रोपाइँ महोत्सवमा पाँच सयभन्दा बढी विदेशी पर्यटक सहभागी गराउँदै पोखरा

हिमाल प्रेस ५ असार २०८० १०:१२
4
SHARES
रोपाइँ महोत्सवमा पाँच सयभन्दा बढी विदेशी पर्यटक सहभागी गराउँदै पोखरा रोपाइँ महोत्सवबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनका सहभागी। तस्बिर : हिमाल प्रेस

पोखरा- ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूलनाराका साथ पोखरा पर्यटन परिषद्को आयोजनामा १८ औँ संस्करणको महोत्सव हुने भएको छ। परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा कसेरी, डुम्रिबोटमा महोत्सव हुने जानकारी दिएका हुन्। खेतीयोग्य जमिन संरक्षण गर्दै लैजाने तथा कृषकलाई आफ्नो पेसाप्रति उत्प्रेरित गर्ने उद्देश्यका साथ ‘हिलोमा एक पटक त टेक्नुपर्छ है’ भनाइ आत्मसात् गर्दै महोत्सवलाई निरन्तरता दिइएको उनले बताए।

महोत्सवमा पोखरा महानगरपालिका वडा कार्यालय १३, कृषि सञ्जाल वडा नम्बर १३ तथा वडा २८ स्थानीय आयोजक छन्। नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्धक हुन्। महोत्सव सफल पार्न पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको १४ उपसमिति गठन गरिएको छ भने ४७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए।

परिषद् अध्यक्ष श्रेष्ठले कृषिप्रधान देश नेपालमा सरकारले समेत उक्त दिनलाई धान दिवसको रुपमा मनाउने गरेकोमा आफूहरुले झण्डै २ दशकअघि सुरु गरेको महोत्सवको औचित्य साबित हुँदै गएको बताए। उनले महोत्सवले कृषि पर्यटनमा प्रवर्धन गर्नुका साथै धानखेतीमा कृषकलाई आकर्षित गर्न सहयोग पुग्ने विश्वास गरे। महोत्सवलाई पोखराको ब्रान्डका रूपमा चिनारी दिई यसपालि पाँच सयभन्दा बढी विदेशी पर्यटक रोपाइँ महोत्सवमा उतार्ने लक्ष्य रहेको बताए।

महोत्सवमा विभिन्नखालका प्रतियोगिता समेत हुनेछन्। तीमध्ये खुला साउने प्रतियोगिता (हलगोरुको दौड), विभिन्न आमा समूहबीच असारेगीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता हुने छन्। यस्तै विभिन्न इभेन्टमा हिलोमा दौड प्रतियोगिता हुनेछ। नेपाली पुरुष, नेपाली महिला, विदेशी पुरुष, विदेशी महिला, पत्रकारको छुट्टाछुट्टै हिले दौड प्रतियोगिता हुनेछ। महिला र खुला इभेन्टमा रस्साकस्सी एवं हिलोमा घैंटो फुटाउने प्रतियोगिता हुने महोत्सव संयोजक कृष्णप्रसाद भण्डारीले बताए। विजयीलाई नगद र प्रमाणसहित पुरस्कृत गरिनेछ।

कार्यक्रममा चर्चित लोकगायक प्रकाश सपुतले गीत गाउनेछन्। महोत्सव आयोजना गर्न ३० लाख खर्च लाग्ने जनाइएको छ। पोखरामा खेतीयोग्य ठूला फाँटहरु यतिखेर घर तथा विभिन्न भौतिक संचरना निर्माणले नासिँदै गएको छ। पोखरामा बिरौटा फाँट, बिरुवा फाँट, कुँडहर फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहूँखोला, पामेफाँट ठूला फाँट हुन्।

प्रकाशित: ५ असार २०८० १०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =