नेपाली राजनीतिक दलका शीर्ष नेताहरू भनेका स्वघोषित जगत् उत्पत्तिदेखि अन्तसम्मका सबै विषयका सर्वज्ञाता, विश्वविद्यालय, प्रोफेसर, रजिस्ट्रार र रेक्टर सबै हुन्। यो कुरो मैले भनेको होइन बरु नेपालका एकजना वरिष्ठ, स्वनामधन्य, पूर्वमन्त्री तथा वर्तमान सांसद गोकुल बाँस्कोटाको मुखारबिन्दबाट प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर बोल्दा फुत्त बाहिर आएको हो।
उनका यस्ता अभिव्यक्त मिडियाबाट सुन्न पाउँदा गर्वले छाती चाैडा भयो। किनभने अहिलेसम्म विश्वका कुनै पनि चर्चित नेता स्वयंमा विद्याको मन्दिर विश्वविद्यालय हुन् भनेर दाबी गरिएको कुरा सुन्नमा आएको थिएन। कोही कुनै प्राध्यापक भने देशको राष्ट्रपति वा प्रधानमन्त्री बनेका होलान्। तर सिंगो विश्वविद्यालय नै एउटा व्यक्तिमा निहित भएको कुरा थाहा थिएन। किटपतंगदेखि अन्तरिक्षसम्मको आदिअनादिको प्रचूर ज्ञानले ओतप्रोत भएर भरिएको ऋद्धि र सिद्धि दुवै प्राप्त भएको नेता पाउनु हामी नेपालीका लागि कम गर्वका कुरा होइन, अहोभाग्य हो। संसद्को त्यही रोस्ट्रममा उभिएर उनै सांसदले बजेटको छलफलको सन्दर्भमा ‘विकासका मानक केपी ओलीबाहेक अरू हुनै सक्दैनन्’ भनेर ठोकुवा गरे।
बाँस्कोटाका यी कुरा सुनिरहँदा विस्मृतिमा गइसकेका विगतका केही घटना पुनर्ताजगी भएर अगाडि आए। सोचेँ, के यिनी साँच्चै सत्यवादी हुन् या जनप्रतिनिधिको खोल ओढेका पाखण्ड मिथ्यावादी! ल्याप्चे लगाएर र मतपत्रमा स्वस्तिक छाप ठोकेर चुनेर पठाएका प्रतिनिधिले हाम्रो विश्वासमाथि अवश्य पनि घात खेलेनन् होला। कुरो गम्भीर रह्यो। किनभने हामीले चुनेर पठाएको व्यक्तिको प्रशिक्षित हुने विश्वविद्यालय त अन्तै रहेछ जहाँबाट उहाँलगायत ईश्वर पोख्रेल, बादल, टोपबहादुर रायमाझीलगायतका समेत प्रशिक्षित भएका छन्।
हुन त विकास समृद्धिको मानक पनि आआफ्नै हुन्छन्, जसरी समयक्रममा परिभाषा बदलिने गरिन्छ। उनको विचारमा योजना घोषणा गरेपछि काम सम्पन्न नै नगरी शिलालेखमा नाम कुँदाएर उद्घाटन गर्दा विकासको मानक स्थापित हुने होला। एक जना नेताले भूकम्पले ध्वस्त बनेको धरहराको पुनर्निर्माण हुँदै गर्दा भीमसेनस्तम्भ अर्थात् धरहरा उद्घाटन गरेका थिए दुईतीन वर्ष पहिले। अहिलेसम्म निर्माण सम्पन्न भएर धरहराको टुप्पोमा गएर सहर हेरौँला भन्ने इच्छा पूरा हुन पाएको छैन। पूर्ण रूपमा काम सम्पन्न भएर फेरि अर्को नेताले उद्घाटन गरेको हेर्न पाउने सम्भावना बढेर गएको छ।
त्यसै गरी बिना पूर्वसम्भाव्यता अध्ययन, वातावरण मूल्यांकन, स्रोतको व्यवस्था नगरी हावाका भरमा आयोजनाको न्यूनतम विधि र प्रक्रियासमेत पूरा नगरी सबै निर्वाचन क्षेत्रलाई जोड्ने सडक निर्माणको उद्घाटन सिंहदरबारमा रिबन काटेर गरिएको थियो, जसको अहिलेसम्म अत्तोपत्तो छैन। त्यसै गरी अस्पताल निर्माण गर्ने भनेर पनि डंका पिटाइ गरेर एकमुष्ट उद्घाटन गरिएको थियो। सांसदको रोस्ट्रममा उभिएर एउटा सांसदले ‘विकासको मानक’ भन्ने पगरी भिराउँदा यी दृश्य झलझली आँखा अगाडि आइरहेछ।
यस्ता र अरू अनेक लोकरिझ्याइँका काम गरेको भ्रम छर्दै र प्रपोगन्डा गर्दै जनतालाई भ्रमित पार्न सफल हुँदै आइरहेको देखिएको छ। जसरी पपुलिस्ट ‘डेमागग’हरू आफ्नो नेतालाई सर्वोपरि मान्छन् र देवत्वकरण गर्दछन् त्यसै गरी यो पनि एउटा प्रयोग हो भन्नेमा संशय रहेन, संरक्षणवादको द्योतक। यो पनि त्यही प्रक्रियाको अर्को कडी मात्र भएकोमा शंका रहेन जुन यथार्थभन्दा कैयौँ कोस टाढा छ।
स्वयम् नेताहरू यस किसिमको वस्तुस्थितिसँग साक्षात्कार भएर पनि आफू साँच्चै देवाधिदेव महादेव भएको, सर्वज्ञानी, तत्त्वबोधी भएको मिथ्या भ्रम पालेर त्यसै खरानीको न्यानोमा रमाएर बसेका छन्। उनीहरूलाई लाग्छ, त्रिनेत्र खोलेर हेर्दा चराचर जगत् यिनीहरूको चरणपादुकामा नतमस्तक भएर लामबद्ध उभिएका हुनेछन्। अन्यथा कसैले विश्वविद्यालयको पगरी गुथाउँदा खुसी हुनुको अर्थ थिएन र विकासको मान भन्दा त्यस्ता मारुतीलाई प्रसाद दिएर संरक्षण गरिरहन आवश्यक पनि थिएन।
यस्ता र यिनै जस्ता अरू मिथ्या अभिमानी, मारुतीहरूले गर्दा मुलुक दिनदिनै कमजोर हुँदै गइरहेको छ। लोकतन्त्र ओरालो लागेको छ र यसका संरक्षकहरू मेटाउँदै गइरहेका छन्। राज्य कति बलियो छ भन्ने कुरा यसको मेसिनरी, नेतृत्व क्षमता र ब्युरोक्रेसीको निरन्तरता र निष्पक्षतासहित विज्ञता, दक्षता, सामरिक शक्ति र क्षमता, स्रोतको प्राचुर्य, प्राज्ञिक दक्षतामा भर पर्दछ। तर नेतृत्व तहमा चातुर्य र क्षमताको अभाव साथै भ्रष्ट र अनैतिक भयो भने त्यस्तो राष्ट्रलाई दुर्बल राष्ट्र वा सफ्ट स्टेटमा गणना गरिन्छ।
सफ्ट स्टेट भनेको कानुनको मर्यादा नराख्ने, राज्य शक्तिमा बसेका इलिटहरूबाट राजकीय शक्ति र स्रोतको दुरुपयोग गर्ने, भ्रष्टाचारमा निर्लिप्त अनुचरको समूहले लुटेको राष्ट्र असफल दिशातर्फ उन्मुख रहन्छ जसलाई सफ्ट स्टेट भनिन्छ। नेपालमा अहिले सफ्ट स्टेटमा पाइने सबै तत्त्वहरू विद्यमान रहेको अवस्था छ।
यस्तो अवस्थामा नेताहरूले उटपट्याग, गैरजवाफदेही, असान्दर्भिक, असम्बद्ध र अस्वाभाविक अभिव्यक्ति दिँदै हिँड्नु यो राष्ट्रका लागि दुर्भाग्य छ। यस किसिमका कार्यहरूले राष्ट्रलाई र राष्ट्रको गरिमालाई अझै दुर्बल बनाउनेछ।
‘अहम् ब्रह्मास्मि’ भनेको जस्तो सोच पालेर बसेका छन् नेतृत्व गण। नेपालको नेताले नजानेको विषय केही पनि छैन। अतः उनीहरू सर्वज्ञानी र तत्त्ववेत्ता हुन्। नेताभित्र विश्वविद्यालय निहित रहन्छ। त्यति मात्र कहाँ हो र! ‘बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत, छैन शंकरको नंगा मगन्ते भेष निन्दित’ भनेजस्तो छ। हतकडी लगाएर जेल यात्रा गराउँदा पनि मुस्कुराएर जनतातर्फ फर्किएर हात हल्लाउँदै विजयी भावमा हिँड्दछन् हाम्रा जनप्रिय नेताहरू।
‘अरूले गरेको सबै गलत मैले गरेको सबै ठिक’ यही मान्यता बलियो हुँदै गएको देखिन्छ। हिजो भारतीय गुप्तचर विभागका प्रमुख सामन्त गोयल आएर रातको एकान्त समयमा प्रधानमन्त्री निवास प्रवेश गरेर घण्टौँ गोप्य मन्त्रणा गर्दा कूटनीतिक शिष्टाचार र आचरण अनुकूल देख्ने आँखाले हालै अर्का प्रधानमन्त्रीले भारत भ्रमण गर्दा दोभालसँगको वार्ताको समयमा छोरीलाई राख्दा आकाशै खसेको जसरी कूटनीतिक मर्यादाको उल्लंघन भएको देख्नु अनौठो देखिन्छ। कूटनीतिक शिष्टाचारमा अपरिपक्वता देखिएको साँचो हो तर मैले गरेको ठिक तेरोचाँहि बेठिक भन्ने दृष्टिदोष हुनु राम्रो होइन।
उदेकलाग्दो छ। यहाँ कूटनीतिक आचारसंहिता त बनेको छ र त्यसको पालनाको प्रतिबद्धता पनि गरेको देखिन्छ। तर व्यवहारमा यसको पालना कसले कति गरेको छ भनेर हेर्यो भने लाजमर्दो अवस्था छ। अन्तर्राष्ट्रिय मञ्चहरूका कैयौँ अवसरमा लज्जाजनक प्रस्तुति भएको पनि देखिन आएको छ। कूटनीतिक आचारसंहिता उल्लंघन गरिनु अन्य मुलुकमा दण्डनीय अपराध हो। राजद्रोहको मुद्दामा दण्डित हुनेसम्मको अवस्था रहन्छ। तर यो नेपाल हो। यहाँ कानुन बन्दछन् तर यसको पालना फितलो हुन्छ। नेपालमा बनेको कूटनीतिक आचारसंहिता आफ्ना लागि नभएर अरूको पालनाका लागि र प्रवचनका लागि निर्माण गरिएको दस्ताबेज जस्तो देखिएको छ।
हाम्रा नेताहरू ज्ञानगुण सागर भएको हुँदा विषय विज्ञहरूसँग छलफल वा सल्लाह लिँदा मर्यादामा आँच आउँछ। आफू नजानेको जस्तो देखिन्छ भन्ने सोचले घर गरेको देखिन्छ। हालैको भारत भ्रमणका सन्दर्भमा कूटनीतिक मर्यादाको नै कुरा गर्दा हामी सर्वसाधारणले टेलिभिजनको पर्दामा देख्दा पनि भारतीय पक्षले असहज महसुस गरिरहेको अनुभूत गरेका थियौँ। ठाउँकुठाउँ पत्रकार माइक हातमा लिएर हिँडेको देखेका थियौँ। भारतीय पक्षका मानिस मिडियासँग बोल्न तर्किरहेका थिए भने नेपालका मन्त्रीहरू, व्यापारीहरू हौसिएर अति आत्मविश्वासमा बोलिरहेका थिए। १२ वटा सम्झौतामा दस्ताखत हुने, विद्युत् व्यापारमा ब्रेकथ्रु हुने, सीमा समस्या हल हुने र भ्रमण ऐतिहासिक रुपमा सफल हुने आदि इत्यादि। कूटनीतिक अपरिपक्वता, अदक्षता र अज्ञानता दखिएको थियो जताततै।
अरू धेरै कुरा छोडिदिऊँ र एउटा सीमासम्बन्धी अभिव्यक्तिकै कुरालाई लिऊँ। सीमासम्बन्धी कुरा ज्यादै जटिल र संवेदनशील कुरा भएको हुँदा यस विषयमा बोल्नेले मिहिन तयारीका साथ र आधिकारिक रूपमा बोल्नुपर्ने हुन्छ र आफ्नो पक्षको कुरा राख्नुपर्ने हुन्छ। यहाँ नेगोसियसनको तरिका र शिल्पकारिता, दक्षता र संलग्न विविध पक्षहरू नबुझेको मानिसले बोल्दा अपरिपक्वता देखिन्छ। ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ हुन्छ सन्दर्भ, समय, स्थान र वाक्चातुर्यता, वाक्पटुता नबुझी बकपत्र गर्नु।
‘मोदीले सीमा समस्याको समाधान खोजिनेछ’ के भनेका थिए नेपाली नेताहरू हौसिए। उनीहरूलाई लाग्यो अब यो समस्या हामीले भनेजसरी समाधान भयो। कूटनीतिमा सर्वप्रथम समस्या दुईतर्फको आँखाबाट रणनीतिक आयाम अगाडि राखेर बुझिन्छ र त्यसको सम्भावित उत्तर खोजिन्छ। कूटनीतिक वार्ताहरूबाट एकएकवटा गरेर गाँठोहरू फुकाउँदै गएर संलग्न पक्षहरू लाभान्वित भएको अनुभूति गर्ने गर्ने समाधान निकालिन्छ र सम्झौता गरिन्छ।
हाम्रो सीमा समस्याका सम्बन्धमा भारतीय पक्षले विवादित भूमिमाथि नेपालको सार्वभौमिकतालाई स्वीकार गर्नुपर्ने पहिलो सर्त रहेको छ। त्यसपछि मात्र समाधानका अरू विकल्प प्रस्तुत गरिन्छ। यहाँ त मोदीले के मुख खोलेको थिए हत्त न पत्त जमिन साटेर समाधान गर्ने प्रस्ताव सारिएको छ। त्यो पनि कहाँको जमिनभन्दा बंगलाबन्द फूलबारी चिकन नेकको। यस्तो रणनीतिक महत्त्व भएको क्षेत्रका विषयमा प्रस्ताव गर्दा सम्भव-असम्भव दुवै विचार गरिनुपर्दथ्यो। आफ्नो पेटारो खोलेर हलुका भएको अवस्था छ। कूटनीतिक अपरिपक्वताको योभन्दा अरू के उदाहरण होला र! देशको सार्वभौमिकतासँग जोडिएका जटिल र संगीन विषयलाई यति सरल र हलुका तरिकाले उठाउनु हुँदैन थियो। एउटा बुद्धिनारायणले लेखेको भरमा वा बोलेको भरमा देशको शीर्ष तहबाट बोलिहाल्न हुने थिएन।
मनमा लागेको कुरा बोलिहाल्ने कूटनीति होइन। यस्तो अभिव्यक्तिले कूटनीतिक क्षमता, ‘नेगोसियसन’ क्षमतालाई कमजोर बनाउँछ। नेतृत्व तहबाट भएको अदुरदर्शिता, अज्ञानता र अपरिपक्वता सबै ह्वात्तै बाहिर निकालेर बिस्कुन सुकाएको जसरी पोखिनु हुँदैन। नेपालले जमिन साटफेर गरेर मिलाउने भनेर मात्र हुँदैन। भारतले कालापानीमा रहेको सैनिक क्याम्प पनि हटाउन राजी हुनुपर्यो। यो कामका लागि भारतीय पक्षबाट पहिलो प्रस्ताव आउनु आवश्यक थियो। यहाँ त नेपालले हतार गरेर प्रस्ताव गरेको छ।
नेपालले राखेको प्रस्ताव भारतले मान्छ भन्नेमा विश्वास गर्ने कठिन देखिन्छ। किनभने उसको उत्तरपूर्वी राज्यहरूलाई जोड्ने यो चिकन नेक रणनीतिक हिसाबले कतिको महत्त्व राख्छ भन्ने कुरा सामान्य सोचले पनि बुझिन्छ। पारवहनका लागि फूलबारी बंगलाबन्ध नाकाको बाटो प्रयोग गर्नका लागि मात्रै पनि गुजराल डक्ट्रिन कुर्नुपर्यो भने जमिनै साट्ने कुरोले के अवस्था भोग्ने हो अनुमान मात्र गर्न सकिन्छ। तर पनि हाम्रा नेताहरू त्रिनेत्रधारी त्रिकालदर्शी महापुरुष भएको हुँदा सम्भव देखेर नै यस किसिमको प्रस्ताव गरेका होलान् भन्ने विश्वास गरौँ।