काठमाडौँ- प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीको कारोबार गर्ने समूहलाई पक्राउ गरिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत सट्टेबाजी गरेर करोडौँको कारोबार गर्ने पाँचजनालाई पक्राउ गरेको हो।
वानएक्स वेटबाट सट्टेबाजी गर्ने मध्ये पक्राउ पर्ने मुख्य व्यक्ति दिनेश खड्काले मात्रै ६४ करोड भन्दा बढीको कारोबार गरेको देखिएको कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीले जानकारी दिए।
त्यस्तै पक्राउ परेका अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द, आशिष लामिछानेले पनि करोडौंको कारोबार गरेको देखिएको केसीले बताए। पक्राउ परेका लामिछानेबाट ३५ लाख नगद पनि बरामद गरिएको एसएसपी केसीले बताए।
पक्राउ परेका व्यक्तिहरूबाट अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीकोे कारोबार गर्ने प्रमाणहरू फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।