मनिलामा परीक्षा दिँदै नयाँ स्वरुपको नेपाली टिम

हिमाल प्रेस ३२ जेठ २०८० १४:३१
12
SHARES
मनिलामा परीक्षा दिँदै नयाँ स्वरुपको नेपाली टिम

काठमाडौँ- फुटबलमा सबैभन्दा गतिलो नतिजा जित नै हो। त्यसपछि बराबरी। संयोग नै मान्नुपर्छ, फिलिपिन्ससँग पहिलो पटक खेल्दा नेपाल विजयी भएको थियो भने पछिल्लो खेल बराबरीमा टुंगिएको थियो। अनि बीचका चार खेलमा चाहिँ नेपालले हार व्यहोर्‍यो।

नेपाल र फिलिपिन्स पछिल्लो पटक भिडेको एएफसी एसियन कप २०१९ को छनोट चरणमा हो। छनोटको दोस्रो लेग एन्फा कम्पलेक्स मैदानमा भएकोे थियो। यो खेलमा दुवै टिमले गोल गर्न सकेनन्। पहिलो लेग भने फिलिपिन्सले सहजै जितेको थियो। रिजाल मेमोरियल रंगशालामा ४–१ ले सकिएको खेलमा नेपालका तर्फबाट विशाल राईले गोल फर्काएका थिए।

नेपाल ६ वर्षपछि मनिला फर्किएको छ, फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्न। रिजाल मेमोरियलमा बिहीबार ४ः४५ बने हुने यो खेलमा त्यसबेलाका गोलकर्ता विशाल हुने छैनन्। विशाल मात्र होइन, त्यस टिमका बहुमत खेलाडी भिन्सेन्जो अल्बर्टो एनिसले घोषणाा गरेको टिममा छैनन्। त्यसबेलाका मात्र ६ खेलाडी मात्र हालको राष्ट्रिय टिममा छन्। जसमध्ये पाँच खेलाडी त्यसबेलाको टिमको पहिलो एघारमै थिए।

त्यतिबेला पहिलो एघारमा परेका रविन श्रेष्ठ अहिले खेल्नै छाडिसके भने अर्का फुलब्याक विराज महर्जनले राष्ट्रिय टिमबाट संन्यास लिइसके। त्यस खेलमा रातो कार्ड पाएका विक्रम लामाले त यही सिजन खेलाडी करियरबाटै संन्यास लिएका हुन्। कमल श्रेष्ठ, आदित्य चौधरी, भरत खवास एनिसको नजरमा परेनन् भने सुजल श्रेष्ठ संन्यास लिएर विदेश हानिइसकेका छन्।

बेन्चमा रहेका रजिन धिमाल, रन्जन विष्ट र हेमन गुरुङ पनि हाल विदेशमा छन् भने विशाल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, विमल घर्ती मगर, अन्जन विष्ट र किरण कुमार लिम्बु अझै पनि राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य हुन्।

सन् २०२३ को एसियन कप छनोट खेल्दा तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले लगभग नयाँ स्वरुपको टिम निर्माण गरेका थिए। कप्तान किरण, उपकप्तान रोहितलगायतका ११ सिनियर खेलाडी टिममा परेका थिएनन्। कारण? अलमुताइरी र ती खेलाडीबीचको विवाद। यी ११ सँगै टिममा पर्दै आएका अरु खेलाडी भने एसियन कप छनोट खेल्न कुवेत गएका थिए। कप्तान नवयुग श्रेष्ठलाई बनाइएको थियो। यो नेपालको ‘बी’ टिम जस्तै थियो।

त्यसबेला नेपालले अन्तिम खेल इन्डोनेसियाविरुद्ध खेलेको थियो। अलमुताइरीले इन्डोनेसियाविरुद्ध उतारेको पहिलो एघारका ६ खेलाडी अहिले नेपालमा छैनन्। ती खेलाडी हुन्, शिव गुरुङ, सन्तोष तामाङ, निर कुमार राई, राजन गुरुङ, गौतम श्रेष्ठ र सुनिल बल। बेन्चमा रहेका गौतम श्रेष्ठ, आकाश बुढा मगर र दर्शन गुरुङ पनि हाल विदेश मै छन्।

अलमुताइरीसँगको विवादका कारण टिममा नपरेको ती ११ सिनियर खेलाडीमध्ये विशाल राई, तेज तामाङ र दिनेश राजवंशी अस्ट्रेलियामा छन्। पछिल्लो एक वा डेढ वर्षमा राष्ट्रिय टिमका पहिलो रोजाइ मात्र होइन, दोस्रो रोजाइकै खेलाडी पनि विदेशीएका छन्।

यस्तोमा फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि घोषित राष्ट्रिय टिममा धेरैजसो खेलाडी कम अनुभवी छन्। कप्तान किरण, रोहित, अनन्त, विमल, पुजन उपरकोटी र देवेन्द्र तामाङ टिमका सबैभन्दा बढी अनुभवी खेलाडी हुन्। लाकेन लिम्बु, सिमान्त थापा र विमल पाण्डे पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् भने अरु थुप्रै खेलाडीको अनुभव कम छ। समग्रमा २३ खेलाडीमध्ये ११ का लागि यो पहिलो साफ च्याम्पियनसिप हुनेछ।

मनिलातिर लाग्नुअघि मुख्यप्रशिक्षक एनिसले आफ्नो ध्यान साफ च्याम्पियनसिपमा भन्दा फिलिपिन्ससँगको खेलमा रहेको बताएका थिए। फिलिपिन्सविरुद्धको प्रदर्शनको विश्लेषण गरेपछि मात्र साफ च्याम्पियनसिपबारे सोच्ने एनिसको भनाइ थियो।

नेपाली टिमलाई हालसम्म तीन खेलमा मात्र प्रशिक्षण दिएका एनिसका लागि फिलिपिन्ससँगको खेल धेरै कारणले महत्त्वपूर्ण छ। एनिसका लागि नेपाली प्रशिक्षकका रुपमा फिलिपिन्स अहिलेसम्मकै बलियो विपक्षी हो। यो खेलमा नेपालले गर्ने प्रदर्शन, साफ च्याम्पियनसिपका अरु टिमका लागि सन्देश पनि हुनेछ। अनुभवी, कम अनुभवी र बिलकुल नयाँ खेलाडीको समिश्रण रहेको नेपाली टिमले मनिलामा खेल्ने शैली एनिसको रणनीतिक परीक्षा पनि हुनेछ।

नयाँ प्रशिक्षक, नयाँ स्वरुपको टिम, त्यसमाथि कम अवधिको तयारी। यस्तोमा फिलिपिन्सविरुद्धको खेलका नेपालका लागि ‘बिहानीले दिउँसोको संकेत गर्छ’ भन्ने उक्तिसरह हुनसक्छ।

प्रकाशित: ३२ जेठ २०८० १४:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast