अर्थमन्त्रीले भने– बिचौलियालाई मैले छेउछाउमा आउन दिएको छैन

हिमाल प्रेस २३ जेठ २०८० १५:०९
10
SHARES
अर्थमन्त्रीले भने– बिचौलियालाई मैले छेउछाउमा आउन दिएको छैन फाइल तस्बिर।

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा उठेका प्रश्नको जवाफ दिएका छन्। बजेटमा तेस्रो व्यक्तिको संलग्नता भएको भन्दै प्रतिपक्ष दलका सांसदहरूले प्रश्न उठाएपछि मन्त्री महतले जवाफ दिएका हुन्।

बजेट निर्माण प्रक्रियामा भन्सार विभागका पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठको संलग्न भएको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए।

यसबारे जवाफ दिँदै मन्त्री महतले भने, ‘अर्थमन्त्री, सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकलगायत तोकिएका अधिकारीबाहेक बजेट निर्माणमा कसैको संलग्नता छैन।’

श्रेष्ठ ३० वर्षदेखि आर्थिक विधेयक टाइप गर्ने काममा संलग्न रहँदै आएको र आफू मन्त्री हुनुभन्दा पहिले नै करारमा नियुक्त भएकाले टाइपको जिम्मेवारी मात्रै दिइएको मन्त्री महतले बताए। उनले भने, ‘सधैँ त्यही काम गर्दै आएको र भन्सार सामग्रीको कोडमा विज्ञता भएकाले टाइपको काम श्रेष्ठले गरेका हुन्।’

‘मन्त्री, सचिव, महानिर्देशकहरूले गरेको निर्णय उनले टाइप र इन्ट्री मात्रै गरेका हुन्,’ महतले भने, ‘निर्णय प्रक्रियामा कहीँ कतै पनि उहाँको सलग्नता छैन।’

इन्ट्री गर्दा पनि निर्णय प्रक्रियामा रहेका अधिकारीको निगरानी रहेको महतले बताए। मन्त्री महतले कसैको प्रभावमा नपरी पारदर्शी रूपमा काम गरेको पनि बताए।

‘कसैको प्रभावमा नपरी काम गर्ने प्रतिबद्धता लिएर अर्थ मन्त्रालय छिरेको हुँ। त्यो प्रतिबद्धता आज र भोलि रहिरहने छ।’

प्रकाशित: २३ जेठ २०८० १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =