अमेरिकी बाचा कुर्दाकुर्दै निराश अफगानी

हिमाल प्रेस ८ असार २०८० ९:४७
6
SHARES
अमेरिकी बाचा कुर्दाकुर्दै निराश अफगानी अफगानिस्तानबाट भागेर अल्बानियामा शरण लिइरहेका अफगान नागरिक। तस्बिर साभार : अल्वानियाको परराष्ट्र मन्त्रालय

तालिबान सत्तामा आएपछि फिरोज मासुफ अफगानिस्तान छोडेर भागेका थिए। दुई वर्ष बितिसक्दा पनि काबुलमा गुजारेको अन्तिम दिन सम्झिँदा अझै पनि उनको मुटु डरले काम्छ। यतिबेला उनी घरको न घाटको भएका छन्। उनी न आफ्नो मातृभूमिमा फर्कन सकेका छन् न त जीवन गुजाराका लागि ‘सपनाको देश’ मा पुग्न सकेका छन्।

अगस्त २०२१ मा तालिबान अफगानिस्तानको सत्तामा फर्किएपछि धेरै अफगान युवाले देश छाडे। देश छाड्नेमध्येका एक हुन् फिरोज। देश छाड्दा घरबाट एयरपोर्टसम्म गरेको बसयात्रा उनको मस्तिष्कमा ताजै छ। ठेलमठेल घचारोमा बल्लतल्ल हवाईजहाजमा बस्ने ठाउँ पाएका उनी जन्मभूमि छाड्दा निकै भावुक बनेको बताउँछन्। उनी भन्छन्, ‘कतार एयरवेजको विमानले उडान भर्दा मैले चारैतिर पहाडले घेरिएको काबुललाई हेरेँ। सूर्यास्त पनि उदास देखिन्थ्यो।’

३५ वर्षीय फिरोज फोटो पत्रकार हुन्। उनले अफगान फुटबल महासंघमा रहेर काम पनि गरेका थिए। जेनतेन अफगानिस्ताबाट बाहिरिए पनि उनी अमेरिका भने पुग्न सकेका छैनन्। फिरोज जन्मभूमिबाट हजारौँ किलोमिटर टाढा अल्वानियामा अमेरिका जाने भिसाको पर्खाइमा छन्। किनकि अमेरिकाले उनलाई आप्रवासनमा लैजाने बाचा गरेको थियो। तर हरेक दिन बितेसँगै उनको आशा निराशामा बदलिँदै छ। अमेरिकामा गएर केही गर्ने सपना चकनाचुर भइरहेको महसुस भइरहेको फिरोज बताउँछन्।

अल्बानियाको राजधानी तिरानाबाट ७० किलोमिटर टाढा एक सहरमा अस्थायी क्याम्पमा सयौँ अफगानी बसेका छन्। उनीहरूको जीवन संकटपूर्ण स्थितिबाट गुज्रिरहेको छ। केही अल्बानियामा काम खोजिरहेका छन्। एक दिन अमेरिका पुग्ने र नयाँ जीवन सुरु गर्ने आशा उनीहरूको छ। उनीहरूलाई अफगानिस्तानमा रहेको घरपरिवारको चिन्ताले पनि उत्तिकै सताइरहेको हुन्छ।

फिरोजले जेजसो गरेर भए पनि त्यहाँबाट एक घण्टा परको एउटा मलमा जागिर पाएका छन्। उनको परिवार हरातमा छ। चाँडै अमेरिका पुग्ने र आफ्नो परिवारलाई सुरक्षित ल्याउने योजना उनले बुनेका छन्। उनी भन्छन्, ‘धन्न म बाँचेँ। मलाई अमेरिकामा नयाँ जीवन सुरु गर्नु छ। तर कहिले?’

अफगानिस्तानमा दुई दशकसम्म अमेरिका समर्थित अफगान सरकार रह्यो। विदेशी सेना त्यहाँबाट फर्किनेबित्तिकै सरकारको पतन भयो। अनि तालिबानले काबुलमा कब्जा गरेको थियो।

तालिबान सत्तामा आउँदा अन्तर्राष्ट्रिय स्तरमा चासोको विषय बनेको थियो। संगठन पहिलेजस्तै अफगानी महिलाप्रति क्रूर हुने धेरैलाई लागेको थियो। तर तालिबानले उदारवादी हुने बाचा गर्‍यो। समयसँगै तालिबान आफ्नो पुरानो स्वरूप देखाउन थाल्यो। उसले महिलालाई घरबाहिर एक्लै निस्किन नदिने, किशोरीहरूलाई माध्यमिक शिक्षाको अधिकारबाट वञ्चित गर्‍यो।

सेना फर्किंदा अनि तालिबानले सत्ताकब्जा गर्दा अफगानिस्तानमा हलचल मच्चियो। यही बेला अमेरिकाले हतारहतारमा एउटा निर्णय गर्‍यो, ‘जो मान्छेले अमेरिकी सरकार, अमेरिकी सेना वा अमेरिकी मिडियाका लागि काम गरेका छन्, ती सबैलाई अमेरिका लगिनेछ।’

तर अहिले भिसा प्रक्रिया लम्बिएको छ। एड्रियाटिक सागरनजिक रहेका पर्यटक रिसोर्टमा ३२ सयभन्दा बढी अफगानी बसेका छन्। नाटोको सदस्य रहेको अल्बानिया अफगानिस्तानबाट भागेका अफगानीलाई अमेरिका पुग्नुअघि एक वर्षसम्म शरण दिने सहमत भएको थियो। भिसा प्रक्रियामा ढिलाइ हुँदा उसले अझै लामो समय तिनलाई बस्न दिने बाचा गरेको छ।

अमेरिकामा पहिलेदेखि लगभग ७६ हजार अफगानी छन्। उनीहरूको स्थायी आप्रवासनको समस्या अहिलेसम्म समाधान हुन सकेको छैन। –अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: ८ असार २०८० ९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast