काठमाडौँ– पूर्वीय दर्शन अध्ययन अनुसन्धान गर्नका लागि पशुपति क्षेत्रमा पशुपति अध्ययन केन्द्र स्थापना गरिने भएको छ।
पशुपति क्षेत्र विकास कोषले प्रस्तावित गुरुयोजनामा समेत पशुपति अध्ययन केन्द्र स्थापना गर्ने अवधारणा अघि सारेको हो। गुरुयोजना पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदबाट पारित भई मन्त्रिपरिषदबाट पारित हुने क्रममा रहेको जनाइएको छ।
नेपाल वेद विद्याश्रमसँगै निर्माण गरिने अध्ययन केन्द्रको ढाँचा पनि तयार गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए।
नेपाल वेद विद्याश्रमको स्तरोन्नतिसमेत गर्ने गरी अनुमानित ८६ करोडको लागतमा अध्ययन केन्द्र निर्माणको ढाँचा तयार पारिएको हो।
केन्द्र निर्माणका लागि दाताको सहयोग लिने गरी छलफल चलिरहेको उनको भनाइ छ। पूर्वीय दर्शनका महत्त्वपूर्ण पुस्तक संकलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयका पुस्तक पनि यहीँ व्यवस्थित गरिने भएको छ।
नेपाल वेद विद्याश्रमले ०३१ मा स्थापना गरेको पुस्तकालयमा पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको पुस्तकालयसमेत एकीकृत गरी एउटै पुस्तकालय सञ्चालन गरिएको छ।
०५६ साउनपछि वेद विद्याश्रमसमेत कोषले सञ्चालन गर्न थालेको हो। कोषले वेद विदाश्रम सञ्चालन गर्न थालेपछि दुवै पुस्तकालयलाई एउटै बनाइएको हो।
पुस्तकालयमा ५ हजार पुस्तक छन्। पूर्वीय दर्शनका अन्य पुस्तकसमेत संकलन गरी पशुपति क्षेत्रमा आकर्षक पुस्तकालय सञ्चालन गर्न लागिएको पनि कोषले जनाएको छ।
वेद विद्याश्रमका विद्यार्थीका लागि पनि पुस्तकालयले अध्ययनमा सहयोग गर्नेछ। पशुपति क्षेत्रमा आउने भक्तजनले पनि केही समय बसेर अध्ययन गर्न चाहेमा पढ्न पाउने व्यवस्था मिलाइने कोषका सदस्य सचिव डा. मिलनकुमार थापाको भनाइ छ।
अध्ययन केन्द्र पशुपति क्षेत्र, पूर्वीय दर्शन र नेपालका समग्र विषयमा अध्ययन गर्न सकिने गरी विकास गरिने लक्ष्य रहेको उनले बताए।
कोषमातहत पुस्तकालय भए पनि विगतमा कमै खुल्ने गरेको थियो। कोषले हालै पुस्तकालय हेर्ने कर्मचारीसमेत तोकेको छ।
वेद विद्याश्रममा अध्ययन गर्दै हाल अध्यापनसमेत गराउन थालेको विद्यार्थी र अध्यापटक गरी २० वर्षे अवधिमा कहिलेकाहीँ मात्र पुस्तकालय खुलेको मनोज घिमिरेको भनाइ छ।
०५६ सालदेखि कोषले चलाएको पुस्तकालयमा तोकिएका कर्मचारी कहिले आउने कहिले नआउने गर्दा प्राय: बन्द हुने उनको भनाइ छ।
राष्ट्रदेवका रूपमा पूजा गरिने पशुपतिनाथको मन्दिर रहेको क्षेत्रमा स्वदेश र विदेशबाट समेत वार्षिक लाखौँ पर्यटक आउने गरेका छन्।
ती पर्यटकका लागि पशुपतिनाथ, पूर्वीय दर्शनलगायत विषयमा जानकारी लिने पुस्तकालयको अभाव छ। यही अभाव पूर्ति गर्न कोषले पशुपति अध्ययन केन्द्रको अवधारणा अघि सारेको हो। पुस्तकालयमा विभिन्न वेद, शिवपुराण, नेपाली निघण्टुलगायत पूर्वीय दर्शनका महत्त्वपूर्ण पुस्तक छन्।
सहरी क्षेत्रमा ई-पुस्तकालयको समेत अवधारणा आइसकेको समयमा यहाँ भने भइरहेको पुस्तकालयसमेत व्यवस्थित रूपमा सञ्चालन हुनसकेको छैन।
नेपाल वेद विद्याश्रम : महाविद्यालयका रूपमा स्थापित हुँदै वेद विद्याश्रममा हाल २ सयभन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेका छन्।
१ सय ९ विद्यार्थीका लागि आवासीय व्यवस्था गरिएको छ। हाल कक्षा ४ देखि १२ सम्म पढाइ हुने विद्याश्रममा ०७६ देखि ११ कक्षा सुरु भएको हो।
संस्कृत माध्यमिक विद्यालय रानीपोखरी र उत्तर बाहिनी गुरुकुल गोकर्णमासमेत २ वर्षअघिदेखि कक्षा ११ को पढाइ सुरु भएको हो। उपत्यकाका यी ३ संस्थामा कक्षा ११ र १२ मा संस्कृत विषय अध्यापन गराइन्छ। विद्याश्रमलाई कोषले सञ्चालन गर्नुअघि गुठी संस्थानले चलाउने गरेको थियो।
०५२ देखि ०५४ सालसम्म २ वर्ष भने विश्व हिन्दू महासंघले विद्याश्रम सञ्चालन गरेको थियो। ०५४ देखि ०५६ सालसम्म फेरि संस्थानले नै सञ्चालन गरेको जनाइएको छ। संस्थानले २७ जना विद्यार्थीका लागि आवासीय व्यवस्था गरेको थियो।
०५५ सालमा पशुपतिनाथको दर्शनसहित नेपाल भ्रमणमा आएका काञ्चीकामाकोटी पीठका शंकराचार्य जयन्द्र सरस्वतीले ५ विद्यार्थीका लागि आवासीय विद्यार्थी थप गरेका थिए।
०५६ सालमा तीर्थराज आचार्यले पशुपति क्षेत्रमा लगाएको सोमयाग यज्ञबाट जम्मा भएको स्रोतबाट १ जना विद्यार्थीका लागि विद्याश्रमको आवासीय सुविधा थप गरिएको थियो।
०६० मा बल केसी संस्कृतिमन्त्री हुँदा विद्याश्रममा १ जिल्लाको एकजना विद्यार्थीलाई आवासीय रूपमा छात्रावासमा राखी पढ्ने व्यवस्था गरिएको प्रधानाध्यापक पोखरेल बताउँछन्।
०७६ देखि भने आवासीय विद्यार्थीको संख्या बढाएर १०९ पुर्याइएको छ। आवासीय विद्यार्थीको संख्या १०९ पुर्याइएको छ।
कोषले विद्याश्रमलाई महाविद्यालयका रूपमा अघि बढाउने सोच अघि सारेको छ। यसका लागि विद्याश्रमका भवन जीर्णोद्धारसँगै विस्तारसमेत हुन थालेका छन्। योग कक्षा, यज्ञशाला र कक्षाकोठा धमाधम निर्माण भइरहेको छ।
पशुपति क्षेत्रस्थित वनकालीको ३१ रोपनी क्षेत्रफलमा फैलिएको विद्याश्रम नेपालमा वेदको औपचारिक पठनपाठन हुने महत्त्वपूर्ण शैक्षिक संस्था हो।
यही विद्याश्रमकै कारण पाठ्यक्रम विकास केन्द्रले वेद विद्याश्रमको छुट्टै पाठ्यक्रम निर्माण गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तकसमेत छपाइ भइरहेको छ। यसबाट देशभर सञ्चालनमा रहेका करिब २ सय गुरुकुललाई सहयोग पुगेको छ।
विद्याश्रम पूर्वीय दर्शनको संरक्षणमा महत्त्वपूर्ण शैक्षिक संस्था भए पनि शिक्षक, कर्मचारीको वृत्ति विकासमा व्यवस्थापनले ध्यान नदिएको गुनासो हुने गरेको छ।
०५६ देखि कार्यरत शिक्षक, कर्मचारीमध्ये विद्याश्रमका एकजना अध्यापकमात्र स्थायी र अरू करारमा नियुक्ति हुँदा शैक्षिक क्रियाकलापमा असर पुगेको छ। करारमा काम गर्दा अवसर पाउने वित्तिकै अध्यापक अन्यत्र जाने गर्नाले पठनपाठनमा समस्या आउने गरेको हो।
यस विषयमा कोष व्यवस्थापनले ध्यान दिनुपर्ने छ। कोषले पशुपति हिन्दू विश्वविद्यालयका अवधारण पनि अघि सारेको छ। जहाँ पूर्वी दर्शनका सबै विषय अध्ययन, अध्यापनको व्यवस्था गरिने सोच अघि ल्याइएको छ। -रासस