खप्तडमा सुरु भयो अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन [तस्बिरहरू]

हिमाल प्रेस २३ जेठ २०८० १६:४२
140
SHARES
खप्तडमा सुरु भयो अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन [तस्बिरहरू]

काठमाडौँ- सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पहिलोपटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गरिएको छ। खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा भएको सम्मेलन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, योगगुरु रामदेव, आचार्य बालकृष्ण लगायतकाले उद्घाटन गरेका छन्।

समारोहमा  कांग्रेसका मुख्य सचेतक रमेश लेखक, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, सांसद, प्रदेशसभा सदस्य, विभिन्न देशका राजदूत, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायत सहभागी थिए।

प्रधानमन्त्री प्रचण्डले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को संगमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’ का रूपमा विकास गरिने बताए। उनले खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरिसकेको जानकारी दिए।

प्रधानमन्त्रीले भने, ‘खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन। अब एकैपटक यसको विश्वव्यापी प्रचार हुन्छ। विभिन्न देशका राजदूतले पनि आफ्नो देशमा खप्तडको प्रचार गर्नुहुनेछ। त्यसपछि पर्यटकको ओइरो लाग्नेछ।’

योगगुरु रामदेवले खप्तड अलौकिक क्षेत्र भएको बताए। ‘खप्तड एउटा आध्यात्मिक क्षेत्रका लागि प्रकृतिले दिएको गहनाजस्तै हो। अब यसको संसारभर आध्यात्मिक पर्यटनको रूपमा प्रचार हुनेछ’, उनले भने, ‘भूस्वर्ग भनेकै खप्तड हो, त्यसैले जीवित छँदा नै सबैले खप्तड पुग्नुपर्छ।’

सम्मेलन २५ गते सम्म सञ्चालन हुनेछ। खप्तड क्षेत्रमा पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री लगायतका अतिथिहरू हेलिकप्टरमा खप्तड पुगेका थिए।

सम्मेलनको पहिलो दिन मंगलबार रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योग अभ्यास गराउने कार्यक्रम रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए।

सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकी भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ।

तस्बिरहरू : प्रदीपराज वन्त/रासस 

प्रकाशित: २३ जेठ २०८० १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =