस्ताेभ रूसी सेनाकाे दक्षिणी कमाण्ड भएकाे सहर हाे। फेरि वाग्नरको यस्तो दाबीको संकेत हो, पुटिन नयाँ खालको घरेलु संकटसामु छन्। फेब्रूअरी, २०२२ मा युक्रेनमाथि हमला सुरू गरेयता रूस फसेको यो सबैभन्दा ठूलो घरेलु संकट हो।

वाग्नरको घोषणालाई पुटिनले रूसमाथिको धोकाका रूपमा अथ्र्याएका छन्। शनिबार टेलिभिजनमार्फत सम्बोधन गरेका पुटिनले वाग्नरको उच्च महत्वाकांक्षाले युद्धको स्थिति उत्पन्न भएको बताए।

‘रूस र रूसी नागरिकका लागि यो धोका हो। हामी हाम्रो मातृभूमिको सुरक्षाका लागि जस्तोसुकै कदम उठाउन पछि पर्दैनौँ। यो विद्रोहलाई सघाउने जोसुकैलाई पनि छाडिने छैन। वाग्नरको यस्तो आतंकवादलाई कसरी जवाफ दिनुपर्छ, रूसलाई थाहा छ,’ पुटिनले भनेका छन्।

प्रिगोझिनले आफ्नो फौजलाई रोस्तोभ पठाउनुअघि रूसी रक्षामन्त्री सर्गाइ सोइगु र सेना प्रमुख भालेरी गेरासिमोभले आआफ्नो पद त्याग्नुपर्ने बताएका थिए। यी दुईले युक्रेन युद्धमा खराब नेतृत्व गरेको प्रिगोझिनको आरोप थियो।

सोइगु र गेरासिमोभले पद नत्यागे आफ्ना २५ हजार सैनिकले उनीहरूलाई हटाउने र न्याय स्थािपत गर्ने प्रिगोझिनको घोषणा थियो। प्रिगोझिनले शुक्रबार मात्र रूसी फौजले वाग्नर समूहमाथि हवाइ आक्रमण गरेको आरोप लगाएका थिए। त्यस आक्रमणमा परेर आफ्ना कयौँ सैनिकको ज्यान गएको प्रिगोझिनको दाबी थियो।

आखिर रूसी फौज र वाग्नरबीच कसरी द्वन्द्व सुरू भयो? किन सुरू भयो? यी प्रश्नको जवाफ खोज्न केही महिनाअघि फर्कन आवश्यक छ।

प्रिगोझिनले रूसी सैन्य नेतृत्वको आलोचना केही महिनाअघिबाटै गरिरहेका थिए। गत मे महिनामा एक भिडियो सन्देश सार्वजनिक गर्दै प्रिगोझिनले रूसी सैन्य नेतृत्वले युक्रेनमा युद्ध लड्न आफूहरूलाई पर्याप्त सहयोग नगरेको, विशेषगरी सैन्य सामग्री र उपकरण उपलब्ध नगराएको आरोप लगाएका थिए।

त्यस भिडियोमा रगतले लत्तपत्तिएका आफ्ना केही सैनिकअघि उभिएर प्रिगोझिन रूसी रक्षामन्त्री र सैन्यप्रमुखलाई गाली गरिरहेको देखिन्थे। ती दुवै कमजोर ‘लिडर’ रहेको र उनीहरूकै कारण युक्रेन युद्धमा आफ्नो तर्फ धेरै क्षति भइरहेको प्रिगोझिन दाबी गरिरहेका थिए।

‘मेरा यी सैनिक स्वयंमसेवक भएर युक्रेनमा युद्ध लड्न आएका हुन्। तिमीहरूकै खराब नेतृत्वका कारण आज उनीहरूको ज्यान गइरहेको छ। हामी यहाँ युद्ध लडिरहँदा तिमीहरू महँगा रूसी क्लबमा दिन काटिरहेका छौँ। तिमीहरूका सन्तान युद्धमा छैनन्, उनीहरू भनेजस्तो जीवन बिताइरहेका छन्। युट्युब चलाइरहेका छन्। हामी चाहिँ रूसका लागि युद्ध लडिरहेका छौँ, त्यो पनि आवश्यकीय हातहतियार बिना नै। हामीलाई चाहिँदो हतियार नदिनेहरू नर्क जानेछन्,’ भिडियो सन्देशमा प्रिगोझिनले भनेका थिए।

भिडियोमा प्रिगोझिनले पुटिनप्रति पनि रोष व्यक्त गरिरहेका थिए। ‘पुटिन हजुरबुवा हुन्, जो सोचिरहेका छन् युक्रेन युद्ध रूसले जितिरहेको छ,’ आक्रोशित प्रिगोझिन ठूलो स्वरमा कराइरहेका थिए।

प्रिगोझिनको आक्रोश शुक्रबार नयाँ बिन्दूमा पुग्यो। उनले सोइगुको आदेशपछि वाग्नर समूहको क्याम्पमाथि रकेट आक्रमण भएको आरोप लगाए। उनले आरोप मात्र लगाएनन्, सोइगुलाई दण्डित गर्ने घोषणा पनि गरे। प्रिगोझिनको यस्तो घोषणाले रूसी सैन्य नेतृत्व झसंग भयो। त्यसपछि रूसको प्रतिआतंकवाद विभागले प्रिगोझिन र उनको समूहमाथि कारबाहीको घोषणा ग¥यो। सोइगुलाई धम्की दिएकाले प्रिगोझिनविरूद्ध पक्राउ पूर्जी नै जारी भयो। उनीमाथि सैन्य विद्रोहको आरोप पनि लगाइयो।

१६ महिनाअघि सुरू भएको युक्रेन युद्धमा हातेमालो गरेका प्रिगोझिनलाई गिरफ्तार गर्न हरेक उपाय अपनाइने क्रेमलिनको भनाइ छ। उता प्रिगोझिन भने आफूले सैन्य विद्रोह नगरेको बताइरहेका छन्। ‘हामीमाथि आक्रमण गर्न आदेश दिने सैन्य नेतृत्वलाई कारबाही गर्न चाहन्छौँ। हामीले चाहेको बस् त्यति हो। हामीलाई रोक्न खोज्ने हरेकमाथि गोली वर्षाइनेछ,’ प्रिगोझिनले चेतावनी दिएका छन्।

प्रिगोझिनले पुटिनलाई अपदस्थ गर्न नखोजेको पनि प्रस्ट पारेका छन्। ‘हाम्रो कारबाही अभियान रूसी फौजमा न्याय स्थापना गर्नका लागि हो। रूसी फौजमा न्याय स्थापित हुनसाथ पूरा रूसभर न्याय स्थापित हुन्छ,’ प्रिगोझिनको दाबी छ।

उता रूसी रक्षा मन्त्रालयले वाग्नरमाथि हमला नगरिएको दाबी गरेको छ। प्रिगोझिनले लगाएको आरोप र उनी स्वयंममाथि छानबिन गर्ने रूसी प्रतिआतंकवाद समिति एफएसबीको भनाइ छ। एफएसबीले त वाग्नर समूहका सेनालाई नै प्रिगोझिनलाई गिरफ्तार गरेर रूसी सरकारलाई बुझाउन आह्वान् गरेको छ।

रूसी रक्षामन्त्रालयलाई उदृत गर्दै त्यहाँको सरकारी टेलिभिजन च्यानल वानले प्रिगोझिनको दाबी असत्य भएको र प्रिगोझिन आफैँले आक्रमणको हल्ल फिँजाएको दाबी गरिरहेको छ।

जे होस् प्रिगोझिनको कदमले एउटा गम्भीर प्रश्न भने उठेको छ। प्रश्न हो, के रूसमा पुटिनको प्रभाव घटिरहेको छ? विश्लेषकहरू तत्काल पुटिनको प्रभाव नघट्ने बताउँछन्। यद्यपि पुटिन र उनका सहयोगीहरू प्रिगोझिनका कारण तनावमा परेको भने विश्लेषण भइरहेको छ। ‘वाग्नरसँग भिडन्तमा उत्रनु परेपछि रूस दुईतिर ध्यान दिन बाध्य हुनेछ। जसले गर्दा युक्रेनमा प्रयोग भइरहेको सैन्य स्रोत वाग्नरविरूद्ध पनि प्रयोग गर्नुपर्ने हुन्छ,’ इन्टेरन्यासनल इन्स्टिच्युट फर स्टारटेजिक स्टडिजसँग आबद्ध विश्लेषक नाइजल गौल्ड डेभिस भन्छन्।

रूसी सरकार पक्षधर मानिने राजनीतिक विश्लेषक सेर्गाइ मार्कोभले कुनै बेला प्रिगोझिनलाई रूसमा पुटिनपछिको सबैभन्दा लोकप्रिय व्यक्तिका रूपमा चित्रित गरेका थिए। मार्कोभ मात्र होइन धेरैले प्रिगोझिनलाई रूसी सैन्य क्षमताको प्रतिक मान्ने गरेका थिए।

रूसी सैन्य फौज सहभागी हुन नसक्ने कयौँ युद्धमा वाग्नर खटिँदै आएको थियो। युक्रेन युद्धमा रूसी सेनातर्फ नसोचेको क्षति हुन थालेपछि पुटिनले प्रिगोझिन र वाग्नरको सहयोग लिएका हुन्। गत महिना मात्र युक्रेनको बाख्मुत सहर वाग्नरको फौजले कब्जा गरेपछि प्रिगोझिनको कद र महत्व झनै बढेको थियो। बाख्मुत सहर कब्जा गर्दा भएको युद्धमा वाग्नरले रूसी जेलमा कैद अपराधीहरूलाई पनि खटाएको थियो। युद्धमा ६ महिना मात्र टिके उनीहरूलाई सजाय माफी गरिदिने लोभ देखाइएको थियो।

रूसमा पुटिनको प्रभाव कसैले भत्काउन नसक्ने खालको छ। तर यो प्रभाव कायम राखिराख्न पुटिनलाई विभिन्न व्यक्ति र समूहको साथ चाहिन्छ। प्रिगोझिन त्यस्तै व्यक्तिमध्येका एक हुन्। ‘यसकारण पुटिनले प्रिगोझिन र वाग्नरलाई भनेजति सहयोग गर्दै आएका थिए,’ गौल्ड डेभिस भन्छन्।

प्रिगोझिन पुटिनसँग मात्र होइन क्रेमलिनका अन्य शक्तिशाली व्यक्तिहरूसँग पनि नजिक छन्। त्यस्तै एक व्यक्ति हुन्, टुला एलेक्साई ड्युमिन। प्रिगोझिन चेचेन्याका रामजान काड्यरोभसँग पनि कुनै समय नजिक थिए। यद्यपि रूसमा यस्ता गठबन्धन भत्किन समय लाग्दैन।

सुरू सुरूमा काड्यरोभले प्रिगोझिनको तारिफ गर्ने गरे पनि पछि यी दुईबीचको सम्बन्ध चिसिएको थियो। प्रिगोझिनले युक्रेन युद्धमा चेचेन लडाकुको क्षमतामाथि प्रश्न उठाएपछि काड्यरोभ चिढिएका थिए। काड्यरोभका लेफ्टिनेन्ट मागोमेद डाउडोभले त विश्वयुद्धको समय भएको भए प्रिगोझिनलाई त्यस्तो प्रश्न उठाएवापत फाँसीको सजाय हुने प्रतिक्रिया दिएका थिए। आफ्नो कडा आलोचना भएपछि प्रिगोझिन केही पछि हटेका थिए। आफ्नो भनाइ सच्चयाउने क्रममा उनले आफू खाली रूसी सैन्य अप्रेसनको सफलताका लागि चिन्तित रहेको बताएका बताएका थिए।

प्रिगोझिनलाई रूसमा राजनीतिक महत्वाकांक्षा भएको व्यक्तिका रूपमा चिनिन्छ। केही समयअघि मात्र उनले रूसका विभिन्न स्थानको भ्रमण गरेका थिए, आफ्ना समर्थकका साथमा। अर्बपति प्रिगोझिन हाल जुन स्थानमा छन्, त्यहाँ उनी पुटिनकै सहयोगमा पुगेका हुन्। यद्यपि पछिल्लो समय उनले युक्रेन युद्धमा रूस असफल भइरहेको भनेर आम रूसीको ध्यान तान्ने प्रयास गरिरहेका छन्।

‘प्रिगोझिन आफूलाई स्वतन्त्र नेताका रूपमा उभ्याउन चाहन्छन्। तर उनले यसो गर्नु रूसको विद्यमान व्यवस्था र धैर्यको परीक्षण गर्नु हो। जुन दिन पुटिनलाई प्रिगोझिनको उपदेयता सकिएको महसुस हुन्छ, तब प्रिगोझिन रूसमा टिक्न सक्ने छैनन्,’ रूसी राजनीतिबारे अनुसन्धान गर्ने आन्द्रेइ कोलेस्निकोभ भन्छन्।

पुटिन हालका दिनमा प्रिगोझिनभन्दा आफ्नो सैन्य नेतृत्वलाई विश्वास गरिरहेका छन्। युक्रेन युद्धमा रूसको पक्षमा लडिरहेका नीजि सैन्य समूहलाई करार सम्झौता गराउने रूसी रक्षा मन्त्रालयको निर्णयलाई पुटिनले समर्थन गरेका छन्। प्रिगोझिन भने यस्तो सम्झौतामा हस्ताक्षर गर्न चाहँदैन।

प्रिगोझिन युक्रेन युद्धमा रूसले आफ्नो सबै शक्ति प्रयोग गर्नुपर्ने जिकिर गर्दै आएका थिए। उनको यस्तो विचारलाई क्रेमलिनका उच्चपदस्थ अधिकारीहरूले स्वागत गरेका छन्। तर आम रूसी भने यस्तो आह्वानबाट सशंकित छन्। किनभने उनीहरू युक्रेन युद्ध लम्बियोस् भन्ने चाहँदैनन्।

राेयटर्स, एपीकाे सहयाेगमा

प्रकाशित: ९ असार २०८० १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast