नेपालमा विदेशी चलचित्र छायांकन हुने क्रम बढ्यो

हिमाल प्रेस २७ जेठ २०८० ११:५४
12
SHARES
नेपालमा विदेशी चलचित्र छायांकन हुने क्रम बढ्यो मनाङ, तस्बिर- नवीन लामिछाने/रासस

काठमाडौँ– केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृंखलाको छायांकन हुनेक्रम बढिरहेको छ।

अंग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायांकनस्थल बनाए पनि भारतीय चलचित्रको संख्या बढेको धेरै भएको छैन। ०७८ सालमा ‘उचाइ’ चलचित्रले नेपालमा १ महिना छायांकन गरेको थियो। भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो।

त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृंखलासमेत आउन थालेका छन्। केही समयअगाडि मात्र काठमाडौँमा भारतीय चलचित्र मिराई छायांकन भयो। सोही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन १ शृंखला काठमाडौँदेखि पोखरासम्म छायांकन गरे।

नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन संयोजक अरुण रेग्मीको भनाइ छ। ‘विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकलेसमेत सिक्न पाएँ। उनहरूको काम गर्ने शैली परिपक्व छ। ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ,’ संयोजक रेग्मीले भने।

उनीसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको २ वर्षमा निर्देशक सिन्हाको शृंखलासँगै फर्जी, उचाइलाई नेपालमा छायांकन व्यवस्थापनको काम गरिसकेको छ। चलचित्र छायांकनका क्रममा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सनले मिलाउने गर्छन्।

शुक्रबार मात्र बलिउड अभिनेता सनी देओलको अभिनय रहने चलचित्रको छायांकनको लागि स्थल छनोट गर्न आएको टोलीले मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्र घुमघाम गरेर फर्किएको छ। व्यवस्थापक आचार्यकाअनुसार उक्त चलचित्रको छायांकन आउँदो नोभेम्बर महिनामा गर्ने तयारी भइरहेको छ।

‘मुस्ताङमा छायांकन गर्ने तय भएको छ। यहाँ २० दिन छायांकन गर्ने उनहरूको योजना छ। यसले नेपालको पर्यटन प्रवर्द्धनसँगै प्राविधिकलाई समेत टेवा पुग्छ,’ उनले भने।

सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यमार्फत नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनको गन्तव्य स्थल बनाउने उल्लेख गरेसँगै विदेशी चलचित्रकर्मीले सहजता महसुस गरे आउँदो समय राम्रो देखिएको अर्का व्यवस्थापक शंकर पाण्डेको भनाइ छ। ‘विशेषत छायांकनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए संख्या बढ्नेछ,’ पाण्डेले भने।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्ष ०७९/८० को नौ महिनामा मात्रै नेपालमा ४५ भन्दा बढी विदेशी चलचित्र छायांकन भएका छन्। पछिल्लो छ वर्षको तथ्यांक हेर्दा २ सय ४३ को हाराहारीमा चलचित्र, वेभ शृंखला र वृत्तचित्र छायांकन गरिएका छन्। उल्लेखित संख्या वृद्धि गर्न सरकारको तर्फबाट सहजता र कार्यविधि सहज बनाइनु आवश्यक रहेको चलचित्रकर्मी बताउँछन्। -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast