काठमाडौँ- बत्तिसपुतलीस्थित शिल्पी थिएटर (गोठाले नाटक घर)मा यहि असार ९ गते नाटक ‘मधेसतिर : १९९८’ मञ्चन हुने भएको छ। ‘मधेसतिर’ कथाकार विश्वेश्वरप्रसाद कोइरालाको दोषी चस्मा कथासङग्रहमा संकलित कथा हो।
जसको नाट्य रूपान्तरण र निर्देशन ज्याक सेभेन्टिनले गरेका छन्। नाटक असार ९ गते एकदिन मात्र मञ्चन गरिने निर्देशक ज्याक सेभेन्टिनले बताए। नाटक शनिबार साँझ साढे ५ बजे मञ्चन हुनेछ। नाटक हेर्न थिएटरले टिकट बुकिङ पनि खुलाइसकेको छ।
नाटकमा कलाकार सुमीत भण्डारी, संगीता उराव, रवीन परियार, हिमाल भुजेल र धनराज सुनारले अभिनय गरेका छन्। कथामा रहेका मुख्य पात्रहरू गोरे र विधवाको भूमिकामा कलाकार सुमीत भण्डारी तथा संगीता उराव रहेका छन्। भोटे, धने र बुढो पात्रको भूमिकामा क्रमशः कलाकार रवीन परियार, हिमाल भुँजेल र धनराज सुनार रहेको निर्देशकले जानकारी दिए।