बागलुङ– जनताधन माविमा कक्षा १० मा अध्ययनरत नीरज कार्कीले बुधबार एक सार्वजनिक कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै भने, ‘दक्षिण एसियाकै एउटा देशले चुरोटलाई निषेध गरेको छ, हाम्रो देशले किन त्यसो नगर्ने?’ उनले राखेको धारणाको विषयमा जवाफ दिने निकाय त्यहाँ थिएन तर, उनले लागुऔषध दुरुपयोगको प्रस्थान विन्दु धूम्रपान हो भन्ने थाहा पाएपछि यो विषय राखेका हुन्।
बागलुङ नगरपालिका-१४ नारायणस्थानमा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले आयोजना गरेको उपभोक्ता शिक्षा तथा लागुऔषध दुर्व्यसनीसम्बन्धी सचेतना कार्यक्रममा प्रहरी नायव उपरीक्षक मदन केसीले आफ्नो कार्यपत्र प्रस्तुत गरे।
लागुऔषधबारे उनले केहीबेर चर्चा गरेपछि विद्यार्थीले प्रश्न गरे। न्यून आय भएका परिवार र अनाथ बालबालिकालाई कसरी लागुऔषधबाट जोगाउने भन्नेमा धेरैको चिन्ता देखियो।
विद्यार्थी, अभिभावक र शिक्षक सहभागितामा उपभोक्ता शिक्षा र लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यपत्र प्रस्तुतीपछि विद्यार्थी छलफलमा सहभागी भए। विद्यार्थीले कसैले नेपालमा कानुनीरूपमा धूम्रपानलाई निषेध गर्नुपर्ने माग गरे भने कसैले बधशाला निर्माण गरेर मासुजन्य पदार्थको उत्पादन गर्न माग गरे।
‘विद्यार्थीले उठाएका विषय जायज छन्, तर कानुन बनेर नआउँदासम्म हामीले केही गर्न सक्दैनौं’, प्रनाउ केसीले भने, ‘हामीले चेतना फैलाउने हो, कानुनअनुसार कसुरदार भए कारबाही गर्ने हो।’ भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले मासुको उपयोगका विषयमा चर्चा गरे।
‘मासु परम्परागत रूपमा प्रयोग गरिरहेका छौं, कतिपय तरिका वैज्ञानिक छन्, कतिपय सुधार गर्नुपर्ने’ सापकोटाले भने, ‘के बुझ्न जरुरी छभने मासु हाम्रा लागि जसरी उपयोगी खाद्यान्न हो त्यसैगरी संक्रामक कीटाणुको खाना हो।’ संक्रामक रोगको रूपमा रहेको मासुलाई विवेकपूर्ण प्रयोग गर्नुपर्ने उनको धारणा थियो।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले लागुऔषध दुर्व्यसनी र उपभोक्ता सचेतना घर घरमा पुग्नुपर्ने बताए। खड्काले विद्यार्थी सूचनाको संवाहक भएको भन्दै सकारात्मक सन्देश समुदायमा फैलाउन आग्रह गरे।
उनले विद्यार्थीमा रहेको चासो लागुऔषध दुर्व्यसनीमा प्रतिवादी बन्ने बताए। बागलुङ नगरपालिका-१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले परिवार र समुदायको हेलचक्य्राइँ पनि लागुऔषध दुर्व्यसनी बढ्नुको कारण भएको बताए।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख प्रेम अर्यालले खाद्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा गणेश माविकी छात्रा अनिसा चुँदाराले विद्यार्थीका तर्फबाट जिज्ञासा राखे।