काठमाडौँ- अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरामा परी ६ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरामा परी संखुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तीमध्ये पाँच पुरुष र एकजना बालिका छन्।
साथै बाढी एवं पहिरामा परी संखुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी जम्मा ६ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। बाढी पहिरामा परी संखुवासभामा २०, ताप्लेजुङमा तीन र पाँचथरमा पाँचजना गरी जम्मा २८ जना बेपत्ता भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए।
संखुवासभामा थप एक जनाको मृत्यु
संखुवासभामा बाढीपहिरोमा परेर बेपत्ता भएका २१ मध्ये एक जनाको शव भेटिएको छ। चैनपुर नगरपालिका–१० निगुरेमा सोमबार एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए।
शवको पहिचान खुल्न सकेको छैन। सुपर हेवा हाइड्रोपावरबाट बेपत्ता भएका एकजना पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक गोदारले बताए। फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ।
शनिबार राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २१ जना बेपत्ता भएका थिए। बेपत्ता २१ जनामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर हुन्। बाढीले सभापोखरीमा दुई, चैनपुरको नुनढाकीमा एक र अप्पर हेवाखोला हाइड्रोपावरका एकजना मजदुर अझै बेपत्ता छन्। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
बाढीले बगाउँदा सुपर हेवा खोला हाइड्रोपावरमा काम गर्ने दुईजना मजदुर घाइते भएका छन्। गम्भीर घाइते दुवै जनाको हेल्पिङ हेन्ड्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ।
चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो। बाढीले जिल्लाका विभिन्न ११ घरमा क्षति पुगेको छ। बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्याएको छ। भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ।
मृतकका परिवारलाई एक लाख राहत
कोशी प्रदेश सरकारले प्रदेशमा हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेका परिवारलाई एक लाख र घाइतेलाई उपचारका ५० हजार रुपैयाँ राहतस्वरूप दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए।
सडक अवरुद्ध, बेपताहरूको खोजी कार्य र उद्धारमा सास्ती
ताप्लेजुङमा आइतबारदेखि आन्तरिक तथा बाह्य यातायातका साधनहरू सञ्चालन हुन सकेका छैनन्। निरन्तर वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प भएसँगै बेपत्ताको खोज तथा उद्धार कार्यका लागि सास्ती भएको छ।
सिरिजगा गाउँपालिकाको एक, सिदिङवा गाउँपालिकाको एक र मैवाखोला गाउँपालिकाको एक गरी तीन वटा पक्की मोटरेबल पुल पूर्ण रूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। ताप्लेजुङको विभिन्न क्षेत्रमा पाँच झोलुगे पुल बाढीले बगाएको छ।
शनिबार राति मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामाथिको पुल बगाएपछि ताप्लेजुङ, पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारी साधन सदरमुकाममा थन्किएर रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले जानकारी दिए। तमोर नदीसहित तमोर करिडोरअन्तर्गतका खोलामा बाढी आएकाले उक्त तमोर करिडोरको सडकसमेत अवरुद्ध भएकाले छोटो दूरी र लामो दूरीमा चल्ने सवारी साधनहरू ताप्लेजुङदेखि छुट्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ताप्लेजुङका प्रहरी प्रवक्ता कार्कीका अनुसार बिहीबार राति आएको बाढीले मेहेले र खेवाङ जोड्ने पुल भत्काएको छ। सडक अवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।
ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, पाँचथरलगायत जिल्लामा बाढीपहिरोले सडक र पुलमा क्षति पुर्याउँदा करिब रु ५० करोड बराबरको क्षति भएको भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयले जनाएको छ।