पाेखरा- संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेल संघहरू इमानदार बन्न सुझाव दिएका छन्। उनले राजनीतिक स्वार्थको लागि मात्र खेल संघमा नलाग्न आग्रह गरे। ‘खेल संघहरूमा विवाद अन्त्य हुनुप¥यो। एक खेल एक संघ हुनुपर्ने भन्ने ऐनमा व्यवस्था छ,’ पोखरामा आइतबार पत्रकारहरूसँग भेटमा उनले भने, ‘एउटै खेलको थुप्रै संघ भएपछि विवाद हुने भयो। त्यसकारण संघमा रहेका साथीहरूले पनि खेलको बृहत्तर विकास र प्रवद्र्धनको लागि काम गर्नुहोस्।’
उनले सरकारले युवा तथा खेलकुद मन्त्रालय बजेटलाई प्राथमिकता नदिएको गुनासो गरे। चालु आवमा पौने ४ अर्बको बजेट विनियोजन भएकोमा आगामी आवको लागि घटाएर १ अर्ब ८८ करोडको सिलिङ योजना आयोगले पठाएकोमा उनले आपत्ति जनाए।
मन्त्रालयअन्तर्गतका कर्मचारीको वृत्ति विकास लामो समयदेखि हुन नसकेको पाइएकोले त्यसलाई सुधार्न जरुरी रहेको मन्त्री लिम्बुको भनाइ छ। खेलकुद बिमालाई प्रभावकारी बनाई खेलाडीलाई सुरक्षित भएको महसुस गर्ने उद्देश्यले केही काम थालेको उनको भनाइ थियो।
खेलाडीको सुविधासमेत पदाधिकारीले लिने गरेकोे भन्ने गुनासो आएको भन्दै पदाधिकारीले न्युनतम सेव सुविधाको प्रयोग गरी अधिकतम सेवा सुविधा खेलाडीलाई नै प्रदान गर्न आग्रह गरे।
आगामी १९ औं एसियन गेमको तयारी सुरु भइसकेको भन्दै केही खेलको बन्द प्रशिक्षण पोखरामा हुन सक्ने संकेत उनले गरे। मन्त्रालयअन्तर्गतका कार्यालयको संघीय संरचना अनुसार स्वामित्व हस्तान्तरण गर्ने कार्य अगाडि बढेको उनले जनाए।
खेकलुद मन्त्रालय सबैको प्राथमिकतामा कसरी पर्न सक्छ भन्ने ध्येयका साथ आफूले काम गर्दै गरेको दाबी गरे। उनले पोखरा खेलकुदको उर्वरभूमि रहेको उल्लेख गर्दै सिंगो नेपालको खेलकुद क्षेत्रमा यसले ठूलो मद्दत पुर्याएको बताए।
कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, महासचिव राजाराम पौडेलले पनि बोलेका थिए। मन्त्री लिम्बुले पोखरा रंगशालामा निर्मित विभिन्न खेलकुदका संरचना अवलोकन गरेका छन्।