हेटौँडा सिमेन्टको घाटा ९० करोड पुग्यो

हिमाल प्रेस ६ असार २०८० १२:४८
12
SHARES
हेटौँडा सिमेन्टको घाटा ९० करोड पुग्यो तस्बिर- रासस

काठमाडौँ– सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष ०७९/८० को ११ महिनामा ११ करोड १५ लाख घाटा व्यहोरेको छ।

आव ०७४/७५ देखि हेटौँडा सिमेन्ट लगातार घाटामा छ। हालसम्म उद्योगको कूल घाटा ९० करोड रुपैयाँ पुगेको छ।

चालु आवमा १ अर्ब २ करोड ३९ लाख ८४ हजार रुपैयाँ बराबरको आम्दानी गरेको छ। तर यो अवधिमा उद्योगको खर्च १ अर्ब १३ करोड ५५ लाख ४८ हजार भएको छ।

उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेका अनुसार निरन्तर घाटामा रहेको उद्योगमा सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले पनि समस्या ल्याएको छ।

महाप्रबन्धक पाण्डे उद्योगलाई गतिशील बनाउने योजना उद्योग मन्त्रालयमा पठाए पनि कुनै जवाफ नआएका बताउँछन्। उनले भने, ‘उद्योगमा ३८ वर्ष पुरानो प्रविधिले पनि उत्तिकै समस्या दिएको छ।’

हेटौँडा सिमेन्ट उद्योगबाट अहिले दैनिक १५ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ। बजारमा देखिएको आर्थिक मन्दीले सिमेन्टको बिक्री घट्दा उद्योगले थप घाटा व्यहोरिरहेको पाण्डेको भनाइ छ।

उद्योगमा हाल २०० जना कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा १०० कामदार छन्। अनावश्यक कर्मचारी र पुरानो ऋणले पनि घाटा बढाएको पाण्डे बताउँछन्।

कम्पनी ऐनअन्तर्गत २०३३ असोजमा स्थापित उद्योगले २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। उद्योगको वार्षिक उत्पादन क्षमता २ लाख २५ हजार मेट्रिक टन रहेको छ। राससको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast