रक्षात्मक रणनीतिले गोल नछेक्दा नेपाल पराजित

हिमाल प्रेस ३२ जेठ २०८० १९:२४
12
SHARES
रक्षात्मक रणनीतिले गोल नछेक्दा नेपाल पराजित

काठमाडौँ- रक्षात्मक रणनीति अपनाए पनि आफ्नै गल्तीले गोल खाँदा नेपाल फिलिपिन्ससँग १-० ले पराजित भएको छ। फिलिपिन्सको मनिलास्थि रिजल मेमोरियल रंगशालामा बिहीबार घरेलु टिमलाई जित दिलाउन जार्भे गायोसोले गोल गरे।

साफ च्याम्पियनसिपको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न नेपाल फिलिपिन्सको मनिला पुगेको हो। घरेलु टिमविरुद्ध नेपालले पहिलो हाफ असाध्यै रक्षात्मक खेलेको थियो। अधिकांश समय आफ्नै क्षेत्रमा समेटिएका नेपाली खेलाडीहरुले विपक्षीले बल गुमाउँदा मात्र आक्रमण बुन्ने प्रयास गरे।

दोस्रो हाफमा पनि नेपाली टिमको रणनीति यही थियो, आफ्नो क्षेत्रमै रहने, रक्षात्मक खेल्ने र फिलिपिनो खेलाडीहरुको गल्ती पर्खने। तर यसो गर्दागर्दै पनि नेपाल गोल खान पुग्यो।

दोस्रो हाफ सुरु भएको चार मिनेटपछि फिलिपिन्सले कर्नर पाएको थियो। मिडफिल्डर माइक ओटले प्रहार गरेको कर्नरसँग गायोसो ‘कनेक्ट’ त भए तर पहिलो प्रयासमा प्रहार गर्न सकेनन्। उनको छातीमा लाग्दै बल पुजन उपरकोटीको खुट्टामा पुगेको थियो। पुजनले बल क्लियर गरेनन्। बल नियन्त्रण गर्न उफ्रिदा भुइँमा थचारिएका गायोसाले नउठ्दै बल भेटे र प्रहार गरे। उनको प्रहारलाई किरण कुमार लिम्बुले बचाउन सकेनन्।

गोल खाएपछि केही हदसम्म ब्युँतिएको नेपाली टिमले सीमित तर राम्रा मौका पाएको थियो। ती मौकामा गोलको प्रयास अनन्त तामाङले गरे। र यी दुवै मौका ‘सेटपिस’ मा सम्भव भएका थिए। एरिक विष्टले ६२ औँ मिनेटमा प्रहार गरेको फ्रिकिकमा गोलको अवसर सिर्जना भएको थियो। एरिकको लामो फ्रिकिकबाट आएको बललाई अनन्तले हेड गरे। उनको सिटक हेडर फिलिपिन्सका गोलरक्षक प्याट्रिक डेटोले ब्लक गरे।

सब्स्टिच्युट आभास लामिछानेले ७९ औँ मिनेटमा प्रहार गरेको फ्रिकिकसँग पनि अनन्त जोडिए। फेरि एकपल्ट ‘अनमार्क्ड’ रहेका अनन्तले हेडर गरे। यसपालि पनि उनको हेडर डेटोले ब्लक गरे।

रक्षक विमल पान्डे र लाकेन लिम्बुले डेब्यु गरेको खेलमा नेपाल कुनै विभागमा पनि बलियो देखिएन। दोस्रो हाफमा दिपक राज सिंह ठकुरी र विमल घर्ती मगर जस्ता आक्रामक खेलाडी मैदान प्रवेश गरेपछि नेपालले गोल फर्काउने महत्वाकांक्षा देखाएको थियो। तर ‘फाइनल थर्ड’ मा नेपाली खेलाडीहरु उतिसारो छरितो देखिएनन्।

यो हारसँगै नेपालको पाँच खेलको अपराजित शृंखला अन्त्य भएको छ। जुन, २०२२ मा एएफसी एसियन कप छनोटमा इन्डोनेसियासँग ७-० ले हारेपछि नेपाल त्यसपछिका खेलमा पराजित भएकाे थिएन। यसबीचमा नेपालले बंगलादेश, पाकिस्तान र लाओस (त्रिदेशीय कपमा दुई पटक) हराएको थियो भने भुटानसँग १-१ को बराबरी खेलेको थियो।

संयोगवश गत मार्चमा दशरथ रंगशालामा भएको त्रिदेशी कपको फाइनलमा हारेको लाओसका मुख्य प्रशिक्षक नै हाल फिलिपिन्सका मुख्य प्रशिक्षक हुन्। उनी यही साता फिलिपिन्स फर्किएका हुन्।

नेपाल अब फिलिपिन्सबाट सिधै भारत जानेछ। आगामी बुधबारबाट सुरु हुने साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा छ। जहाँ नेपालले बलियो कुवेत र भारतसँगै पाकिस्तानको सामना गर्नेछ। समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्। फिफा प्रतिबन्धका कारण यसपालि श्रीलंका साफ च्याम्पियनसिपमा अनुपस्थित हुन लागेको हो। श्रीलंका नहुँदा कुवेत र लेबनानलाई भने आगन्तुक टिमका रुपमा डाकिएको हो।

प्रकाशित: ३२ जेठ २०८० १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast