काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी शक्तिहरू जनतामा नांगिएको बताएका छन्। बुधबार प्रेस सेन्टर नेपालको ज्ञापनपत्र बुझ्दै उनले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू अतालिएको बताएका हुन्।
‘जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा गएका नेपालीहरूलाई सम्बोधन गर्ने विषय, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसंगति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ,’ उनले भने, ‘यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू अतालिएका छन्। तिनीहरू एजेण्डविहीन बनेका र जनतामा नांगिएका छन्।’
प्रधानमन्त्रीले राम्रो काम गरेर मात्रै नभई राम्रो काम राम्रो हो भनेर जनतामा बुझाउने कुरा मुख्य भएको उल्लेख गरे। ‘सरकारको राम्रो कुराको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी छ,’ उनले भने।
प्रेस सेन्टर नेपालले विभिन्न १४ बुँदामा देश, जनता र श्रमजीवी पत्रकारहरूले भोग्नुपरेका समस्याका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।