जिप र माइक्रोबस असार १ गतेदेखि नयाँ बसपार्कबाट सञ्चालन

हिमाल प्रेस ३० जेठ २०८० १६:१७
58
SHARES
जिप र माइक्रोबस असार १ गतेदेखि नयाँ बसपार्कबाट सञ्चालन

काठमाडौँ- जिप र माइक्रोबस आउँदो असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने भएका छन्। माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आउँदो शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।

समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौंभित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका माइक्रोबस तथा जिपलाई असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिए।

काठमाडौं महानगरपालिकाले यही जेठ १९ गते लामो, मध्यम तथा छोटो दुरीका सार्वजनिक सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गराउने निर्णय गरेको थियो। उक्त निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको संयोजक आचार्यले बताए।

‘स्थानीय सरकारले गरेको निर्णय मान्न हामी तयार छौँ। उक्त निर्णय सरोकारवाला सबै निकायलाई लागु गराउन महानगरपालिका लाग्नुपर्छ, हामी साथ दिन तयार छौँ। स्थानीय सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन,’ उनले भने। यसअघि, नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारीसाधन मात्र सञ्चालन हुँदै आएका थिए।

यसअघि, माइक्रोबस तथा जिप बल्खु, कलंकी, बालाजु, माछापोखरी, गोंगबु, कोटेश्वरलगायत क्षेत्रमा काउन्टर राखेर सञ्चालन हुँदै आएका थिए। अब भने सबै टिकट काउन्टर बसपार्कभित्रै राखिनेछ। सोही स्थानमा आएर टिकट लिन समेत उनले यात्रुलाई आग्रह गरे।

हाल काठमाडौंबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा, वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट बीपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका छन्।

संयोजक आचार्यले नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जिप सञ्चालन गर्न नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुृउदेश्यीय प्रालिसँग समेत सम्झौता गरिसकेको बताए। ‘नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र यात्रुमैत्री बनाउन आवश्यक पर्ने संरचना निर्माणका लागि लोत्सेसँग सहकार्य गरेर अगाडि बढेका छौँ,’ संयोजक आचार्यले भने।

उनले नयाँ बसपार्कबाट माइक्रोबस तथा जिप सञ्चालन गर्दा यात्रुको सुविधाका लागि यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयसम्म ‘पिक एन्ड ड्रप’को व्यवस्था गर्न समेत महानगरपालिकासँग आग्रह गरे।

काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित तथा पार्किङ गर्न महानगरपालिकाले वि.सं. २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो। १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी सार्वजनिक सवारीसाधन राख्न मिल्ने क्षमता छ। रासस

प्रकाशित: ३० जेठ २०८० १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − ten =