बागलुङको झिम्पामा विशेषज्ञ अस्पताल निर्माण हुँदै

हिमाल प्रेस २ असार २०८० ११:४१
4
SHARES
बागलुङको झिम्पामा विशेषज्ञ अस्पताल निर्माण हुँदै सांकेतिक तस्बिर।

बागलुङ– स्थानीय तहले काम गर्नुपूर्व तत्कालीन निसीखोला गाउँपालिकामा ४ मात्रै स्वास्थ्यचौकी थिए। छरिएको बस्ती, एकदेखि अर्को ठाउँसम्म पुग्न घण्टौं लाग्ने हुँदा यहाँका अधिकांश नागरिक स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा थिए। जब स्थानीय तहमा जनप्रतिनिधिले काम गर्न थालेपछि निसीखोलाका वडा-वडामा स्वास्थ्य संस्था स्थापना भएर सञ्चालनमा आएका छन्।

स्थानीयले सामान्य उपचार गाउँ नजिकैको स्वास्थ्य संस्थामा गराउन पाए पनि जटिल प्रकारको उपचार गराउन कि त बुर्तिबाङ पुग्नुपर्छ कि भने ठूला सहरका सुविधायुक्त अस्पतालमा पुग्नुको विकल्प छैन।

एक दशक अगाडिसम्म जिल्लाको सबैभन्दा दुर्गम मानिने निसीखोला राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि यहाँ थुप्रै विकासका ढोका खुलेका छन्।

अहिले गाउँपालिकाले पनि स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको छ। सोहीअनुसार अहिले गाउँपालिकाले पालिकास्तरीय आधारभूत अस्पताल निर्माण गरिरहेको छ।

गत वर्षदेखि वडा नम्बर ४ को झिम्पामा अस्पताल निर्माण भइरहेको छ। गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि स्थानीयमा खुसी छाएको छ। लामो समयदेखि सामान्य रोगको उपचार गर्न घण्टौं टाढा पुग्दै आएका स्थानीयमा अब घरै अगाडि उपचार गराउन पाउनेमा आसावादी छन्।

यो अस्पताल सञ्चालनमा आए यहाँबाट विशेषज्ञ सेवा प्रदान हुने छ। अस्पताल गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्ने छ। झिम्पा गाउँको फेँदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा भएपछि निसीखोलाका हजारौं नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुनेछ।

यहाँका नागरिक सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएकोमा आधारभूत अस्पताल निर्माणपश्चात् गाउँठाउँबाटै सहज सेवा लिन पाइने स्थानी प्रेम मगरको भनाइ छ। अहिलेसम्म गाउँमा कोही बिरामी भए उपचारका लागि झिवाखोला पुग्नु परेको सुनाउँदै अस्पताल सञ्चालनपछि धेरैलाई सहज हुने उनको भनाइ छ।

‘अहिलेसम्म यस क्षेत्रका मान्छे बिरामी पर्दा बित्तिकै बुर्तिबाङ जान्थे, बुर्तिबाङ भएन भने पाल्पा, पोखरा, काठमाडौँ जाने गर्थे, उपचारका लागि धेरै खर्च हुन्थ्यो अब त्यो समस्या हट्ने छ,’ उनले भने।

केन्द्र सरकारको सहयोगमा यहाँ आधारभूत अस्पताल बन्न लागेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले जानकारी दिए। अस्पताल पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको उनको भनाइ छ।

निर्माण कम्पनीले त्यसअगावै सक्ने गरी काम गरिरहेको उनको भनाइ छ। गाउँपालिकाले १० करोड ९४ लाखको ‘स्टिमेट’ गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले आठ करोड २४ लाखमा निर्माण गर्ने गरी जिम्मा लिएर काम तीव्र गतिमा गरिरहेको उनले जानकारी दिए।

‘निर्माण कम्पनीले अहिले धमाधम काम गरिरहेको छ, अघिल्लो वर्षदेख नै काम गर्ने गरी अस्पतालको सम्झौताको काम पूरा भएको थियो, अब धेरै काम गर्न बाँकी देखिन्न, पुससम्म काम सक्नु पर्ने हुन्छ,’ प्रमुख प्रशासकीय अधिकृत चन्दले भने, ‘बन्दै गरेको अस्पताल निसीखोलाको छेउमा रहेको हुँदा जोखिमजस्तो देखियो, त्यसले गर्दा गाउँपालिकाले चालु आर्थिक वर्षमा २० लाख विनियोजन गरेर तटबन्धनको काम अगाडि बढेको छ, उपभोक्ता समितिमार्फत अहिले काम भएको छ।’

भवन निर्माणका लागि गाउँपालिकाले २ वर्ष अगाडिनै आठ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो। अस्पताल बनाउन ७ रोपनी २ आना जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ। स्थानीय दुर्ग सुनारलगायतका दाताले अस्पताल निर्माण लागि जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्षनै अस्पतालको शिलान्यास गरेको थियो। नागरिकलाई पालिकाबाटै गुणस्तरीय र सहज रूपमा स्वाथ्य सेवा प्रदान गर्नका लागि यहाँ अस्पताल निर्माण गरेको निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्य घर्तीमगरको भनाइ छ।

अस्पताल सञ्चालनमा आए जटिल प्रकारका उपचारबाहेक अन्त जान नपर्ने उनको भनाइ छ। निर्माण कम्पनीका प्रमुख दीपक अदैले हालसम्म अस्पतालको ८६ प्रतिशत काम सम्पन्न भएको बताए। सम्झौता मिति अगावै सक्ने काम गरी काम गरे पनि काम गरेको रकम रोकिँदा समस्या भएको उनले बताए।

हाल निसीखोला गाउँपालिकामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ गरी आठ स्वास्थ्य सञ्चालनमा छन्। अबको केही दिनमै गाउँपालिकाले निसेल ढोरमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्ने भएको छ।

निसेलढोरमा अहिलेसम्म स्वास्थ्य संस्था नहुँदा त्यहाँका स्थानीय उपचारका लागि निसीखोला र बुर्तिबाङ झर्नुपर्ने बाध्यता छ।

प्रकाशित: २ असार २०८० ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast