पाठशालामा ‘ऐना झ्यालको पुतली’

हिमाल प्रेस ३२ जेठ २०८० १६:३८
40
SHARES
पाठशालामा ‘ऐना झ्यालको पुतली’

काठमाडौँ- फिल्म ‘ऐना झ्यालको पुतली’ थापागाँउस्थित पाठशाला विद्यालयको नाट्यशालामा प्रदर्शन गरिएको छ। विद्यालयका सम्पूर्ण विद्यार्थी र शिक्षकमाझ प्रदर्शन गरिएका फिल्म राम्रो बनेको उनीहरूले प्रतिक्रिया दिएका छन्।

प्रदर्शनीमा फिल्मका निर्देशक सुजित बिडारी पनि उपस्थित थिए। फिल्ममा पहिलेका विद्यार्थीहरूले पढ्नका लागि गर्नुपरेको संघर्ष प्रस्तुत गरेको उनले बताए। सानो हुँदा आफू हुर्केको समाजबारे फिल्ममार्फत अहिलेको पुस्तालाई देखाउन पाउँदा खुसी लागेको बताए। ‘हामीले पढ्दा गर्नुपरेको दुःखलाई तपाईंहरूमाझ देखाउन पाउँदा निकै खुसी छु,’ उनले भने, ‘फिल्मले सजिलै पढ्न पाएका विद्यार्थीको लागि पढाइको महत्त्व बुझाउन खोजेको र आफ्ना सपना पूरा गर्न आइपर्ने बाधाबाट पछि हट्न नहुने सन्देश दिएको छ।’

फिल्म हालसम्म २५ भन्दाबढी सहर तथा ग्रामीण विद्यालयमा देखाइसकेको कार्यक्रमका संयोजक लर्निङ मिडियाका कपिलराज लामिछानेले बताए। ‘हामी देशैभरका स्कुलका विद्यार्थीहरूमाझ प्रदर्शन गर्ने तयारीमा छौँ,’ उनले भने।

फिल्म राम्रो लागेको भन्दै कक्षा आठमा अध्ययनरत विद्यार्थी एड्रियाना वाग्लेले फिल्मको शीर्षक युनिक लागेको बताइन्। त्यस्तै कक्षा आठकै दिव्य पोखरेलले फिल्म हेरेपछि जीवनमा आइपर्ने समस्याबाट डराउन नहुने र आफ्नो सपना पूरा गर्न लाग्नुपर्ने रहेछ भन्ने बुझेको बताए।

विद्यालयका ईसीए कोअर्डिनेटर प्रवेश भण्डारीले पछिसम्म पनि नेपाली समाजको संस्कृति कस्तो थियो भन्ने जानकारी दिन फिल्म उपयोगी हुने बताए। देश तथा विदेशमा सम्पन्न भएको विभिन्न ‘फिल्म फेस्टिभल’मा अवार्ड जितेको यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउनुका साथै बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’मा छानिने पहिलो नेपाली फिल्म बनेको छ।

फिल्मले ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल, अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड, भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललगात फेस्टिभलमा विभिन्न अवार्ड जितेको छ।

सुजित बिडारीको डेब्यू निर्देशित फिल्ममा पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीले शिक्षाका लागि गरेको संघर्ष देखाइएको छ। फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायत कलाकारको अभिनय छ।

प्रकाशित: ३२ जेठ २०८० १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast