चितवनमा ५ हजार गाई भैंसीलाई खुवाइयो लम्पी स्किनको औषधि

हिमाल प्रेस २९ जेठ २०८० १२:०२
8
SHARES
चितवनमा ५ हजार गाई भैंसीलाई खुवाइयो लम्पी स्किनको औषधि

चितवन– लम्पी स्किन रोग प्रभावित क्षेत्रका ५ हजार गाई भैंसीलाई लम्पी स्किनविरुद्धको औषधि दिइएको छ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा. रामचन्द्र अधिकारीका अनुसार रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, फिनेल, भिरकोनजस्ता औषधि वितरण गरिएको हो।

कार्यालयले जिल्लाका प्रभावित क्षेत्रमा जनचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ। यसका लागि पालिकास्तरमा सचेतना गोष्ठी, जिल्लाका सहकारीमार्फत फ्लेक्स, ब्रुसर र पम्प्लेट वितरणलगायतका काम गरिएको उनले जानकारी दिए।

लम्पी स्किनका कारण गाई भैंसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ। उनका अनुसार जिल्लाका पशुपालक किसानले आफैं खोप खरिद गरेर गाई भैंसीलाई दिन थालेका छन्।

किसानले १ डोज खोप बराबर २ सय १० मा खरिद गरी आफैं दिन सुरु गरेको उनको भनाइ छ। ‘स्थानीय पालिकाको सहयोग तथा व्यावसायिक पशुपालक किसानले आफैं खरिद गरेर खोप दिन सुरु गरेका छन्,’ उनले भने।

जिल्लामा हालसम्म ४ हजार १ सय गाई भैंसी यस रोगबाट प्रभावित भएका छन्। जसमध्ये ११२ वटा मरी सकेको कार्यालयले जनाएको छ। यस रोगका कारण जिल्लाको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएका छन्। जिल्लामा ९३ हजार १ सय ८२ गाई र ७२ हजार ९ सय ७८ भैंसी पालिएको छ।

गाई भैंसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि ५ सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काँढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ।

यो रोग विशेष गरी संक्रमित लामखुट्टे, झिंगालगायतको टोकाइबाट लाग्ने गर्दछ। संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ।

यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाई भैंसी खरिद गर्ने, गोठलाई झिंगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यको भनाइ छ। रोग लाग्नबाट बचाउनका लागि लम्पी स्किनविरुद्धको खोप लगाउन आवश्यक रहेको उनले बताए।

प्रकाशित: २९ जेठ २०८० १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =