काठमाडौँ इन्जिनियरिङ कलेजमा नियमित योग अभ्यास [तस्बिरहरू]

हिमाल प्रेस ६ असार २०८० १५:३१
690
SHARES
काठमाडौँ इन्जिनियरिङ कलेजमा नियमित योग अभ्यास [तस्बिरहरू]

काठमाडौँ- अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा काठमाडौँको कालीमाटीस्थित काठमाडौँ इन्जिनियरिङ कलेजमा बुधबार विशेष समारोह आयोजना गरिएको छ। कार्यक्रममा सम्बोधन गर्दै कलेजका अध्यक्ष एवम् प्रिन्सिपल प्राध्यापक हिरेन्द्रमान प्रधानले विद्यार्थीलाई आत्मविश्वास बढाउन योगको ठूलो भूमिका रहने बताए। उनले भने, ‘सबैभन्दा ठूलो विश्वासको कुरा हो। आफूलाई विश्वास नभए जस्तोसुकै काम गर्दा पनि केही उपलब्धि हासिल हुन सक्दैन। सर्वप्रथम आफूले आफैँलाई विश्वास गर्नुपर्छ।’ योग गरेर फाइदा हुन्छ भन्ने विश्वास भएर नै यसमा लाग्नुपर्ने उनको सुझाव छ।

प्राध्यापक प्रधानले कुनै पनि विषयको समस्या पत्ता लगाएर मात्रै समाधानको उपाय अवलम्बन गर्न सकिने बताए। इन्जिनियर बन्न भनेर आएका विद्यार्थीलाई सहयोग र सहजीकरण गर्ने उद्देश्यले नै कक्षामा नियमित रूपमा योग गर्ने गरिएको उनले जानकारी दिए। उनले भने, ‘योग पनि सकारात्मक सहजीकरणको एउटा बाटो हो।’

एसोसियट प्रोफेसर डा. लीलाराज कोइरालाले योग अभ्यासले व्यक्तिलाई शालीन बन्न, स्फूर्त बनाउन, जिम्मेवार बनाउन सहयोग गर्ने बताए। उनले सुरुमा आफूलाई योगप्रति त्यति विश्वास नभए पनि कोभिडका कारण नियमित योग अभ्यास गरेपछि आफूमा परिवर्तन आएको अनुभव सुनाएका थिए।

एसोसिएट प्रोफेसर महेशसिंह कठायतले व्यक्तिको आध्यात्मिक शक्तिको विकासमा मात्र नभई बाह्य शक्तिको विकासमा पनि योगको ठूलो भूमिका रहने बताए। उनले मानिसको मनले एक दिनमा ७० हजार कुरा सोच्ने र तीमध्ये ८० प्रतिशत नकारात्मक हुने बताए। नियमित योग अभ्यासले नकारात्मक कुराहरू न्यून गर्न सहयोग गर्ने बताए।

कलेजले २०६६ सालदेखि नियमित रूपमा योग अभ्यास गराउँदै आएको छ। कलेजको स्नातक तहको पहिलो र दोस्रो सेमेस्टरमा योग अभ्यास गराइन्छ। एसोसिएट प्रोफेसर शान्त खरेलले भने, ‘दैनिक रुटिनमै राखेर योग अभ्यास गराउँदै आएका छौँ। अन्य इन्जिनियरिङ कलेजमा योगलाई पाठ्यांशकै रूपमा राखिएको पाइँदैन। अन्य शिक्षण संस्थामा पनि नियमित योग सिकाइँदैन।’ उनका अनुसार योग अभ्यास गर्ने विद्यार्थीले सकारात्मक ऊर्जा प्राप्त हुने गरेको बताउने गरेका छन्। उनीहरू पढाइमा पनि अब्बल  देखिने गरेको उनको भनाइ छ।

कलेजमा अध्यापनरत योगाचार्य राजकुमार कार्कीले विद्यार्थीलाई योगका विभिन्न आसनको अभ्यास गराएका थिए। कार्यक्रममा कलेजका विभिन्न विभागका प्रमुख र प्राध्यापकहरूको उपस्थिति थियो।

प्रकाशित: ६ असार २०८० १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast