माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायसँग अर्थमन्त्रीको छलफल

हिमाल प्रेस २५ जेठ २०८० १९:४६
2
SHARE
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायसँग अर्थमन्त्रीको छलफल

काठमाडौँ- माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायसँग छलफल गरिएको छ। अर्थ मन्त्रालयमा बिहीबार विभिन्न दातृ निकायका प्रतिनिधिहरूसँग छलफल गरिएको हो।

१०६१ मेगावाट क्षमताको अर्धजलाशययुक्त उक्त परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियनलगायतका प्रनिनिधिहरूसँग छलफल गरेको हो।

छलफलमा युरोपियन लगानी बैंक, कुबेद फण्ड, जर्मन, साउदी विकास फण्ड लगायत दातृ निकायका प्रतिनिधि पनि सहभागी थिए।

छलफलमा विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर, पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेनको पनि सहभागिता थियो। छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैंकले माथिल्लो अरूणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताए। ‘हामीले अरूण तेस्रोमा नै विश्व बैंकको लगानी चाहेका थियौँ,’ उनले भने, ‘विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले हुन सकेन।’

मन्त्री महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा एसिया विकास बैंकले चासो राखेको भन्दै लगानीको प्रक्रिया छिटो अगाडी बढाउन आग्रह गरे। ‘अहिले पनि नेपालले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नुपरेको छ’ महतले भने, ‘त्यसैले हामीलाई धेरै जलाशययुक्त योजना आवश्यक छ। प्रधानमन्त्रीको भारत भ्रमणले पनि नेपालमा उत्पादित १० हजार मेगावाट बजार सुनिश्चित गरेको छ।’

छलफलमा उर्जा मन्त्री शक्ति बस्नेतले नेपालमा जलविद्युत् उत्पादन र यसको प्रभावबारे चर्चा गरे। छलफलमा विश्व बैंक, एसियायी विकास बैंक, जाइका फण्ड, साउदी फण्डका प्रतिनिधिहरूले माथिल्लो अरूण परियोजनामा लगानी गर्न इच्छुक रहेको बताए।

जर्मनी सरकारका प्रतिनिधिले भने परियोजनामा हुने प्रगतिका आधारमा ट्रान्समिसन लाइनमा लगानी गर्न आफूहरू इच्छुक रहेको बताए। अपर जलविद्युत आयोजनाले गरेको अध्ययन अनुसार परियोजनाको काम सम्पन्न गर्न १ अर्ब ८० करोड अमेरिकी डलर लागत लाग्नेछ। त्यसमध्ये ८५ करोड डलर आन्तरिक स्रोतबाट जुटाउने योजना सरकारको छ।

परियोजना निर्माणका लागि गर्नुपर्ने पूर्वतयारी, जग्गा अधिग्रहण, रूख कटानलगायत धेरैजसो काम सम्पन्न भइसकेका छन्। सन् २०२५ जुलाईबाट परियोजना निर्माणको काम सुरू गर्ने गरि काम अगाडि बढिरहेको छ।

प्रकाशित: २५ जेठ २०८० १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =