वीपी राजमार्गबाट उपत्यका भित्रिँदैछ लागुऔषध, नियन्त्रणका लागि बनेपा प्रहरीको एक्सन टिम

हिमाल प्रेस २ असार २०८० १०:३५
16
SHARES
वीपी राजमार्गबाट उपत्यका भित्रिँदैछ लागुऔषध, नियन्त्रणका लागि बनेपा प्रहरीको एक्सन टिम

बनेपा– बनेपा नगरपालिका-८ बाट प्रहरीले प्रतिबन्धित खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बनेपा र लागुऔषध नियन्त्रण ब्युरोसहितको प्रहरी टोलीले खैरो हिरोइनसहित काभ्रेको तेमाल गाउँपालिकाको १९ वर्षीया युवती र भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका-९ का ३० वर्षीय युवकलाई पक्राउ गरेको हो।

बिहीबार राति ८ बजे उनीहरूबाट ६५ ग्राम खैरो हिरोइन, डिजिटल तराजु १ थान, ३ लाख १९ हजार र आइफोन-११ १ थान बरामद गरिएको कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रेशम बोहोराले जानकारी दिए। उनका अनुसार पक्राउ परेका दुवैलाई शुक्रबार जिल्ला अदालतबाट लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ।

यस घटनाले काभ्रेमा ७ महिनापछि लागुऔषध कारोबारी पुनः सक्रिय भएको देखिन्छ। प्रहरीले प्रतिबन्धित औषधि कारोबार गरेको आरोपमा २०७९ कात्तिकमा बनेपा र पनौतीका ४ जनालाई पक्राउ गरेको थियो। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले लागुऔषधसहित चारै जना २२ वर्षकालाई पक्राउ गरेको थियो।

उनीहरूको साथबाट डाइजापाम एम्पुल १७ थान, बुप्रिनोफाइन एम्पुल १५ थान, फेनेगर्नन १७ थान, नुफिन एम्पुल २, नाइट्राभेट-१० ७० चक्की, लाइफलाइन लेखिएको सिरिन्ज ५ थान तथा नगद ४३ हजार बरामद गरिएको थियो। त्यसयता लागुऔषधका कुनै पनि घटना सार्वजनिक भएका थिएनन्।

प्रहरीले पक्राउ परेका सार्वजनिक गर्दै अनुसन्धानका म्याद थप गर्दै कसुरका आधारमा अदालतमार्फत सजाए दिलाउने गरेको छ। यस्तै प्रहरीले गत भदौमा पनि नियन्त्रित औषधिसहित बनेपा नगरपालिका-८ उदय मेडिकल हलका सञ्चालकलाई पक्राउ गरेको थियो।

उनले नियन्त्रित औषधि बिना प्रेस्क्रिप्सन बिक्री गरेका कारण प्रहरीले उनको मेडिकल पसलबाट ठूलो मात्रामा औषधिसमेत बरामद गरेको हो।

प्रहरीले त्यतिबेला हलबाट नियन्त्रित मानिएका ठूलो संख्यामा ट्याब्लेट बरामद गरेको थियो। बरामद गरिएका औषधि सञ्चालकले चिकित्सकीय सिफारिसबिना बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको थियो। त्यसरी बिक्री गरिएका औषधि ‘लागुऔषध’को रूपमा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ।

यसअघि इप्रका बनेपाले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न ५ जनालाई ०७९ साउनमा पक्राउ गरेको थियो। प्रहरीले भारतबाट वीरगन्ज हुँदै काभ्रेको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरूलाई वीरगन्जबाट पक्राउ गरेको थियो। लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएकाबाट प्रहरीले ३०२ एम्पुल डाइजेपाम, ३०२ एम्पुल फेनेर्गन र ३०२ थान नोफिन गरी कूल ९०६ थान लागुऔषध बरामद गरेको थियो।

त्यतिबेला प्रहरीको अनुसन्धानले वीरगन्जबाट काभ्रेअन्तर्गतसमेत पर्ने वीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास सडक)को प्रयोग गरी बनेपा हुँदै लागुऔषध काठमाडौँ पुर्‍याउने र काठमाठौंबाट पुनः बनेपा ल्याई कुलतमा फसेका युवालाई बिक्री गर्ने गरेको देखाएको प्रहरीले जनायो। यो घटनामा भने प्रहरीले छोटो समयमा भारतबाट बनेपासम्म लागुऔषधको कारोबार गर्ने समूहलाई छोटो समयमा नै पक्राउ गर्न सफल भएको देखिन्छ।

यसअघि ०७९ वैशाखमा लागुऔषध प्रयोगकर्ता ४ चालकलाई काभ्रेस्थित अरनिको राजमार्गका जाँचका क्रममा प्रहरीले प्रक्राउ गरेको थियो। यस्तै प्रहरीले सुराककै आधारमा गत वर्षको माघमा चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि (नसालु पदार्थका रूपमा सेवन गरिने) बिक्री गर्ने पनौती नगरपालिका-२ स्थित १ फार्मेसी सञ्चालकलाई पक्राउ गरेको थियो।

फार्मेसीबाट विभिन्न प्रकारका ७ हजार १३८ प्रतिबन्धित लागुऔषध ट्याब्लेटसमेत बरामद गरिएको थियो।

घटनाक्रमले सुराकको आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको देखाएको छ। साथै वीपी राजमार्गबाट अधिकांश रूपमा लागुऔषध ओसारपसार हुने गरेको देखिएको हो।

काभ्रेलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने जिल्लास्थित प्रहरीको रेकर्डबाट देखिन्छ।

यस्तै प्रहरीले सुराकीको आधारमा उक्त राजमार्गबाट आउने सवारी जाँच गर्दा दर्जनौं पटक प्रतिबन्धित औषधि बरामद गर्दै ओसारपसार संलग्न व्यक्तिलाई पक्रेर मुद्दासमेत चलाउने गरेको छ।

प्रहरीको तथ्यांकअनुसार बितेको ५ वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ४० वटा मुद्दामा करिब १ सयलाई पक्राउ परेका छन्। पक्राउ परेकामध्ये पनि अधिकांशले ब्रोकर बनेर काम गरिरहेको बयान दिँदै आएको प्रहरीले जनायो।

प्रहरीको अनुसन्धानले विशेष गरी टिनएजर्स् यसको तस्करी र प्रयोगकर्ताका रूपमा देखिएको छ। घटना विवरणअनुसार तराई क्षेत्रबाट वीपी राजमार्गहुँदै लागुऔषध तस्करी भई लागुऔषधको ट्रान्जिट प्वाइन्ट काभ्रे बनाएकोसमेत देखिन्छ।

पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रूपमा रहेको वीपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा एक्सन टिम परिचालन गरिएको प्रहरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालको भनाइ छ।

उनका अनुसार पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध संकलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौँमा बिक्री गर्दै आएको देखिन्छ। लागुऔषध विशेष गरी युवा पुस्ताले प्रयोग गरेको पाइएको प्रहरीकै अनुसन्धानले देखाएको छ।

प्रकाशित: २ असार २०८० १०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast