चितवनमा चर्को घामले सुकायो फल्दै गरेको मकैको बोट

हिमाल प्रेस २८ जेठ २०८० १०:०७
16
SHARES
चितवनमा चर्को घामले सुकायो फल्दै गरेको मकैको बोट फाइल तस्बिर।

चितवन– खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्। सुकेको मकैका बोट काटेर किसानले गाई, भैंसीलाई घाँसको रूपमा दिन थालेका छन्। भरतपुर महानगरपालिका-८ गौरीगन्जका नवीन पुरीले १३ कठ्ठा जग्गाको मकै पूरै सुकेको बताए।

‘घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो। मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो,’ उनले भने।

भरतपुर महानगरपालिका-११ बसेनीकी जलपादेवी घिमिरेले सात कठ्ठा जग्गामा मकै लगाएकी थिइन्। सबै मकै सुक्न थालेपछि उनले घाँसको रूपमा मकैका बोट काटेर गाईलाई दिएकी छन्।

परिवारका सबै सदस्य कृषिमा आश्रित ७८ वर्षीय जलपादेवी मकै डढ्न थालेपछि चिन्तित बनेकी छन्। सोही ठाउँकी तारादेवी भण्डारीको पनि ४ कठ्ठामा लगाएको मकै सुकेको छ।

पाइप लगाएर पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकाएको उनले बताइन्। ‘मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेको छु। चाख्नसमेत नपाइने भयो मकै। मल, बीउ र मेहनत त्यसै खेर गयो,’ उनले भनिन्।

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीन पुनले प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताए।

‘सिँचाइ सुविधा भएको ठाउँबाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ,’ उनले भने।

सरकारी अनुदानमा बोरिङको सुविधा भएको ठाउँको मकै मात्र केही जोगिन सक्ने भए पनि अन्यत्रको मकै पूरै सुकेको उनको भनाइ छ। मकैमात्र नभई खडेरीका कारण तरकारी खेतीसमेत प्रभावित परेको उनले जनाए।

चितवनमा २६ हजार हेक्टर बढी क्षेत्रफलमा मकैखेती गरिँदै आएको छ।

उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ७९ मेट्रिक टन रहेको छ। मकै घोगा लगाउने सिजनमै खडेरीले मकै सुकेपछि अहिले किसान समस्यामा परेका हुन्।

चितवनमा प्रायः ३ सिजन मकैको खेती हुन्छ। माघ फागुनमा लगाइने वसन्ते मकै चितवनमा १४ हजार ६ सय हेक्टरमा खेती हुन्छ।

यो मकै जेठ-असारमा पाक्छ। वैशाख-जेठमा गरिने मकै खेती साउन भदौमा पाक्छ। यसलाई वर्षे मकै भनिन्छ। चितवनमा यो मकै ९ हजार ८ सय हेक्टर बढीमा खेती गरिन्छ। यस्तै असोज कात्तिकमा लगाइने हिउँदे मकै चितवनमा १४ हजार ६ सय हेक्टरमा खेती हुन्छ। यो मकै फागुन-चैतमा पाक्छ। चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने गर्छ। -रासस

प्रकाशित: २८ जेठ २०८० १०:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 7 =